नेभिगेशन
राजनीति

मध्यरातमा पक्राउ परका प्रसाईंलाई चार दिन हिरासत

पटक–पटक पक्राउले झन् बढी प्रचार पाएका उनलाई कसुर प्रमाणित गरेर कार्बाही गर्न भने राज्य गम्भीर देखिएको छैन

काठमाडौं । भड्काउने अभिव्यक्ति दिने, आधारहीन आरोप लगाउने र समाजमा त्रास फैलाउने गतिविधिका कारण विवादको तारो बनेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

उनलाई प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । उनलाई चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलबार अनुमति दिएको छ । सार्वजनिक शान्तिविरुद्धको कसुरमा थप अनुसन्धान आवश्यक रहेको भन्दै प्रहरीले माग गरेको हिरासत म्याद प्रशासनले स्वीकृत गरेको हो ।

देश ठप्प पार्ने ठूलो आन्दोलनको घोषणा गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने, सार्वजनिक व्यक्तित्वमाथि लाञ्छना लगाउने र राज्यविरुद्ध उत्तेजना सिर्जना गर्ने वक्तव्यले उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा कानूनी कारबाही अघि बढेको छ । प्रहरीले उनलाई पहिलो पटक पक्राउ गरेको भने होइन । तर, बारम्बारको हिरासत बसाइपछि पनि उनी पुरानै शैलीमा सक्रिय थिए ।

प्रसाईंले पछिल्ला महिनाहरूमा समाजमा भय, भ्रम र अस्थिरता बढाउने उद्देश्यले निरन्तर भड्काउने प्रकारका अभिव्यक्ति दिँदै आएका छन् । ‘देशै ठप्प पार्ने ठूलो आन्दोलनको तयारी रहेको’ र ‘रासनपानी जोहो गरेर राख्नु’ भन्ने जस्ता उनका भड्किला भनाइ सामाजिक सञ्जालमा आएका थिए ।

सामाजिक सञ्जालमा भाइरल भइरहेका उनका भिडियोहरूलाई आधार मानेर कतिपयले सम्भावित अशान्ति वा बन्द अवरोधको आशंका समेत गरिहन्छन् । राजनीतिक तथा निजी क्षेत्रका सार्वजनिक व्यक्तित्वमाथि लाञ्छना लगाउँदै, पुष्टि नभएका सूचनालाई साँचोजसरी प्रस्तुत गर्दै र तथ्यहीन तथा भ्रमपूर्ण टिप्पणीमार्फत राज्य अंगहरूमाथि अविश्वास फैलाउने गतिविधि उनको पहिचानजस्तै बन्दै आएको छ । स्वयंलाई ‘राष्ट्र, राष्ट्रियता, धर्म– संस्कृति र नागरिक संरक्षण’का नाममा अभियान चलाउने व्यक्तिका रूपमा प्रस्तुत गर्ने प्रसाईंका यस्ता गतिविधिले लोकतान्त्रिक समाजमा अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनबीचको सीमाबारे पुनः प्रश्न खडा गरेको छ ।

प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गर्दै सामाजिक सञ्जाल र विभिन्न सार्वजनिक अभिव्यक्तिमार्फत समाजमा उत्तेजना र अस्थिरता निम्त्याउने प्रकारका टिप्पणी गरको आरोप प्रहरीले लगाएको छ । उनका भड् काउने अभिव्यक्तिहरूले आमसञ्चार माध्यम र सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएपछि प्रशासनले निसानामा पारको हो ।

प्रसाईंले पछिल्ला दिनमा बम विस्फोटदेखि राजमार्ग बन्द गराउनेसम्मका अभिव्यक्ति दिँदै आएका थिए । हालै केही दिनअघि मात्रै उनले अन्तर्वार्ता, सामाजिक सञ्जाल र युट्युबमार्फत क्रमशः अराजक र उत्तेजक टिप्पणी गरेका छन् । केही दिनअघिमात्र उनले बम पड्किनेसम्मका योजना रहेको जस्तो अभिव्यक्ति दिएका थिए । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दूतावासमा बम विस्फोट गराउने योजना बनाएको समेत दाबी गरेका उनलाई जेनजी आन्दोलनमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको संलग्नताबारेका भिडियो सामग्री नै बनाएर सार्वजनिक गरेपछि पक्राउ गरिएको हो ।

के हुन्छ सजाय ?

सार्वजनिक शान्तिविरुद्धको कसुरका लागि मुलुकी अपराध संहिताले कडा सजायको व्यवस्था गरेको छ । विद्यमान कानूनअनुसार यस प्रकारको कसुर साबित भएमा ६ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रावधान छ । यदि यस किसिमको गतिविधिमा हातहतियार बोकेर सहभागी भएको पाइएमा सजाय थप कडा हुन्छ । मुलुकी अपराध संहिताको दफा ६० को उपदफा (३) अनुसार यस्तो अवस्थामा एक वर्षसम्म कैद, १० हजार रुपैयाँसम्म जरिवाना, वा दुवै सजाय लागु गर्न सकिने कानूनी व्यवस्था छ ।

उनलाई पक्राउ गरिएपछि सामाजिक सञ्जालमा दुई ध्रुवीय प्रतिक्रिया देखा परेका छन् । एक समूहले उनलाई उत्तेजनाको स्रोत ठान्दै गिरफ्तारीलाई अनिवार्य र ढिलो गरिएको कदमका रूपमा प्रस्तुत गर्‍यो भने अर्को समूहले यसलाई राज्यको कठोरता र अभिव्यक्ति नियन्त्रणको उदाहरण भन्दै आलोचना गरिरहेको छ । कतिपयले प्रसाईंका अभिव्यक्ति लोकतान्त्रिक मर्यादाभन्दा धेरै पर पुगेको र तथ्यहीन प्रचारमार्फत सार्वजनिक शान्ति जोखिममा पारेको भन्दै कानूनी कारबाहीलाई उचित ठहर्‍याएका छन् । उनको अभियानलाई समर्थन गर्नेहरूले पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै रिहाइको माग गरेका छन् ।

माओवादी र एमालेजस्ता दलसँग कहिले निकटता बनाउने अनि फेरि केही समयपछि राजावादी प्रचारतर्फ उन्मुख हुने प्रसाईं पछिल्ला वर्षमा विवाद र गिरफ्तारीबीच नै घेरिइरहेका छन् । आन्दोलन भड्काउने अभिव्यक्तिका कारण उनी पक्राउ परेको यो चौथो पटक हो । यसअघि उनी बारम्बार पक्राउ परे पनि धरौटीमा छुट्दै पुनः त्यही शैलीमा सक्रिय हुँदै आएका छन् ।

२०८१ असोज ६ मा राजसंस्था पुनःस्थापनाका लागि अभियान सञ्चालन गरिरहँदा उनी घरबाटै पक्राउ परेका थिए भने सोही वर्ष मंसिर ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएको आरोपमा पक्राउ परेका थिए ।

गत चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको राजावादीको कार्यक्रम ध्वंसात्मक बनेपछि उनी भागेका थिए । भारतबाट पक्राउ गरेर ल्याइएकाउ नी अदालती आदेशले छुटेका थिए । सोमबार राति पुनः पक्राउ परे । बारम्बार पक्राउ र रिहा हुँदै गरेको यस चक्रले कानून कार्यान्वयन गर्ने निकायहरू प्रसाईंको गतिविधिलाई अल्पकालीन नियन्त्रण र दीर्घकालीन समाधानको दृष्टिकोणबाट सम्बोधन गर्न असफल भएको विश्लेषण पनि हुँदै आएको छ ।

प्रसाईंका अभिव्यक्ति र गतिविधिले समाजमा सिर्जना गरेको डर, त्रास र विभाजन केवल व्यक्तिगत व्यवहारको परिणाम मात्र होइन ।

लोकतान्त्रिक समाजमा आलोचना र असहमति स्वाभाविक भए पनि उत्तेजना, हिंसामा उक्साउने सम्भावना र तथ्यहीन प्रचारले लोकतान्त्रिक मूल्य र सामाजिक स्थिरतामा सिधा आघात पुर्‍याउने राजनीतिक विश्लेषकहरूको तर्क रहँदै आएको छ ।

राज्यले बारम्बार पक्राउ गरेर मात्र नभई कानूनी स्पष्टता, सामाजिक शिक्षा र दिगो नियन्त्रण संयन्त्रमार्फत यस्ता प्रवृत्तिलाई सम्बोधन गर्नुपर्ने माग छ । उनलाई पक्राउ गर्दा झन् बढी प्रचार पाएका छन् । राज्यले कसुर प्रमाणित गरेर सजाय दिलाउन सकेको छैन । पक्राउले तत्कालका लागि भडि्कला अभिव्यक्रि आउने क्रम केही थामिए पनि दीर्घकालीन समाधानका लागि राज्य र समाज दुवैले अभिव्यक्ति स्वतन्त्रताभित्रका दायित्व, कानूनी सीमा र तथ्यआधारित सार्वजनिक संवादको आवश्यकता बुझ्नुपर्ने आवश्यकता झनै स्पष्ट बन्दै गएको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्