भारतमा एक समयका चर्चित गायक लकी अली बलिउडबाट टाढा छन् । बेलाबखत युट्युबमा उनका गीत नआएका होइनन्, संगीत सिर्जना गरिरहेका छन् तर फिल्ममा भने आउन छाडेका छन् । सिर्जनामा बलिउडभन्दा भिन्न उनको आफ्नै लय छ ।
हालै एउटा अन्तर्वार्तामा उनले बलिउडबाट टाढिनुको कारण स्पष्ट पारेका छन् । लामो समयदेखि उनी फिल्मी गीत– संगीतको चमकदमकदेखि टाढा रहँदै आएका ६७ वर्षीय अली बेंगलुरु नजिक आफ्नो फार्म हाउसमा बस्छन्, एउटा किसानको जस्तो जीवन बाँचेका छन् । सन् २००० मा ऋतिक रोशक–अमीषा पटेलको ‘कहो ना प्यार है’का लागि गीत गाएका उनले सन् २००२ मा ‘सुर’ फिल्ममा अभिनय गरेका थिए । सन् २०१६ पछि उनी फाट्टफुट्ट कन्सर्टहरूमा देखापरेका उनी बलिउडका प्रोजेक्टहरूमा संलग्न देखिएका छैनन् ।
धेरैले अनुमान गरेका थिए, सिनेमा निर्माणको ‘विषाक्त परिवेश’ का कारण नै उनले बलिउडबाट दुरी बनाएका होलान् । तर, अलीले हालैको एक अन्तर्वार्तामा भने स्पष्ट गरे – ‘हो, आफूले अपेक्षा गरेकोजस्तो वातावरण त भएन, तर म टक्सिसिटीबाट भागेको होइन, म थाकेको थिएँ ।’ ‘ओ सनम’ र ‘एक पल का जिना’ जस्ता कालजयी गीतका गायक लकी अलीले बलिउडमा बिताएका वर्षहरूले आफूलाई थकित बनाएको उल्लेख गरेका छन् । ‘संगीत मेरो आत्माको कुरा हो । तर, त्यो समय म आफूलाई हराएको महसुस गर्थें,’ उनले भने, ‘सिनेमा उद्योगमा रहँदा सम्मानभन्दा बढी औपचारिकता, रचनात्मकताभन्दा बढी प्रतिस्पर्धा भेटिन्थ्यो ।’ कतिपय अवसरमा आफूलाई अपमानित महसुस गरेको उनले बताए । ‘अपमान त भएको हो, तर त्यसैले म हिँडेको होइन,’ उनले भने, ‘म फुर्सद र शान्तिको खोजीमा थिएँ ।’
पिता अभिनेता मेहमुदको निधनपछि उनलाई आफूभित्र ठूलो खालीपन आएको अनुभव भएको थियो । ‘त्यो बेला मलाई लाग्यो, अब यो इण्डष्ट्रीमा मेरा लागि केही बाँकी छैन,’ उनले स्मरण गरे । त्यसपछि उनले बलिउडको भीडभन्दा बाहिर आफ्नै बाटो रोजे— खेतबारी, प्रकृति र आफ्नै लयको संगीतसँग नजिक भए ।
पछिल्ला वर्षहरूमा उनी आफ्नै प्रकारका गीतमार्फत पुनः चर्चामा छन् । उनका लाइभ कन्सर्टहरूमा अहिले पनि पुराना प्रशंसकहरूको भीड देखिन्छ । ‘म अहिले त्यो संगीत बनाउँछु जसले मलाई साँचो सन्तोष दिन्छ,’ उनी भन्छन्, ‘संगीत अब मेरो लागि लोकप्रियता होइन, आत्मसंवाद हो ।’