अभिनेत्री साम्राज्ञी आरएल शाह विवाह बन्धनमा बाँधिने भएकी छन् । मंगलबार आफ्नो जन्मदिन मनाइरहेकी उनले मंसिर १ गते प्रेमीसँग इन्गेजमेन्ट गरेकी छन् । सामाजिक सञ्जालमा इन्गेजमेन्टका तस्वीरहरू सेयर गर्दै उनले नयाँ जीवनको सुरुवात गर्न लागेको जानकारी दिएकी हुन् । उनले प्रेमीको नाम नखुलाएको भए पनि विशाल खरे लसँग इन्गेजमेन्ट गरेको खुलासा भएको छ । उनको इन्स्टाग्राममा प्रेमीको नाम बी अक्षरबाट रहेको संकेत गरेकी थिइन् ।
विशाल मोडल र अभिनेता रहेको खुलासा भएको छ । उनीहरु दुवैले दुई वटा म्युजिक भिडियोमा अभिनय गर्दा नजिकिएको स्रोतले बताएको छ ।
इन्स्टाग्राममा उनले आफ्ना प्रेमीका लागि लामो स्टाटस लेखेकी छन् । उनले भनेकी छन्, ‘जसका लागि मैले प्रार्थना गरेकी थिएँ । मेरो भाषा बोल्न सक्ने शान्त आत्मा, म तपाईंप्रति यति आभारी छु कि शब्दातीत छ । जब तिम्रा आँखा मेरा आँखामा पर्छन्, त्यहाँ एउटा विशेष जादू हुन्छ, मौन कुराकानी हुन्छ । त्यसले धेरै कुरा बोल्छ । मेरो हात यति बलियोसँग समातेकोमा धन्यवाद, यो छुट्ने छैन ।’
उनले लेखेकी छन्, ‘तिमीले मलाई प्रेम गर्नु कति सजिलो छ भन्ने बुझाएका छौ, दयालु, करूणाप्रद र कोमलता देखाएका छौ ।’
उनको इन्स्टाग्रामको तस्वीरलाई ९६ हजारभन्दा बढीले लाइक गरेका छन् । साम्राज्ञीले शेयर गरेका तस्वीरमा उनका प्रेमीको अनुहारको आधा भाग मात्र देखिन्छ । तस्वीरमा उनीहरू रोमान्टिक देखिएका छन् ।
उनीहरूको विवाह यसै वर्ष हुने भनिए पनि मिति खुलाइएको छैन ।
मंगलबारबाट ३० वर्षमा प्रवेश गरेकी साम्राज्ञीले फिल्म ‘ड्रिम्स’बाट अभिनय करिअर सुरु गरेकी थिइन् । यसपछि उनले ‘ए मेरो हजुर २’, ‘इन्टु मिन्टु लण्डनमा’, ‘तिमीसँग’, ‘मारुनी’, ‘ह्यारी कि प्यारी’लगायतका फिल्ममा अभिनय गरिसकेकी छन् । तर, ‘ए मेरो हजुर २’पछि उनका कुनै फिल्म सफल छैनन् । उनी चाँडै नयाँ फिल्म ‘आहुति’का दुई शृंखलामा देखिँदैछिन् ।