नेभिगेशन
मनोरञ्जन

बलिउडमा समीक्षा र व्यापारको विश्वसनीयतामा संकट

मुम्बई – करिब ६० अर्ब डलरको भारतीय बलिउड उद्योग अहिले गम्भीर विश्वसनीयताको संकटमा परेको छ । उद्योगभित्रका जानकारहरूका अनुसार हेरफेर गरिएको फिल्म समीक्षा, अवास्तविक बक्स अफिस तथ्यांक र नक्कली टिकट बिक्रीका दाबीहरूले दर्शक दिक्क हुन थालेका छन् । यसले अन्ततः टिकट बिक्रीमै नकारात्मक असर पारिरहेको छ ।

स्ट्रिमिङ प्लेटफर्महरूले परम्परागत सिनेमालाई कडा प्रतिस्पर्धा दिइरहेका छन् । फिल्म रिलिज हुनुअघि नै ‘सुपरहिट’ घोषणा गर्ने प्रवृत्तिदेखि पैसा दिएर सकारात्मक समीक्षा लेखाउने प्रचलनसम्मका सबै कारणले दर्शकको विश्वास बलिउडले गुमाउँदै गएको हो । निर्माता तथा वितरक सुनील वाध्वाका अनुसार पैसा दिएर समीक्षा गराउने तरिकाले उद्योगको विश्वसनीयता नै धराशायी बनाइरहेको छ ।

फिल्म व्यवसायका विश्लेषक तथा अनुभवी वितरक राज बंसलले हालका प्रारम्भिक समीक्षाप्रति दर्शकहरू अत्यन्तै शंकित भएको बताए । यस्तो अविश्वासको प्रत्यक्ष असर बक्स अफिसमा देखिन थालेको उद्योग भित्रकै विश्लेषकहरूको छ । धेरै दर्शकले फिल्म रिलिजको पहिलो दिन नै हेर्न जाने परम्परा तोडेर ‘वास्तविक प्रतिक्रिया’ आउञ्जेल पर्खिन थालेका छन् । यही कारण पहिलो दिनको टिकट बिक्रीलाई ठूलो झड्का दिइरहेको छ ।

पैसा दिएर समीक्षा वा प्रचार गराउने कमजोर विज्ञापन शिल्प भएका निर्माता र तिनका फिल्महरूका लागि अझै महँगो पर्छ । त्यसमाथि निर्माताहरू आफैँले पहिलो सातामा थोक टिकट खरिद गर्न थालेका छन् । यसले बक्स अफिसमा हुने रकम संकलनको कृत्रिम संख्या बढ्ने गरको छ । जेम सिनेमाज, जयपुरका मालिक सुधीर कासलीवालले शाहरूख खानको एउटा चलचित्रका क्रममा सयौँ अनलाइन बुकिङ देखिए पनि हलमा थोरै दर्शक मात्र उपस्थित भएको अनुभव सुनाउँदै भने, ‘यदि निर्माता, निर्देशक र कलाकारहरूले नै टिकट किनिरहने हो भने बलिउडको भविष्य अत्यन्तै अन्धकार हुनेछ ।’

हालै अक्षय कुमार अभिनीत फिल्म ‘स्काईफोर्स’सँग पनि यस्तै प्रसंग जोडिएको छ । निर्देशकले बल्क–बुकिङको आरोप अस्वीकार गरे पनि मुम्बईका एक अनुभवी व्यापार–विश्लेषकले यसको वास्तविक कलेक्सन करिब ६० लाख डलर रहेको, तर रिपोर्ट गरिएको रकम ९० लाख डलरभन्दा बढी रहेको दाबी गरे । बंसलका अनुसार मिडिया वा प्रभावकर्ताहरूका सामान्यतया ‘सकारात्मक समीक्षाको खेल’ नखेल्नेहरूलाई उद्योगबाटै हुत्याइने जोखिम बढेको छ । ‘जब म कलेक्सन कमजोर भएको लेख्छु, कलाकार र निर्माताहरूले हटाइदिन आग्रह गर्छन्,’ उनले भने ।

वितरक वाध्वाले सन् २०२५ को रोमान्टिक–कमेडी–हरर फिल्म ‘थम्मा’को कलेक्सन पनि हेरफेर गरिएको दाबी गर्दै वास्तविक बिक्री करिब एक करोड ५० लाख डलर रहेको बताए । रिपोर्टमा भने एक करोड ८० लाख डलर देखाइएको थियो । निर्देशक आदित्य सरपोतदार भन्छन्, ‘हामीले दिएको संख्या ‘सबैभन्दा सही’ छ तर निर्माता र व्यापारका कलेक्सन आँकडामा हल चलिरहेका बेला केही तलमाथि भने हुनसक्छ ।’

विज्ञहरूको चेतावनी स्पष्ट छ— बक्स अफिस तथ्यांकमा हेरफेर गर्नुको दीर्घकालीन असर निकै गम्भीर हुन सक्छ । यो प्रवृत्तिले नयाँ प्रतिभाहरूका अवसर खुम्च्याउने, स्टारहरूको पारिश्रमिक अनावश्यक रूपमा बढाउने र उद्योगको विश्वसनीयता झनै खस्काउने जोखिम हुन्छ । ‘दर्शक मूर्ख छैनन्, उनीहरू सत्य खुट् याउन जान्दछन्,’ बाध्वाको भनाइ छ । यता, स्ट्रिमिङ प्लेटफर्महरूले पनि आफ्नो रणनीतिमा कडाइ गर्दै बक्स अफिस तथ्याङ्कको अडिट अनिवार्य बनाउन थालेका छन् । यसले निर्माताहरूलाई पारदर्शिता अपनाउन बाध्य पारिरहेको छ । ‘नेटफ्लिक्स तथा डिज्नेजस्ता स्ट्रिमरहरू अब धेरै सावधान भइसकेका छन्,’ वाध्वाको भनाइ छ । तर तिनै विशेषज्ञहरूको निष्कर्ष के छ भने यो चलन चाँडै रोकिइहाल्ने कुनै संकेत छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
बल्ल सुपरहिट

बल्ल सुपरहिट