नेभिगेशन
मनोरञ्जन

ज्योतिको दुर्व्यवहार खुलासा

गएको जनवरी २० मा फेसबुकमा ज्योति मगरले लेखेकी थिइन्, ‘पब्लिकको अगाडि छोटा लुगा लगाउनेभन्दा पब्लिकको आँखा छलेर चुकुल लगाउनेहरू घटिया हुन्छन् । छोटा लगाउनेले तिघ्रा देखाउँछन् । चुकुल लगाउनेले औकात... । चित्र होइन, चरित्र सफा राखौ र औकातअनुसारको कमेन्ट ठोकौ ...।’

त्यो फेसबुके टिप्पणी कसका प्रति लक्षित छ भन्ने कुरा हालै एउटा पडकास्टमा उनले खुलासा गरेकी छन् । शुरुवाती संघर्षका बेला आफू कलाकार बन्न ज्यादै इच्छुक रहेका बेला चिनजान भएका एक जना व्यक्तिले कसरी उनको इच्छाको नाजायज फाइदा उठाउन खोजे भन्नेबारे खुलेर कुरा गरेकी छन् ।

आफू पुलिस क्लबमा जागिर खान इच्छुक रहेका बेला एक जनाले कोमल वली र अन्य परिचित व्यक्तिहरूको नाम लिँदै उनीहरूसँग चिनजान गर्न खोजे । उनले जागिरको प्रलोभन पनि दिए । ज्योतिले उनको नाम खुलासा नगरी भनिन्, ‘ती दाइलाई सबैले राम्रोसँग चिन्छन् । म उनको नाम खुलाउँदिनँ तर उनले फाइदा उठाउने प्रयास गरे ।’

एक दिन उनले जागिरका लागि सुन्धारास्थित होटलमा बोलाएको सम्झँदै उनले भनेकी छन्, ‘म जागिरका लागि यति व्यग्र थिएँ कि जहाँ बोलाए पनि गएँ ।’ त्यो बेला ती ‘दाइ’ले माथि कोठामा बोलाए । उनी पनि सरासर पुगिन् । उनी पुगेपछि कोठाको ढोका लगाएर हातपात गरेको उनले बताइन् ।

कविता पनि लेख्छिन् ज्योति

हो, ऊ पुरुष हो, सधै बलवान् हुन्छ ऊ
कठै कल्ले भन्छ र लुकेर एक्लै रुन्छ ऊ । 

बोल्यो भने नामर्द कहलाउँछ र त
हजार लाञ्छना गाली गलौच चुपचाप सुन्छ ऊ ।

आफै ढल्छ, आफै उठ्छ आफैलाई सुम्सुम्याउँछ
तिम्ले दिएको कालो दाग आफ्नो आँशुले धुन्छ ऊ ।

बडेमानको जिउभित्र सानो बालक लुकेको छ
प्रेम पाए श्रद्धाले तिम्रो पाउ नै छुन्छ ऊ ।

समाजको नजरमा दोषी बनाई गिराइदेऊ
तर पनि सबसे पहिला तिम्रै खुशी चुन्छ ऊ ।

कठोर मुटु उस्को वियोगमा नि हाँसिरहन्छ
छल्किनै आँटेको पीडालाई जबर्जस्ती थुन्छ ऊ ।

माया गरेजस्तो गर, भ्रमको खेती गोड्न थाल्छ
भ्रमको फूल फुलाई सुन्दर माला बुन्छ ऊ ।

हो, ऊ पुरुष हो, सधै बलवान् हुन्छ ऊ
कठै कल्ले भन्छ र लुकेर एक्लै रुन्छ ऊ ।

अब आफू दुष्टको पञ्जाको परेकोमा पछुताउँदै उनले भनिन्, ‘दाइ म ट्वाइलेट जान्छु नि !’ त्यसपछि ट्वाइलेट जाने बहानामा उनले केही सेकेण्डभित्रै ढोका खोलेर टाप कसेको उनले खुलासा गरेकी छन् । उनले भनेकी छन् ‘त्यसपछि पनि उनले मलाई तनाव दिन छाडेनन् । बारम्बार फोन गरिरहन्थे । त्यो बेला त मलाई फोनमा कसरी ब्लक गरिन्छ भन्ने पनि थाहा थिएन ।’

त्यही ट्रमाका कारण अहिले पनि ढोका बन्द गरेर सुत्न नसक्ने पनि उनले खुलासा गरिन् । कसैले ढोकाको चुकुल लगायो भने किन लगायो भन्ने अझै पनि लाग्ने उनले बताइन् । २०६३ सालदेखि संगीत क्षेत्रमा नृत्य र गायनमा ग्ल्यामर छिराएर चर्चामा आएकी उनको कथित ‘उत्ताउलो’ प्रस्तुतिलाई धेरैले आपत्तिजनक मान्ने गरेका छन् ।

उनले पडकास्टमा भनेकी छन्, ‘मलाई अन्तिम समयमा पनि कसैले सम्झेर बोलाउँछ भने त्यस्तो कार्यक्रममा जान म छुटाउँदिनँ । कसैसँग सम्झौता गरेर धेरै पैसा कमाउनुभन्दा सम्झौता नगरी गुजारा चलाउनु उत्तम हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्