गत शुक्रबार र शनिबार कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा गायक फत्तेमानको सम्झनामा पलेँटी कार्यक्रम सम्पन्न भएको छ । यसपालिको कार्यक्रम गायक फत्तेमानको जन्ममितिका अवसरमा आयोजना भएको थियो । तारिखले गत शुक्रबार र गतेले गत शनिबार फत्तेमानको ८९ औँ जन्ममिति परेको थियो ।
पलेँटी कार्यक्रम नेपालयले झन्डै २१ वर्ष पहिले सुरु गरेको लघु सांगीतिक अभियान हो । झन्डै पौने दुई घण्टासम्म चलेको सो कार्यक्रममा गायक फत्तेमानले गाएका १३ वटा लोकप्रिय गीत प्रस्तुत गरिएका थिए ।
गायक फत्तेमानको अत्यन्तै लोकप्रिय गीत ‘यस्तो पनि हुँदो रहेछ’बाट कार्यक्रमको थालनी भएको थियो । यस गीतको प्रस्तुतिपछि गीति निबन्ध वाचन सुरु भएको थियो । संस्मरणात्मक निबन्धलाई गीतसँगै प्रस्तुत गरिने यस्तो शैलीलाई पलेँटीले ‘गीति निबन्ध’ भन्न सुरु गरेको छ ।
संगीतकार आभासले फत्तेमानमाथि केन्द्रित भएर निबन्ध प्रस्तुत गरेका थिए । गीत र निबन्धको सम्मिश्रण जतिजति अघि बढ्दै जान्थ्यो दर्शक दीर्घामा भावुकताको लहर पनि उतिउति फैलँदै गएको भान पथ्र्यो । निबन्धकार आभास गायक फत्तेमानसँग सहकार्य गर्ने पछिल्लो पुस्ताका संगीतकार हुन् । त्यसैले उनको निबन्धमा फत्तेमान र उनीसँग जोडिएका रोचक र भावुक प्रसङ्गहरू उल्लेख भएका थिए । साथै उनको लेखाइमा फत्तेमानका गीतकार, संगीतकारहरूको प्रसङ्गसमेत गहिरो गरी झल्केको सुनिन्थ्यो ।
निबन्धमा आभासले गायक फत्तेमान ७० वर्षको हुँदा एउटा सांगीतिक एल्बम निम्ति सहकार्य गरेको प्रसङ्ग उल्लेख छ । त्यस एल्बमको नाम नै ‘फत्तेमान ७०मा’ राखिएको थियो । यसरी विषयको रचनागर्भसँगै गीत सुन्दा श्रोता र दर्शकलाई सृजनाको प्रभावले झनै आकर्षित गरेको अनुभूति हुन्थ्यो ।
संगीतकार तथा गीतकार अम्बर गुरुङको सन्दर्भसँगै दोस्रो प्रस्तुति ‘जीवन हुरीको गीत’ गुञ्जेको थियो । त्यसपछि क्रमशः ‘कस्तो माया लाइएछ’, ‘यति चोट सहनलाई त’, ‘बतासले तलाउमा’, ‘आजभोलि देख्दिनँ म’, ‘रक्तिम अधर छ तिम्रो’, ‘वनै खायो डढेलोले’, ‘रातको सपना बाँकी हुन्न’, ‘घिन्ताङमा घिन्ताङ’, ‘सान्नानीको गालैमा’ र ‘मर्न बरु गाह्रो हुन्न’ बोलका गीत प्रस्तुत भएका थिए ।
कार्यक्रममा प्रस्तुत गीतहरूका संगीतकार र गीतकारमा माधव घिमिरे, नातिकाजी, यादव खरेल, अम्बर गुरुङ, शिवशंकर, राममान तृषित, ज्ञानबहादुर श्रेष्ठ, नारायण गोपाल, कालीप्रसाद रिजाल, अच्युतकृष्ण खरेल, सहदेव राणा, विक्रम सुब्बा, तीर्थराज तुलाधर र मञ्जुलका रचनाहरू समेटिएका थिए ।