नेभिगेशन
मनोरञ्जन

एल्बम ननिस्किंदै चर्चा

टेलर स्विफ्टको आगामी एल्बम रिलिज र उनले सुन्तला रङप्रति देखाएको मोह प्रशंसक र ठूला ब्रान्डहरूले सजिलै बुझेका छन् । अहिले यो ठूलो आर्थिक गतिविधिको केन्द्र बन्न पुगेको छ ।

गएको बुधबार उनले प्रेमी तथा एनएफएल फुटबल स्टार ट्राभिस केल्ससँग न्यू हाइट्स पोडकास्टमा आफ्नो १२औँ स्टुडियो एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ चाँडै रिलिज गर्ने घोषणा गरेकी थिइन् । सो घोषणालगत्तै उनीसँग एल्बम प्रचार र बिक्री–वितरणको अधिकार लिने केही कम्पनीहरूले हानाथाप नै गरे । हानाथाप गर्नुको कारण चाहिँ स्विफ्टले हरेक कुरामा उत्साह सिर्जना गर्ने र ठूलो आम्दानी गराउने क्षमता नै हो ।

स्विफ्टको सांगीतिक टूर संसारकै सबैभन्दा बढी आम्दानी गर्ने टूरका रूपमा चर्चित छ । सन् २०२३ मा पोलस्टरले गरेको एउटा अनुसन्धानमा स्विफ्टको ‘एराज् टूर’ले संसारमै पहिलो पटक एक अर्ब डलर भन्दा बढी कमाउने कन्सर्टको कीर्तिमान बनाएको थियो ।

उनले जहाँ–जहाँ कन्सर्ट आयोजना गरिन्, त्यहाँ–त्यहाँ कीर्तिमानी स्तरमा व्यापार भएको र गज्जबको आर्थिक लाभ दिएको थियो । त्यहाँ उनका हजारौँ प्रशंसकहरूले होटल, रेस्टुरेन्ट र विभिन्न मनोरञ्जन स्थलमा खुलेर खर्च गरेका थिए । त्यसैले, यतिबेला कतिपय कम्पनीहरूले स्विफ्टको लोकप्रियता र प्रभावलाई प्रयोग गर्दै आफ्ना उत्पादनहरूलाई सुन्तले रङ प्रयोग गर्न थालेका छन् । 

एराज् टूरको अन्त्यतिर उनले सुन्तले रङको पोशाकमा देखिएका हुनाले त्यसलाई प्रयोग गरेका हुन् । उनको यो नयाँ एल्बम कहिले निस्कने छ भन्नेबारे खुलासा गरिएको छैन । उनले एल्बमको बुकिङ भने शुरु गरिसकेकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्