दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु विवाह बन्धनमा बाँधिएकी छन् । निर्माता तथा निर्देशक राज निदिमोरु र सामन्थाले दोस्रो वैवाहिक जीवन सुरु गरेका हुन् ।
व्यक्तिगत र व्यावसायिक जीवनमा लगातार चर्चाको केन्द्रमा रहँदै आएकी सामन्था अभिनयको उच्च शुल्क लिने अभिनेत्रीमा पर्छिन् । ‘ये माया चेसावे’ (२०१०) बाट फिल्मी यात्रा सुरु गरेकी सामन्थाले छोटो समयमै आफूलाई तेलुगु र तमिल फिल्म उद्योगको शीर्ष अभिनेत्रीका रूपमा स्थापित गरेकी हुन् ।
एसएस राजामौलीको ‘ईगा’(२०१२), ‘मार्सल’ (२०१७) र ‘रंगस्थलम’ (२०१८) जस्ता ब्लकबस्टर फिल्महरूमार्फत उनले आफ्नो अभिनय क्षमताको बलियो छाप छोडिन् । पछिल्लोपटक बलिउडमा वेब सिरिज ‘द फ्यामिली म्यान २’ मार्फत प्रवेश गरेपछि उनको स्टारडम थप चुलिएको थियो । सामन्थाको व्यक्तिगत जीवनले पनि धेरै उतारचढावको रह्यो । सन् २०१७ मा उनको विवाह अभिनेता नागा चैतन्यसँग भएको थियो । नागा–सामन्थाको जोडीलाई दर्शकहरूले ‘सामा चै’ को नामले निकै मन पराएका थिए । तर, चार वर्षपछि सन् २०२१ मा यी दुईले आपसी सहमतिमा सम्बन्धविच्छेद गरेर सबैलाई चकित पारे ।
सम्बन्धविच्छेदपछि सामन्थाले आफ्नो फिल्मी करियरमा ब्रेक लिइनन् । ‘यशोदा’ र ‘शाकुन्तलम्’ जस्ता सफल फिल्महरूमा काम गरिन् । त्यहीबीच उनी ‘मायोसाइटिस’ नामक स्वास्थ्य समस्यासँग जुध्दै गरेको खबरले प्रशंसकहरूलाई चिन्तित बनाएको थियो । तर, उनले दृढताका साथ पुनरागमन गरिन् । यसै क्रममा लामो समयदेखिको चर्चालाई विश्राम दिँदै ३८ वर्षीया सामन्थाले फिल्म निर्माता तथा निर्देशक निदिमोरुसँग नयाँ जीवन सुरु गरेकी हुन् । विवाह गत सोमबार कोइम्बतूरस्थित ईशा फाउन्डेसनको लिंग भैरवी मन्दिरमा गोप्य र परम्परागत शैलीमा भएको हो ।
राज निदिमोरु प्रसिद्ध निर्देशक जोडी ‘राज र डिके’का सदस्य हुन्, जससँग सामन्थाले ‘द फ्यामिली म्यान २’ र आगामी ‘सिटाडेल’ जस्ता फिल्म प्रोजेक्टमा काम गरेकी छन् । काम गर्ने क्रममा उनीहरू नजिकिएको र व्यावसायिक सम्बन्ध प्रेममा बदलिएको बताइएको छ । स्टारडमको उचाइमा रहेकी सामन्थाको कुल सम्पत्ति १०० करोड भारुभन्दा बढी छ । उनको सम्पत्तिको मुख्य स्रोत फिल्म शुल्क, महँगा ब्रान्डहरूको विज्ञापन र लगानीहरू हुन् । राज निदिमोरुसँगको उनको सम्बन्धलाई धेरैले काम र जीवनको उत्कृष्ट सन्तुलनका रूपमा हेरेका छन्, जहाँ दुवैजना आफ्नो क्षेत्रमा सफल र सम्मानित छन् ।
सामन्थाजसरी नै राज निदिमोरुको पनि दोस्रो विवाह हो । सन् २०१५ मा उनको विवाह श्यामली डेसँग भएको थियो । डे फिल्म उद्योगमा सहायक निर्देशकको काम गर्छिन् । साथै उनको काम सिनेमाका लागि क्रिएटिभ फिल्डको हुने गरेको छ । राज र श्यामलीबीच सन् २०२२ मा सम्बन्धविच्छेद भएको थियो । राज र सामन्थाले विवाह गर्ने खबर सञ्चारमाध्यममा बाहिरिँदा श्यामलीले सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् – ‘हतास मानिसले हतास काम गर्छन् ।’ यो भनाइलाई फिल्मी अनलाइनहरूले राज र सामन्थाको कदमसँग तुलना गरेर गसिप बनाएका थिए । श्यामलीले सोसल मिडियासँग दुरी बनाएकी छन् ।
राजका तुलनामा कार्य क्षेत्र र चर्चामा सामन्था अगाडि छिन् । दक्षिण भारतीय अभिनेत्रीमा पहिलो नम्बरकी नयनतारापछि उनी उच्च पारिश्रमिक लिन्छन् । सामन्थाले आफ्नो जीवनको कठिन समयलाई पछाडि छाडेर, प्रेम र करियरको सन्तुलित यात्रालाई अँगाल्दै आफूलाई एक सशक्त, प्रेरणादायी महिलाको रूपमा आफूलाई प्रस्तुत गरेकी छन् । उनको यो नयाँ इनिङ्सले उनलाई थप सफलता र खुसी दिने विश्वास उनका प्रशंसकहरूको छ ।