‘टर्मिनेटर’ शृंखला, ‘टाइटानिक’ लगायत बक्सअफिसमा सर्वाधिक सफल फिल्म ल्याउने चर्चित निर्देशक जेम्स क्यामरुनले सफल सिनेमा शृंखला ‘अवतार’ तेस्रोपटक अर्को कथामा ल्याउँदैछन् । विश्व सिनेमाको इतिहासमा हलिउडको सर्वाधिक सफल फिल्म शृंखलाको रूपमा स्थापित अवतारको तेस्रो अध्याय ‘अवतार: फायर एन्ड ऐश’ प्रदर्शनका लागि तयार छ ।
सन् १९८२ मा ‘पिरान्हा–२’ बाट हलिउड फिल्म निर्देशनमा जमेका क्यामरुनले ‘टर्मिनेटर,’ टर्मिनेटर–२, ‘ट्रु लाइज,’ ‘टाइटानिक’ लगायत बक्सअफिसमा सर्वाधिक सफल फिल्म ल्याएका हुन् । सन् २००९ मा ‘अवतार’ बनाएपछि यसैका शृंखला निर्माण गरिरहेका छन् ।
प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकहरूको उत्साह उत्कर्षमा छ । डिसेम्बर १९ मा प्रदर्शनको तयारीमा रहेको यो फिल्मले पाण्डोरा ग्रहको यस्तो कथा सुनाउँदैछ, जुन अघिल्ला दुई भागभन्दा पूर्ण रूपमा भिन्न र उच्च द्वन्द्वयुक्त हुनेछ ।
पहिलो भाग ‘अवतार’ले आफ्नो ग्राउन्डब्रेकिङ भिजुअल इफेक्ट्स र गहिरो वातावरणीय सन्देशसहित २.९ बिलियन डलर कमाएर बक्स अफिसमा ऐतिहासिक कीर्तिमान कायम गरेको थियो । उक्त फिल्मले ज्याक सुलीले नाभी राजकुमारी नेयतिरीसँग प्रेम गरी पाण्डोरालाई मानव अतिक्रमणबाट बचाएको कथा प्रस्तुत गरेको थियो । सन् २०२२ मा आएको दोस्रो भाग ‘अवतारः द वे अफ वाटर’ले सुली परिवारको कथालाई जलचर जनजाति मेट्काभिना माझ पुर्यायो र पानीमुनिको अद्भुत संसार देखायो ।

निर्देशक क्यामरुनका अनुसार तेस्रो किस्ता ‘फायर एन्ड ऐश’ले अघिल्लो संस्करणको सौन्दर्य र शान्त वातावरणबाट भिन्न भएर नाभी संस्कृतिको अर्को पाटो खोल्नेछ । यो संस्करणको मुख्य आकर्षण ‘ऐश पिपल’ भनिने नयाँ जनजाति हुनेछन् । यी नाभीहरू पाण्डोराको सुन्दर जंगल वा समुद्रमा नभई, ज्वालामुखी नजिकको कठोर, तातो र खनिजयुक्त भूमिमा बसोबास गर्छन् । उनीहरू आगो र विनाशसँग जोडिएका हुन्छन् । क्यामरुनले स्पष्ट रूपमा भनेका छन्, ‘अघिल्ला फिल्महरूमा हामीले नाभीको राम्रो पक्ष मात्र देख्यौँ । यसपटक म उनीहरूको नकारात्मक र अलि क्रूर पक्ष देखाउँदैछु। सबै नाभीहरू राम्रा छैनन्, जसरी सबै मानिसहरू खराब छैनन् ।’ ऐश पिपलको नेतृत्वमा वरङ नामक महिला पात्रलाई देखिनेछ, जो शक्तिशाली हुनेछिन् । उक्त भूमिका उना च्याप्लिन छिन् । स्पेनिश– स्विटजरल्यान्ड–ब्रिटिश अभिनेत्री उना विश्व प्रसिद्ध फिल्म स्टार चार्ली च्याप्लिनकी नातिनी र अभिनेत्री जेराल्डिन च्याप्लिनकी छोरी हुन् । उनी अमेरिकी नाटककार यूजीन ओ’नीलकी पनातिनी पनि हुन् । ३९ वर्षीया उना एचबीओको लोकप्रिय सिरिज ‘गेम अफ थ्रोन्स’मा टेलिसा स्टार्कको भूमिकाका लागि विशेष रूपमा चिनिन्छिन्। बीबीसीको ड्रामा ‘द क्रिमसन फिल्ड’मा किट्टी ट्रेभेलियन र शृंखला ‘ट्याबू’ मा जिल्फा गियरीको भूमिकामा उनले काम गरिसकेकी हुन् ।
जेम्स क्यामरुनको ’अवतार’ फिल्म शृंखलामा उनी सन् २०१७ मा जोडिएकी हुन् । उनलाई देखिने ‘वरङ’का रुपमा शक्तिशाली र जीवन्त केन्द्रीय अवतार–३ ज्वालामुखीको शक्ति पात्रको रूपमा देखाइएको छ । उनले नै ‘ऐश पिपल’ भनिने नयाँ नाभी जनजातिको नेतृत्व गर्नेछिन् ।
‘फायर एन्ड ऐश’ शीर्षकले सुली परिवारमा आएको ठूलो त्रासदी— पहिलो सन्तान नेटियामको मृत्युपछिको शोक र आरडीएसँगको घृणा तथा हिंसालाई संकेत गर्छ । नाभीका फरक–फरक दर्शन र उग्र स्वभावले पाण्डोरामा आन्तरिक तथा बाह्य रूपमा ठूलो क्षति र खरानी मात्र बाँकी रहने अवस्थाको सिर्जना गर्न सक्ने कथामा बताइएको छ ।
तेस्रो भागमा, सुली परिवारले एकातर्फ आफ्नो पारिवारिक सम्बन्धलाई बलियो बनाउनुपर्ने चुनौती छ भने अर्कातर्फ उनीहरूले कहिल्यै नदेखेको नाभी जनजातिको सामना गर्नुपर्नेछ ।