नेभिगेशन
साहित्य

पाठकसँग लेखक

भारतीय लेखिका तथा सामाजिक अभियन्ता अरुन्धति रोय आइतबार काठमाडौंको थापाथलीस्थित एकता बुक्समा पुस्तकमा हस्ताक्षर गर्दै । नेपाली पाठकहरुसँग भेट गर्दै उनले आफ्ना कृतिमा हस्ताक्षर गरेकी हुन् । ६४ वर्षीया रोय आफ्नो पछिल्लो पुस्तक ‘मदर मेरी कम्स टु मी’को प्रचारका लागि काठमाडौं आएकी हुन् । रोय भारतीय साहित्यको एक प्रख्यात नाम मात्र होइन सामाजिक न्यायका लागि निर्भीक रूपमा बोल्ने बुद्धिजीवी पनि हुन् । मेघालयमा जन्मिएकी उनी दिल्लीमा आर्किटेक्चर अध्ययन गरे पछि लेखनतर्फ आकर्षित भइन् । १९९७ मा प्रकाशित उनको पहिलो उपन्यास ‘द गड अफ स्मल थिङ्स’ ले म्यान बुकर पुरस्कार जित्दै विश्वभर चर्चा पायो । यो कृतिले केरलाको सामाजिक यथार्थ, जातीय विभेद र परि वारभित्रका जटिल सम्बन्धहरूको संवेदनशील चित्रणका कारण उच्च प्रशंसा प्राप्त भएको हो ।

उपन्यासपछि उनी बढी राजनीतिक निबन्धहरू र आन्दोलनमा सक्रिय भइन् । ‘द अल्जेब्रा अफ इन्फिनिट जस्टिस,’ ‘फिल्ड नोट्स अन डेमोक्रेसी,’ ‘वाकिङ वीथ कमरेड्स’ जस्ता कृतिहरूमा उनले राज्यसत्ता, सैन्यीकरण, आदिवासी समुदायका अधिकार, पर्यावरण विनाश र पुँजीवादका समस्या आलोचनात्मक रूपमा उठाएकी छन् । उनका विचारहरू धेरै समय विवादमा पर्ने गरे पनि सत्य बोल्ने उनको निर्भीकतालाई धेरैले सराहना गर्छन् । लेखिका, कार्यकर्ता र जनपक्षधर आवाजका रूपमा अरुन्धति अत्यन्त प्रभावशाली व्यक्तित्व मानिन्छिन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्