किरण देसाईको पहिलो उपन्यास ‘इनहेरिटेन्स अफ लस’ प्रकाशित भएको २० वर्षपछि अर्को आउँदा साहित्यक वृत्तमा सनसनीजस्तै बनेको थियो । नयाँ उपन्यास ‘लन्लीनेस अफ सोनिया एन्ड सनी’ म्यान बुकरका लागि छनोटको सूचीमा परेपछि पुनः चर्चा पायो । उक्त कृतिलाई समीक्षकहरूले पनि राम्रै तारिफ गरे ।
उपन्यासको सोनिया र सन्नी कथा सन् १९९६ देखि २००२ सम्मको तन्किएको छ । भारतबाट अमेरिका गएका उनीहरू आफ्नो पहिचान, पारिवारिक दबाब र प्रेम सम्बन्ध बीच बाँचिरहेका छन् । अमेरिकी कलेज पढिरहेका दुवै इलाहाबादमा रहेका हजुरबुबालाई भेट्न गए पनि उनीहरूको उद्देश्य पुरा हुन सक्दैन । समय क्रममा सोनिया पाको उमेरका कलाकार इलानसँगको तनावपूर्ण सम्बन्धमा फस्छिन् भने सन्नी अमेरिकी गाउँले युवतीसँगको प्रेममा पर्छ । उपन्यासको कथा उनीहरूको प्रेम सफल हुन्छ कि हुँदैन भन्नेमा केन्द्रित छ ।
‘उपन्यासले तीन पुस्ताको कथा भनेको छ; अंग्रेजको शासनमा रहँदाको भारत; आर्थिक परिवर्तनका कारण विश्वसँग जोडिएको पुस्ता र आजको नयाँ पुस्ता,’ पुस्तकबारे लेखिका देसाईले भन्छिन्, ‘कतिपय ऐतिहासिक घटनाहरू जस्तै १९८४ को सिख दंगा र बाबरी मस्जिदमा भएको बमबारी पनि कथामा आएका छन् ।’ लेखिका देसाईले बताए अनुसार यदि सन्नीले आफ्नो प्रेमिका उल्लाका रिपब्लिकन अभिभावकलाई सन् २०२५ मा विकसित राजनीतिक परिस्थितिपछि भेट्नुपर्ने भएको भए निकै तनाव हुने थियो होला । किनभने अहिले अमेरिकामा आप्रवासी विरोधी सोच हावी हुँदै गएको छ र समाजमा ध्रुविकरणको मात्रा अत्यधिक छ । ‘यसले त आखिरमा सामाजिक सम्बन्धलाई झनै जटिल बनाउनेछ,’ उनी भन्छिन् । उपन्यासले भारत र अमेरिकामा धर्म र राजनीति कसरी जोडिन्छ भन्ने पनि देखाएको छ । देसाई भन्छिन्, ‘आज धर्म धेरै सार्वजनिक विषय बनेको छ जसले कथाहरू लेख्ने तरिकामा प्रभाव पार्छ ।’
प्रेम, पहिचान र प्रवासनको कथामा दह्रो पहिचान बनाएकी किरण देसाई भारतीय–अमेरिकी लेखिका हुन् । उनको लेखन प्रवासन, पहिचान, राजनीति र परिवारजस्ता विषयमा केन्द्रित हुन्छन् । सन् १९९८ मा प्रकाशित उनको पहिलो उपन्यास ‘हल्लाबल्ली इन द गुआभा अर्काड’ नै उनको बलियो उपस्थिति जनाएको थियो । सन् २००६ मा प्रकाशित उनको दोस्रो उपन्यास ‘द इनहेरिटेन्स अफ लस’ ले त अन्तर्राष्ट्रिय ख्यातीका साथै म्यान बुकर पुरस्कार नै जित्यो । बीस वर्षपछि आएको तेस्रो कृति ‘लन्लीनेस अफ सोनिया एन्ड सनी’ पनि म्यान बुकरका लागि पनि मनोनयनमा परेको थियो ।