नेभिगेशन
मनोरञ्जन

अगाडि ‘परान’ पछाडि ‘जेरी अन टप’

नेपाली फिल्मले लगानी उठाउन हम्मेहम्मे परेका दिनहरू न निर्माता निर्देशकले बिर्सेका छन्, न त कलाकारले । अवस्था फेरिएको छ । अहिले घरेलु बजारमा नेपाली फिल्मले गरेको व्यापारले नयाँ लगानी आकर्षित गरिरहेको छ ।

गत वर्ष ‘पूर्णबहादुरको सारंगी’ले एतिहासिक व्यापार गरेयता नेपाली फिल्मको बजार राम्रो हुँदै गएको छ । यसपटक ‘परान’ले निर्माता निर्देशकको अपेक्षाभन्दा राम्रो व्यापार गरेको छ ।

चलचित्र विकास बोर्डको बक्सअफिस एटदरेट सिनेपाःले सार्वजनिक गरेको गत शनिबारसम्मको तथ्यांकअनुसार ‘परान’ले करिब १७ करोड रुपैयाँको व्यापार गरेको छ ।

गत कात्तिक १४ देखि प्रदर्शनमा आएको उक्त फिल्मले घरेलु बजारमा १६ करोड ९७ लाख ९३ हजार ३५४ रुपैयाँको व्यापार गरेको छ । बसाइसराइ र पारिवारिक कथामा तयार फिल्मलाई दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन् । ‘परानलाई दर्शकले आफैंले हेर्नुस् भनेर सिफारिस गरेको पाएका छौं, बाबुछोराको कथालाई धेरै दर्शकले आफूसँग जोडेर प्रतिक्रिया दिनुभएको छ,’ निर्देशक आचार्यले भने, ‘यो हाम्रै समाजको कथा हो ।’

नीर शाह, मदनकृष्ण श्रेष्ठ जस्ता दिग्गज कलाकर्मीको अभिनय रहेको उक्त फिल्मका लागि हालसम्म ५ लाख ९८ हजार ३०९ वटा टिकट बिक्री भएका छन् । फिल्ममा केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइली लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

व्यापारमा परानलाई पछ्याएको छ गत असोज ३१ देखि प्रदर्शनमा आएको ‘जेरी अन टप’ फिल्मले । यसको ३ लाख ९१ हजार ९९२ वटा टिकट बिक्री हुँदा कमाइ १२ करोड २६ लाख ६ हजार २४० रुपैयाँ भएको बक्सअफिसको तथ्यांक छ ।

अभिनेता अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गी लगायतका कलाकारले अभिनय गरेको उक्त फिल्मको निर्देशन सुयोग गुरुङले गरेका हुन् । सगरमाथा आरोहण र प्रेम कथामा आधारित उक्त फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन् ।

यस्तै कवि उपेन्द्र सुब्बाद्वारा निर्देशित ‘जारी २ः सङ अफ च्याब्रुङ’ ले २ लाख ७ हजार ७१४ टिकट बिक्रीबाट ६ करोड २३ लाख ६९ हजार २०० रुपैयाँको व्यापार गरेको छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, ऋचा शर्मा, प्रेम सुब्बा, पुस्कर गुरुङ लगायतको अभिनय छ । लिम्बू समुदायको जारी परम्परामा आधारित पहिलो फिल्मले निकै राम्रो व्यापार मात्रै गरेको थिएन, निकै प्रशंसा पनि पाएको थियो । त्यही भएर हौसला पाएका निर्देशक सुब्बाले दोस्रो फिल्म ल्याएका हुन् । यसमा पनि जारी प्रथाको विषय देखाइएको छ, तर सुब्बाले यसपटक च्याब्रुङको कथालाई मिसाएर पटकथा तयार गरेका हुन् । यो फिल्म गत कात्तिक २१ गतेदेखि प्रदर्शनमा आएको थियो ।

यस्तै बाल गायकका रुपमा परिचित अशोक दर्जीको जीवनीमा आधारित रहेर तयार ‘मनबिनाको धन’ले अपेक्षाकृत कारोबार गर्न सकेन । तैपनि फिल्म व्यापारका दृष्टिले असफल भने नबनेको बक्सअफिसको तथ्यांकले देखाउँछ । जारी–२ सँगै सिनेमा घरहरूमा आएको उक्त फिल्मले ३ करोड ७९ लाख २ हजार ८७९ रुपैयाँको व्यापार गरेको छ । टंक बुढाथोकीद्वारा निर्देशित उक्त फिल्मको हालसम्म १ लाख ४५ हजार ५९ वटा टिकट बिक्री भएका छन् । फिल्ममा गायक दर्जीसँगै नीता ढुंगाना, सरोज खनाल, एआर बुढाथोकी लगायतको अभिनय छ ।

यही मंसिर १२ गतेदेखि प्रदर्शनरत ‘हर्ष’ ले गत शनिबारसम्म घरेलु बजारमा २८ लाख २ हजार ३४६ रुपैयाँको व्यापार गरेको छ । एकता पौडेलद्वारा निर्देशित उक्त फिल्मको ८ हजार ४३६ वटा टिकट बिक्री भएका छन् । पारिवारिक कथामा आधारित फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, साइमन वादी, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी लगायत कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन