नेभिगेशन
मनोरञ्जन

जब आइम्याक्समा देखाइयो ‘गोर्खा वारियर’

विश्वका आधुनिक चलचित्र हलहरूले आकर्षण मान्ने अत्याधुनिक प्रदर्शन प्रणाली ‘आइम्याक्स’ आजको सिनेमाजगतकै अभुतपूर्व प्रविधि हो । विशाल पर्दा, हाइ रिजोल्युसन, विशेष क्यामेरा, शक्तिशाली ध्वनि तथा दृश्यलाई जीवन्त बनाइदिने प्रोजेक्सन प्रविधि । यी सबैका कारण ‘आइम्याक्स’ विश्वभर लोकप्रिय छ । तर विडम्बना, नेपालमा भने यस्तो प्रविधि भएको एक पनि चलचित्र भवन छैन ।

यही कारण नेपाली चलचित्र ‘आइम्याक्स’ प्रविधिमा प्रदर्शन हुने कुरा नेपाली दर्शकका लागि कल्पनाभन्दा परको हो । तर २०८० भदौको अन्तिम साता नेपाली सिनेमाले मौका पायो । जब ‘गोर्खा वारियर’ लन्डनको चर्चित ‘आइम्याक्स सिने वल्र्ड, लेस्टर स्क्वायर’ मा प्रदर्शन भयो ।

पूर्वगोर्खा सैनिक समेत रहेका निर्देशक मिलन चाम्स निर्देशित ‘गोर्खा वारियर’ सन् १९४९ मा मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेका भीषण युद्धका कथामा आधारित छ । गोर्खाली सैनिकको शौर्यगाथालाई आधुनिक प्रविधिमा उतारिएको ‘गोर्खा वारियर’ आइम्याक्समा प्रदर्शन हुने पहिलो नेपाली फिल्म बनेर इतिहास रच्यो । भारतीय फिल्मले समेत ‘वल्र्ड प्रिमियर’ पाउन संघर्ष गर्नुपर्ने हलमा नेपाली फिल्म प्रदर्शन हुनु स्वयंमा गर्वको विषय थियो ।

तर यो उपलब्धि सहज थिएन । निर्देशक चाम्सले थुप्रै वर्षदेखि आइम्याक्स हलमा नेपाली फिल्म देखाउने सपना देखेका थिए । विदेशी कलाकारका ‘रेड कार्पेट’ प्रिमियर हेर्दा आफ्नो फिल्म त्यहाँ ल्याउने चाहना झन् बलियो हुँदै गएको थियो । तर आइम्याक्स सिने वल्र्डको कडा नीतिनियमका कारण उनका प्रारम्भिक प्रस्तावहरू अस्वीकृत भइरहे । हलले विषयवस्तुको गम्भीरता, भाषागत पहुँच, प्रविधिक गुणस्तर र बजार मूल्य जस्ता पक्षलाई कडाइका साथ मूल्यांकन गर्दथ्यो ।

चाम्सले पछि मात्र आफ्ना फिल्महरू त्यहाँका मापदण्डमा नपुगेको बुझे । ‘आइम्याक्समा प्रिमियर गर्न पैसा मात्रै भए पुग्दैन,’ उनी भन्छन्, ‘भाषा, स्टार, कम्पनी आदि सबै कुरा मिल्नुपर्छ । गोर्खा वारियरले अनुमति पाउनुको मुख्य कारण गोर्खालीप्रति बेलायतीको सम्मान हो ।’

बारम्बार असफल प्रयासपछि ‘गोर्खा वारियर’ का लागि निर्देशक चाम्सले लगभग एक वर्ष समय छुट्याएर तयारी थाले । उनले हललाई आधिकारिक पत्र लेखेर गोर्खा सैनिकको वीरगाथामा आधारित फिल्म प्रिमियर गर्ने अनुरोध गरे । बेलायतमा गोर्खा सैनिकप्रति विशेष सम्मान हुने भएकाले हलले समय उपलब्ध गरायो । तर त्यसपछि झन् ठूलो चुनौती सुरु भयो—प्राविधिक रूपान्तरण । चाम्सका अनुसार, नेपाली प्रविधिमा तयार गरिएको चलचित्रलाई आइम्याक्स प्रविधिमा ढाल्नु अत्यन्तै जटिल काम थियो । यसका लागि हलले नै निश्चित शुल्क लिई रूपान्तरण गरिदियो ।

प्रिमियर तयारीका क्रममा ‘रेड कार्पेट’ क्षेत्रका पसलहरूसँग सहमति, भीड व्यवस्थापन, सुरक्षादेखि विशिष्ट अतिथिको स्वागत व्यवस्थासम्म निर्देशक आफैंलाई सम्हाल्नुपर्‍यो । हुँदा हुँदै, सपना पूरा भयो ।

लेस्टर स्क्वायर—इङ्ग्ल्यान्डकै ‘सिनेमा हब’ मानिने स्थान । त्यो दिन नेपाली फिल्मको चहलपहलले भरियो । विश्वका ठूला निर्देशकका फिल्म प्रिमियर हुने हलमा पहिलोपटक नेपाली फिल्म देखिने खबरले लन्डनको नेपाली समुदाय मात्र होइन, सिनेमा पारखी समेत उत्साहित भए ।

प्रदर्शनीमा करिब ८०० दर्शक उपस्थित थिए, जसमा नेपालीसँगै बेलायती तथा विभिन्न देशका नागरिक पनि थिए । उनीहरू गोर्खाली सैनिकको इतिहास हेर्न उत्सुक थिए । प्रदर्शनीमा सहभागी सञ्चारकर्मी नरेश भट्टराई भन्छन्, ‘आइम्याक्समा नेपाली फिल्म हेर्नु अनौठो अनुभव थियो । त्यो क्षण शब्दमा बयान गर्नै नसकिने थियो ।’

२०७० को दशकदेखि प्राविधिक रूपमा फड्को मार्दै आएका नेपाली फिल्म अन्तर्राष्ट्रिय महोत्सवसम्म पुग्न थालेका छन् । तर आइम्याक्स जडान गरी हल सञ्चालन गर्न अत्यन्तै महँगो हुने भएकाले नेपालमा कहिले प्रवेश गर्छ भन्ने प्रश्न अझै अनुत्तरित छ । त्यसैले अर्को नेपाली फिल्म आइम्याक्समा कहिले देखिने भन्ने आशंका बाँकी छ ।

तर निर्देशक चाम्सलाई भने पछुतो छैन । ‘म पूर्वगोर्खा सैनिक भएकाले हाम्रो वीरताको कथा विश्वभर देखाउने लक्ष्य थियो । ‘गोर्खा वारियर’ ले त्यो पूरा गरिदियो । यसले नेपाली फिल्मलाई नयाँ ढोका खोलिदिएको छ,’ उनी भन्छन् । रितेश चाम्स, विजय लामा, रेविका गुरुङलगायत कलाकार अभिनीत ‘गोर्खा वारियर’ २०८० फागुनमा नेपालमा प्रदर्शन भएको थियो । वास्तविक जस्तै युद्ध दृश्य प्रस्तुत गरेको भन्दै प्रशंसा पनि पाएको थियो ।

आइम्याक्समा नेपाली फिल्म देखिएको त्यो ऐतिहासिक क्षण आज पनि नेपाली सिनेजगतका लागि प्रेरणास्रोत बनेर बसेको छ—जहाँ सपना, संघर्ष र गौरव एकसाथ पर्दामा झल्किएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन