न्यूयोर्क – कुनै फिल्म बन्नुअघि नै फिल्मका निर्देशकले मलाई यस्तो कलाकार चाहिएको छ भनेर जसलाई कलाकारका बारेमा जानकारी दिन्छ, ऊ कास्टिङ निर्देशक हुन्छ । यो कास्टिङ निर्देशकले संसारभरिबाट निर्देशकलाई चाहिने अनुहार ल्याएर दिन्छ ।
जब फिल्म सुटिङमा जान थाल्छ, त्यो कास्टिङ निर्देशकको काम सकिइसक्छ । उसलाई प्रायः कसैले पनि चिन्दैन । कास्टिङ निर्देशकका बारेमा हलिउडभित्रै पनि उति धेरै ज्ञान छैन । हुँदो हो त, यसले उहिल्यै उत्कृष्ट कास्टिङ डाइरेक्टरको अस्कर अवार्ड दिइसक्नुपर्ने हो ।
तर यस किसिमको प्रतीक्षा सकिइसकेको छ । हालै एकेडेमी अवार्डस्ले हरेकवर्ष प्रदान गरिने अवार्डहरूको नामांकन सूचीमा कास्टिङ डाइरेक्टरलाईसमेत समावेश गर्ने घोषणा गरेको छ । यो घोषणासँगै लामो समयदेखि कास्टिङ डाइरेक्टरले पाउनुपर्ने सम्मानका कुरा उठाइरहेका कास्टिङ डाइरेक्टरहरूले खुसी मनाएका छन् । यसलाई कास्टिङ निर्देशकहरूले धेरैअघि चालिनुपर्ने कदम भनी टिप्पणी गरेका छन् । ९८ औं एकेडेमी अवाड्र्स आउँदो मार्च १५, २०२६ मा एबीसी टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्दैछ । कास्टिङको संसारका प्रभावशाली व्यक्तिहरूमध्ये एक बर्नार्ड टेल्सी भन्छन्, ‘हाम्रो काम भनेको बाहिर रहेका कलाकारहरूलाई चिन्नु वा हामीले नचिनेका कलाकारहरूलाई कसरी खोज्ने भनेर जान्नु हो ।’ उनले टिफनी लिटिल क्यानफिल्डसँग मिलेर ‘विक्ड’का दुवै भागका चलचित्रका लागि कलाकारहरू छनोट गरेका थिए ।
टेल्सी भन्छन्, ‘हामीले के गर्छौं भन्ने कुरा मानिसहरूलाई बुझ्न साँच्चै गाह्रो छ किनभने यो धेरै गोप्य हुन्छ । यो अवार्डसँगै यो पेशालाई अझ बलियो बनाउनेछ र मानिसहरूलाई हामीले के गर्छौं भन्नेबारे बुझाउन सघाउ पुर्याउँछ ।’ पछिल्ला केही समयदेखि हलिउडले कास्टिङ विधाका लागि तीनवटा पुरस्कार थपेको छ । क्रिटिक्स च्वाइस अवाड्र्सले यस वर्ष भर्खर कास्टिङ ट्रफी थपेको छ । त्यसो त कास्टिङ डाइरेक्टरहरूको आफ्नै समूह र संघले आर्टिओस अवार्डस् नदिने होइन । पहिलो पटक १९८५ मा आयोजित गरिएको सो कास्टिङ डाइरेक्टरलाई सम्मानित गर्ने सो अवार्डलाई भने गोल्डेन ग्लोब्स र टोनी अवार्डस् जस्ता सम्मानित अवार्डले खासै भाउ दिँदैनन् ।
१२ सयभन्दा बढी कास्टिङ निर्देशकहरू हलिउडमा कार्यरत छन् । कास्टिङ सोसाइटीकी अध्यक्ष डेस्टिनी लिली भन्छिन्, ‘जब कास्टिङ उत्कृष्ट हुन्छ, यो कहिलेकाहीँ अदृश्य महसूस हुन्छ किनकि यो यति राम्रोसँग गरिएको हुन्छ कि तपाईंले औंलाका छापहरू देख्नुहुन्न । मेरो विचारमा, त्यो कलाको लागि मान्यता पाउन समय लागेको छ किनभने कास्टिङ निर्देशकहरूले गर्ने धेरै कामहरू अन्य धेरैजसो उत्पादन टोलीहरू आउनुअघि नै भइसकेको हुन्छ ।’ कास्टिङ निर्देशकहरूले पहिले निर्देशकहरू, लेखकहरू र निर्माताहरूसँग कुरा गर्छन् ताकि उनीहरूको परियोजनाको लागि दृष्टिकोण के छ भन्ने बारेमा जानकारी पाउन सकियोस् र त्यसपछि अडिसनका लागि सही कलाकारहरू ल्याउँछन् । टेल्सी यसलाई एक पोशाक डिजाइनरले बाहिर रहेका सबै सम्भावित फरक कपडा र रंगहरू जान्नुपर्ने तरिकाजस्तै ठान्छिन् ।