फ्लोरेन्स – हजारौं इटालियन लेखकहरूले प्रकाशकहरूलाई २०औं शताब्दीको फासीवादलाई महिमा दिने पुस्तकहरू प्रकाशित गर्ने कट्टर–दक्षिणपन्थी छापा (राइट हार्ड इम्प्रिन्ट)लाई रोमको एक पुस्तक मेलामा भाग लिनबाट रोक्न आह्वान गरेका छन् । चरम विचारहरूलाई बढावा दिने किसिमका किताबको बाढी आइरहेकाले प्रतिबन्ध लगाउने आवाजलाई केहीले आलोचना पनि गरेका छन् ।
मेलाको आयोजना गरिरहेको इटाली प्रकाशक संघलाई ८० भन्दा बढी प्रख्यात लेखकहरूले पत्र लेख्दै मेलामा उनीहरूले नाजी–फासीवादी र सेमेटिक–विरोधी पान्थियन (प्राचीन रोमन विचार)को अनुभव र जगमा आधारित भनेर वर्णन गरिएको क्याटलग प्रदर्शन गर्न एउटा स्टल दिएको भन्दै लेखकहरूले विरोध जनाएका हुन् ।
यसबारे चिन्ता व्यक्त गर्नेहरूमध्ये एक एन्टोनियो स्चुराटी पनि हुन् । उनले बेनिटो मुसोलिनीका बारेमा एउटा ऐतिहासिक उपन्यास लेखेर चर्चा बटुलेका थिए ।
फ्लोरेन्समा मूल कार्यालय रहेको पासागियो अल बोस्को नामक प्रकाशन संस्था सन् २०१७ मा स्थापना भएको थियो । त्यसयता फासीवादलाई हौस्याउने तीन सयभन्दा बढी पुस्तक प्रकाशन गरिसकेको छ ।
आउँदो जनवरीमा, यसले अष्ट्रियाली विचारधारा मार्टिन सेल्नरको ‘रिमाइग्रेसन’को अनुवाद जारी गर्ने भएको छ । सो पुस्तकले नागरिकताको स्थितिलाई परवाह नगरी युरोपेली समाजमा छरपष्ट रहेका अन्य नश्लका व्यक्तिहरूलाई जबर्जस्ती निकाला गर्न वकालत गरेको छ । भनाइको मतलब, पुस्तौंदेखि युरोपमा बसोबास गरिरहेको व्यक्ति भए पनि तिनको नश्लका आधारमा युरोपबाट निकाल्नेबारे सो पुस्तकले राजनीतिज्ञहरूलाई आइडिया दिएको छ ।
यस्ता पुस्तकहरू प्रकाशन गरेर युरोपमा वैचारिक खलबली निम्त्याउनेहरूका विरूद्ध एक हुन ढिला भइसकेको भन्दै लेखकहरूले भनेका छन्, ‘यी र यस्ता किताबहरू कुनै अध्ययन वा अनुसन्धान गर्न वा ऐतिहासिक घटना वा अवधिहरूको अध्ययन गर्नका लागि डिजाइन गरिएका होइनन् । बरु युरोपेली फासीवादलाई क्षमा गर्दै फेरि त्यस्तै समय फिर्ता ल्याउने एउटा परियोजना हो ।’
इटाली प्रकाशक संघका अध्यक्ष इनोसेन्जो सिपोलेट्टाले पासागियो अल बोस्कोको विरोध बढ्दै गएपछि अतिवादी प्रकाशकको उपस्थितिबारे बचाउ गरेका छन् । उनले तिनलाई स्टल दिनुमा विशुद्ध व्यवसायिक क्रियाकलाप भएको बताउँदै भनेका छन्, ‘हामीले अगाडि नै ती प्रकाशकलाई ठाउँ दिनुको कुनै ठूलो रहस्य छैन । यो फस्ट कम फस्ट गेटको आधारमा दिएका हौं ।’
अतिवादी विचारका प्रकाशकलाई उनीहरूको विचारका आधारमा रोक्ने भन्दा पनि सबै प्रकारका विचारका लागि ठाउँ दिनुपर्ने उनले बताएका छन् ।
सिपोलेट्टाले भने, ‘हामीले सधैं सेन्सरसिप र प्रकाशकहरूको अभिव्यक्ति स्वतन्त्रतामाथि हुने आक्रमणको विरुद्धमा बोलेका छौं । पुस्तक मेला बच्नुपर्छ, यो भव्य हुनुपर्छ र सबैका लागि खुला हुनुपर्छ । चाहे त्यो ठाउँका बारेमा होस् या विचारहरूको अभिव्यक्तिमा, हामीलाई मन नपर्ने विचार भए पनि तिनले ठाउँ पाउनुपर्नेमा हामी विश्वास गर्छौं ।’
पासागियो अल बोस्को कम्पनीले भनेको छ, ‘पुस्तक मेलाहरू निष्पक्ष हुन्छन् । हामीले पाँच वर्षदेखि त्यहाँ भाग लिन पर्खिरहेका थियौं, अन्ततः ठाउँ पाउन धैर्य भएर पर्खियौं र अन्ततः त्यो ठाउँ पनि पायौं ।’
आलोचकहरूले पासागियो अल बोस्कोलाई मेलामा सामेल हुन दिएकोमा, अन्य दुई कट्टर–दक्षिणपन्थी प्रकाशन गृहहरूका लागि पनि ठाउँ दिइएकामा पनि विरोध भइरहेको छ । यी सबैले इटालीमा फासीवादलाई पुनस्र्थापना गर्न सजिलो पारिएकामा स्थापित लेखकहरूको आक्रोश छ ।
इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको पार्टी ब्रदर्स अफ इटालीको जरो खोज्दै गयो भने नवफासीवादका जराहरू भेटिन्छन् । यो पार्टी सत्तामा आएदेखि फासीवादको वैधानिकता बढ्दै गएकोमा धेरैको चिन्ता छ । त्यसैले पनि केही लोकप्रिय लेखकहरू, कार्टुनिस्ट र ग्राफिक उपन्यासकारहरूले पासागियो अल बोस्कोको सहभागिताको विरोध जनाउँदै मेलामा सहभागी हुन अस्वीकार गरेका हुन् ।
रोमको ला सापिएन्जा विश्वविद्यालयका समकालीन युरोपेली इतिहासका प्राध्यापक आन्द्रेया माम्मोनेले भने, ‘फासीवादको प्रचार गर्ने प्रकाशकहरूलाई ठाउँ दिने छनोटले मलाई र सबैलाई चकित र स्तब्ध पारेको छ । यो इटालियन फासीवादको वैधानिकताको परिणाम हो ।’