नेभिगेशन
राजनीति
एमाले ११औं महाधिवेशन

ओलीको ‘ह्याट्रिक’ चाहनामा ईश्वरको चुनौती

अध्यक्ष १ का लागि २, महासचिव १ का लागि २ जनाको उम्मेदवारी, ५ उपाध्यक्षका लागि ११ जना, ३ उपमहासचिवका लागि ७ जना र ९ सचिवका लागि २० जनाको उम्मेदवारी दर्ता

काठमाडौं । एमालेको पार्टी अध्यक्षमा ह्याट्रिक गर्ने केपी ओलीको चाहनामा ईश्वर पोखरेलले चुनौती दिएका छन् । पार्टीको जारी ११औं महाधिवेशनमा ओली र पोखरेल दुवैले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । पदमा दाबी नछाड्न विधानका व्यवस्था जबर्जस्ती संशोधन गरेर आफू अनुकूल बनाएपछि पुराना केही नेताले ओलीको साथ छाडेका छन् । यसले गर्दा उनलाई जारी अधिवेशन अघिल्लाजस्तो आफू र आफ्ना पक्ष अनकूल बनाउन निकै गाह्रो परेको छ । ओली र पोखरेल दुवैको छुट्टाछुट्टै प्यानल छ ।

एमालेको केन्द्रीय निर्वाचन आयोगका अनुसार सोमबारको निर्धारित समयावधिमा पार्टी अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी परेको छ । ओलीले पार्टी अध्यक्षमा तेस्रो कार्यकालका लागि उम्मेदवारी दिएका हुन् भने वरिष्ठ उपाध्यक्ष पोखरेलले नेतृत्वमा आउन चाहेका हुन् । मतदान मंगलबार हुनेछ ।

महासचिवमा शंकर पोखरेलले पुनः उम्मेदवारी दिएका छन् । ओलीे समूहका उनी हाल पार्टीका महासचिव नै हुन् । पोखरेल समूहबाट उपाध्यक्ष सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार छन् । नवौं महाधिवेशनमा उपमहासचिव पराजित पोखरेललाई १०औं महाधिवेशनपछि ओलीले महासचिव बनाएका थिए । प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई रोकेर ओलीले पोखरेललाई नै यसपटक पनि आफ्नो समूहबाट महासचिवमा अघि सारेका छन् ।

उपाध्यक्ष बन्ने ओली प्रस्ताव अस्वीकार गरेका ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् भने गुरुङ ओली समूहबाटै उपाध्यक्षको उम्मेदवार बनेका छन् ।

आकांक्षी व्यवस्थापनमा ओली समूहबाट केही नेता बाहिरिएपछि पोखरेल समूह उत्साहित देखिएको छ । ओली पक्षधरले माहोल आफ्नो पक्षमा रहेको दाबी गर्दै पोखरेललाई ठूलो चुनौती नठानेको दाबी गरेका छन् । ओली निकट एमाले नेता राजन भट्टराईले भने, ‘बन्दसत्र हलको माहोल हेर्दा अहिले पार्टी नेतृत्वमा केपी ओलीको आवश्यकता छ भन्ने प्रतिनिधिहरूको धारणा बलियो देख्छु। प्रतिस्पर्धा त्यस्तो धेरै देखिँदैन ।’

ओली पार्टीको नवौं महाधिवेशनबाट पहिलोपटक अध्यक्ष बन्दा ईश्वर पोखरेल महासचिव भएका थिए भने ओली दोस्रोपटक अध्यक्ष बन्दा वरिष्ठ उपाध्यक्ष बनेका थिए । ११ वर्षअघि भृकुटीमण्डपमै ओली नेतृत्वको केन्द्रीय कमिटीको महासचिवका रुपमा बनेको ओली– पोखरेल गठबन्धन अहिले प्रतिस्पर्धीका रुपमा फेरिएको छ । ओलीको तेस्रोपटक सर्वसम्मत अध्यक्ष बन्ने चाहनामा पोखरेल बाधक बनेका छन् । ओलीलाई यसपटक पराजित गरेरै छाड्ने तयारीमा पोखरेल समूह जुट्दा आफ्नो ‘ह्याट्रिक’ गर्ने चाहना पूरा गर्न ओली पनि कस्सिएका छन् ।

०७१ साउन १ मा भृकुटीमण्डपमा सम्पन्न नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई ४४ मतले पराजित गर्दै ओली अध्यक्ष बनेका थिए । ०७८ मंसिर १४औं चितवनमा सम्पन्न १०औं महाधिवेशनमा ओलीलाई अध्यक्षमा भीम रावलले चुनौती दिएका थिए । हाल नेपाल र रावल दुवै एमालेमा छैनन् । एमालेको गत भदौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारीको संख्या १९ बाट घटाएर १५ मा झार्ने र ३ सय १ सदस्यीय केन्द्रीय समितिको आकार घटाएर २ सय ५१ सदस्यीय बनाउने निर्णय गरेको थियो ।

तर, आफ्नो समूहमा आकांक्षी बढी भएपछि व्यवस्थापन गर्न ओलीले आइतबार पदाधिकारी संख्या १९ र केन्द्रीय कमिटीको आकार ३ सय १ सदस्यीय नै कायम राख्ने गरी विधान संशोधन प्रस्ताव पारित गराएका थिए । संशोधित विधानअनुसार एमालेमा पदाधिकारीमा १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ९ जना सचिव रहने छन् ।

निकटले नै छाडे ओलीको साथ

आफ्नो समूह बलियो बनाउन अध्यक्ष ओलीले पोखरेल समूहको असहमतिकै बीच आइतबार पदाधिकारीको संख्या बढाएको भए पनि आकांक्षी व्यवस्थापन गर्न असफल भएका छन् । साथ दिँदै आएकाहरूले असहमति राखेर छाडेपछि ओलीका लागि चुनौती थपिएको छ ।

महासचिवका आकांक्षी प्रदीप ज्ञवालीले साथ नछाडेको भए पनि ओलीसँग चित्त दुखाएका छन् । महासचिवको उम्मेदवार बन्न नपाएपछि उपमहासचिव ज्ञवालीले उपाध्यक्ष बन्ने ओलीको प्रस्ताव अस्वीकार गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

आफूले चाहेको पदमा उम्मेदवार बन्न नपाउँदा केहीले भने ओलीको साथ छाडेर गएका छन् । ओलीलाई ‘फुटबलको पेलेजस्तै’ भन्दै आएका कृष्णगोपाल श्रेष्ठ पोखरेल टिमबाट सचिवको उम्मेदवार बनेका छन् भने ओलीनिकट रघुजी पन्तले उपाध्यक्ष र अग्नि खरेलले सचिवमा ‘स्वतन्त्र’ उम्मेदवारी दर्ता गराएका छन् । पन्त र खरेल दुवै ओली समूहबाट उपाध्यक्ष र सचिवका आकांक्षी थिए । जेनजी विद्रोहअघि ओलीले आफू नेतृत्वको सरकारमा खरेललाई विज्ञ सल्लाहकार र पन्तलाई शिक्षामन्त्री बनाएका थिए । पोखरेल पक्ष ओलीबाट असन्तुष्टहरूलाई समेट्ने प्रयासमा छ ।

संस्थापनकै प्यानलमा केन्द्रीय सदस्यमा राखिएका लालबाबु पण्डितले पनि चित्त बुझाएनन् । उनले सचिवमा उम्मेदवारी दिए । ओली प्यानलमा केन्द्रीय सदस्य राखिएका भीम आचार्यले पनि चित्त बुझाएनन् । उनले प्यानलबाट निस्किएर उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

ओली प्यानलमा नपरेपछि आनन्द पोखरेल ईश्वर पोखरेलतिर लागेका छन् । उनले उपमहासचिवमा उम्मेदवारी दिएका छन् ।

ओली निकट एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि पनि उनको साथ छाडेका छन् । ओली समुहबाट सचिवको आकांक्षा राखेका गौतमले उपमहासचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।

संस्थापन पक्षले अनुशासन आयोगको अध्यक्षमा प्रस्तावित गरेका काशीराज अधिकारीले उम्मेदवारी नै नदिने भएका छन् । नयाँलाई पालो दिनुपर्ने भन्दै उनले उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

ओली र पोखरेलको राजनीतिक यात्रा

ओली ०२३ सालमा माक्र्सवादी अध्ययन दलमा संगठित हुँदै ०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएका थिए । ०२७ सालमा चर्चित झापा विद्रोहमा सहभागी ओलीले ०३० देखि ०४४ सालसम्म जेलजीवन बिताए । २०४४ पुसमा तत्कालीन नेकपा (माले) को केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी हुँदै २०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी पाएका थिए । २०४७ जेठ १ गते तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालका संस्थापक अध्यक्ष भएका ओली २०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा (एमाले) स्थायी कमिटी सदस्य भए । उनले पटक–पटक गरी ५ वर्ष ३ महिना प्रधानमन्त्री बने ।

त्यस्तै, अध्यक्षका उम्मेदवार पोखरेल राजनीतिमा लागेको ५० वर्ष भएको छ । उनी ०३२ सालमा नेपाल कम्युनिस्ट पार्टीका पूर्णकालीन सदस्य भएका हुन् । ०३३ सालमा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी ‘समन्वय समिति केन्द्र’को संस्थापक सदस्य, ०३५ सालमा नेकपा मालेका संस्थापक केन्द्रीय सदस्य बने । महासचिव सीपी मैनालीलाई साथ दिएका पोखरेलले २०३९ सालमा झलनाथ खनाललाई साथ दिए । मैनालीलाई हटाएर खनाल महासचिव भएका थिए । २०४६ सालमा भएको चौथो महाधिवेशनमा महासचिवमा मदन भण्डारी निर्वाचित भए । त्यतिबेला पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित भए ।

०४७ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) मिलेर नेकपा एमाले बन्यो । एकीकृत पार्टीको पनि उनी केन्द्रीय सदस्य बने । निरन्तर केन्द्रीय नेतृत्वमा रहेका पोखरेल ०६५ सालमा सम्पन्न आठौं महाधिवेशनमा झलनाथ खनाल अध्यक्ष निर्वाचित हुँदा महासचिव निर्वाचित भए । पोखरेल १०औं महाधिवेशनपछि वरिष्ठ उपाध्यक्ष बने ।

पोखरेल ०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा उनका राजनीतिक सल्लाहकार थिए । ०६१ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका उनी ०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा १२ दिन उपप्रधानमन्त्री भए । ०७४ सालमा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री बने । उनी २०७० र २०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ बाट लगातार पराजित भए । संसदीय राजनीतिमा बेहोरेको पराजयले पार्टी राजनीतिमा शक्ति गुमाएका पोखरेल अहिले पूर्वउपाध्यक्ष विद्या भण्डारीले साथ दिएप्छि अध्यक्षमा प्रतिस्पर्धामा उत्रिएका छन् ।

अध्यक्षपछि एमालेमा महासचिवको पद शक्तिशाली मानिन्छ । जसमा सुरेन्द्र पाण्डे र शंकर पोखरेल प्रतिस्पर्धामा छन् । नेतृत्वको बचाउ गर्ने र आलोचना नगर्ने नेताका रुपमा पोखरेल पार्टीभित्र परिचित छन् भने पाण्डे नेतृत्वले गलत गर्दा आलोचना गर्ने र लागेको कुरा खुलेर गर्ने नेताका रुपमा चिनिन्छन् । पाण्डे लामो समय माधव नेपाल नजिक रहे भने पोखरेल आठौं महाधिवेशनदेखि नै ओली निकट छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्