नेभिगेशन
मनोरञ्जन

बलिउडमा नोस्टाल्जियाको लहर

केही वर्षअघिसम्म नयाँ विषय, फरक प्रयोग र ओटीटीतर्फ मोडिएको बलिउड अहिले फेरि आफ्नै पुराना सफल ब्रान्डतर्फ फर्किंदैछ । दर्शक हलमा फर्काउने दबाब, लगानी उठाउन जोखिम कम गर्ने चाहना र विगतका हिट फिल्मप्रति दर्शकको भावनात्मक लगावले गर्दा ‘नोस्टाल्जिया’का विषय बलिउडका सिनेकर्मीको रोजाइमा परिरहेको छ । पछिल्ला दिनमा चर्चामा रहेका अधिकांश ठूला प्रोजेक्टहरू पुराना लोकप्रिय फिल्मका नयाँ भाग, रिमेक वा रिबुट गरिएका छन् ।

यो सूचीमा ‘हेरा फेरी–३’ निकै नै चर्चामा छ । सन् २००० मा आएको ‘हेरा फेरी’ र २००६ को ‘फिर हेरा फेरी’ ले हास्य सिनेमा नयाँ उचाइमा पुर्‍याएका थिए । बाबुराव गणपत राव आप्टे, राजु र श्यामजस्ता पात्रको अभिनय अझै पनि दर्शकको स्मृतिमा ताजा छ । नयाँ भागमा अक्षय कुमार, सुनील शेट्टी र परेश रावल फेरि एकैसाथ देखिने तयारी छ । निर्देशनमा प्रियदर्शन फर्किने चर्चा छ भने निर्माता फेरि फिरोज नाडियाडवाला हुने बताइन्छ । पुराना फिल्मले बक्स अफिसमा उत्कृष्ट व्यापार गरेका थिए । फिल्मी टेलिभिजन च्यानलहरूले पुनःप्रसारण गरिरहँदा पनि निरन्तर लोकप्रियता कायम राखेको छ । यही कारण तेस्रो भागले पनि राम्रो ओपनिङ गर्ने अपेक्षा छ तर बदलिएको हास्य स्वादसँग फिल्मले कति तालमेल गर्छ भन्ने चुनौती रहनेछ ।

यस्तै ‘वेलकम ३’ पनि निर्माण प्रक्रियामा छ । २००७ को ‘वेलकम’ र २०१५ को ‘वेलकम ब्याक’ ले राम्रो व्यावसायिक सफलता पाएका थिए । अनिल कपूर र नाना पाटेकरको कमेडी टाइमिङ, अक्षय कुमारको उपस्थिति र रंगीन पात्रहरूले फिल्मलाई हिट बनाएको थियो । नयाँ भागमा कलाकारमा केही परिवर्तन देखिनेछ । अक्षय कुमारको स्थानमा नयाँ अनुहार आउन सक्ने चर्चा छ भने अनिल कपूर र नाना पाटेकरलाई निरन्तरता दिने प्रयास भइरहेको छ । निर्माता फिरोज नाडियाडवालाकै ब्यानर भए पनि निर्देशन फरक हुन सक्ने संकेत छ । अघिल्ला भागको जस्तै हल्काफुल्का कथा र संवादले अहिलेको दर्शकलाई कति तान्ला भन्ने प्रश्न खुलै छ ।

देशभक्तिपूर्ण भावनामा बनेको ‘बोर्डर’ पनि सिक्वेलमार्फत फर्किंदै छ । १९९७ को ‘बोर्डर’ जेपी दत्ताको निर्देशनमा बनेको थियो र सन्नी देओल, सुनील शेट्टी, अक्षय खन्नाजस्ता कलाकारले फिल्मलाई ऐतिहासिक बनाएका थिए । भारत–पाक युद्धको कथामा आधारित फिल्मले त्यतिबेला बक्स अफिसमा मात्र होइन, सांस्कृतिक रूपमा पनि ठूलो प्रभाव पारेको थियो । ‘बोर्डर २’ मा सन्नी देओलको उपस्थिति रहने निश्चित जस्तै छ, तर बाँकी कलाकार नयाँ पुस्ताका हुनेछन् । निर्देशन सम्भवतः जेपी दत्ताको परिवारबाटै आउनेछ । देशभक्तिपूर्ण फिल्मप्रति अहिले पनि दर्शकको आकर्षण भएकाले फिल्मले राम्रो व्यापार गर्ने अनुमान गरिन्छ, तर पहिलो भागको जस्तो प्रभाव दोहोर्‍याउनु सजिलो छैन ।

‘मुन्ना भाइ ३’ पनि लामो समयदेखि प्रतीक्षामा छ । ‘मुन्ना भाइ एमबीबीएस’ र ‘लगे रहो मुन्ना भाइ’ ले हास्यसँगै सामाजिक सन्देश दिने नयाँ धार बनाएका थिए । उक्त फिल्मका मुन्ना बनेका संजय दत्त र सर्किट बनेका अर्शद वारसीको जोडी आज पनि दर्शकको स्मृतिमा छन् । निर्माता विधु विनोद चोपडा र निर्देशक राजकुमार हिरानीले कथामा समय लिएर काम गर्ने भएकाले तेस्रो भाग ढिलो भएको बताइन्छ । पुराना फिल्मले समीक्षक र दर्शक दुवैबाट प्रशंसा पाएका थिए र व्यापार पनि उत्कृष्ट थियो । अहिले पनि यदि सामाजिक व्यंग्यलाई समयअनुसार ढाल्न सके, ‘मुन्ना भाइ ३’ ले बलिउडलाई ठूलो हिट दिन सक्छ ।

यसैगरी ‘धमाल ४’, ‘गोलमाल ५’ जस्ता कमेडी फ्रेन्चाइज पनि चर्चामा छन् । अजय देवगन र रोहित शेट्टीको ‘गोलमाल’ शृंखलाले लगातार राम्रो व्यापार गरेको इतिहास छ । कलाकारमा केही फेरबदल भए पनि अजय देवगन, तुषार कपूर र अरशद वारसीजस्ता अनुहार निरन्तर देखिँदै आएका छन् । ‘धमाल’ मा पनि अजय देवगन, रितेश देशमुख र अरशद वारसीको समूह फेरि दोहोरिने सम्भावना छ । यी फिल्मको बलियो पक्ष भनेकै ब्राण्ड र पहिचान हो । नोस्टाल्जियाको यो लहर बलिउडका लागि सुरक्षित बाटो जस्तो देखिए पनि जोखिमरहित भने होइन । आजको दर्शक केवल पुराना पात्र देखेर मात्र सन्तुष्ट हुँदैन । कथा, पटकथा र प्रस्तुति समयअनुसार परिमार्जन हुनुपर्छ । पुराना फिल्महरू आफ्नो समयमा नयाँ र ताजा थिए, त्यसैले हिट भए । नयाँ भागहरूले पनि त्यही ताजगी दिन सके मात्र सफलता सम्भव छ ।

यद्यपि, ओटीटीको विस्तार र हलमा दर्शक फर्काउने चुनौतीका बीच बलिउडले पुराना हिट ब्रान्डमा लगानी गर्नु स्वाभाविक रणनीति हो । सही सन्तुलन मिलाउन सके, नोस्टाल्जियाले मात्र होइन, नयाँ पुस्ताको रुचिले पनि यी फिल्मलाई सफल बनाउन सक्छ । तर बलिउडले विगतको सफलतालाई दोहोर्‍याउने मात्र हो कि त्यसलाई नयाँ उचाइमा पुर्‍याउने हो भन्ने उत्तर आगामी रिलिजहरूले नै दिनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन