नेभिगेशन
राजनीति

नारा परिवर्तनको, पार्टी ६० प्लसको !

एमाले नेतृत्वमा पुस्तान्तरणको छैन संकेत

काठमाडौं । महाधिवेशनमा भएको निर्वाचनको नतिजा बिहीबार दिउँसोसम्म आउँदा एमालेको केन्द्रीय कमिटीका अनुहारहरू देखेर कसैले अचम्म मान्नु पर्दैन । किनभने अनुहार तिनै– तिनै हुनेछन्, जो पहिलेदेखि पार्टीमा प्रभावशाली छन् ।

त्यो दल हो जसलाई जेनजी आन्दोलनले सत्ताबाट हटाएर मुलुकमा मध्यावधि निर्वाचन गराउने परिस्थिति आयो । सत्ताच्युतपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीका अनेक तर्क छन्, यथार्थ के हो भने उनले सरकार चलाउन नसकेकै हुन् । सुरक्षा संयन्त्रसँग सम्पर्क, समन्वय गर्न नसकेर प्रधानमन्त्रीमा असफल भएका हुन् ओली । राज्यको गोलीले १९ जना युवा मारिँदा पनि सहानुभूति र संवेदना देखाउन नसकेर राजीनामा दिएर ज्यान जोगाउन लुक्नुपर्ने परिस्थिति बेहोरेका उनी सत्ता राजनीतिमा ‘आउटडेटेड’ भए पनि पार्टीमा भने हालीमुहाली घटेको छैन ।

ओलीका विषयमा बहसका अनेक विषय छन्, एमाले नै पुराना पुस्ता बहुल देखिएको छ । केन्द्रीय कमिटीका प्रमुख पदमा युवाले ठाउँ पाउनै गाह्रो देखिएको छ । पाकाले आराम गत, नयाँ पुरस्तालाई मौका देउ भन्ने जेनजी विद्रोहको सन्देशलाई एमाले महाधिवेशनले बेवास्ता गरेको उम्मेदवारको सूचीले देखाएको छ ।

पार्टीको निर्णायक ’ओहोदा’ मा पुग्न तँछाड मछाड गर्ने उम्मेदवारहरूको उमेर हेर्दा एमालेमा अझै पनि पुरानै पुस्ताको बलियो पकड स्पष्ट हुन्छ । एमालेको १९ पदाधिकारी पदका लागि कुल ४१ जना चुनावी मैदानमा छन् । यी उम्मेदवारहरूको उमेर विश्लेषण गर्दा पार्टीको नीति निर्माण गर्ने माथिल्लो तहमा युवाहरूको प्रतिनिधित्व नाम मात्रको छ । ४१ उम्मेदवारमध्ये २८ जना त ६० वर्षभन्दा माथिका छन् । यो तथ्यांकले एमाले नेतृत्वमा उमेरको ऊर्जाभन्दा अनुभव र पुरानै अनुहारलाई प्राथमिकता दिइएको पुष्टि गर्छ ।

पार्टीको सर्वोच्च पद अध्यक्षका लागि ७४ वर्षीय केपी शर्मा ओली र ७२ वर्षीय ईश्वर पोखरेलबीचको प्रतिस्पर्धा छ । उपाध्यक्षका ११ उम्मेदवारमध्ये ८ जना ६५ वर्षभन्दा माथिका छन्, जसमा ७०/७० वर्षका टंकप्रसाद कार्की र रामबहादुर थापा ’बादल’ समेत युवा पुस्तालाई चुनौती दिइरहेका छन् । उपाध्यक्षमा सबैभन्दा कम उमेरकी डा. विन्दा पाण्डे पनि ५९ वर्षकी भइसकेकी छन् ।

उपाध्यक्षका उम्मेदवारमा पृथ्वीसुब्बा गुरुङ, परशुराम मेघी गुरुङ, गुरुप्रसाद बराल, रघुजी पन्त ६८ वर्षका छन् ।

शक्तिशाली मानिने महासचिव पदका दुवै उम्मेदवार ६० वर्ष नाघेका छन् । ६३ वर्षीय शंकर पोखरेल र ६७ वर्षीय सुरेन्द्र पाण्डेबीचको यो प्रतिस्पर्धाले पार्टीको कार्यकारी भूमिकामा पनि युवाहरूको पहुँच पुग्न नसकेको संकेत गर्छ ।

त्यस्तै, ३ पदका लागि ६ जना भिडिरहेको उपमहासचिवमा सबै उम्मेदवार ६० वर्ष आसपासका छन् । यहाँ सबैभन्दा कान्छा उम्मेदवार ५९ वर्षीय योगेश भट्टराई छन् ।

सचिवमा झिनो आशा, तैपनि बाहुल्य पाकाकै

९ पदका लागि २० जना चुनावी मैदानमा रहेको सचिव पदमा केही विविधता देखिए पनि त्यहाँ पनि ४१ वर्षकी रचना खड्का र ५१ वर्षीय महेश बस्नेतबाहेक अधिकांश उम्मेदवार ६० वर्ष हाराहारीका छन् । सचिवका उम्मेदवारहरूमा पनि ६७/६७ वर्षका लालबाबु पण्डित र कृष्णगोपाल श्रेष्ठजस्ता पाका नेताहरू नै प्रतिस्पर्धामा छन् । सचिवकै प्रतिष्पर्धामा ६५ वर्षका अग्नि खरेल, ६४ वर्षका खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, ६३ वर्षका छविललाल विश्वकर्मा छन् ।

एमालेको यो महाधिवेशनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने भन्दा पनि पुरानै विरासतलाई निरन्तरता दिने संकेत गरेको छ । भ्रष्टाचारविरुद्ध र परिवर्तनका लागि सडकमा उर्लिएको युवा आवाजलाई उपेक्षा गर्दै एमालेका निर्णायक पदहरूमा अझै पनि ‘६० प्लस’ कै हालीमुहाली रहने निश्चित देखिएको छ । निर्वाचनको परिणामले को–को नयाँ अनुहार ल्याउला त्यो प्रतीक्षाकै विषय छ, तर उम्मेदवारको यो नामावलीले एमालेभित्रको उमेरको खाडललाई भने छर्लंग पारेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्