नेभिगेशन
राजनीति

सरकारविरुद्ध अझ आक्रामक

‘एमाले नेतृत्वलाई छोएको दिन देश ठप्प हुन्छ, सरकार ढल्छ’

पुनःनिर्वाचित अध्यक्ष केपी शर्मा ओली सरकारविरुद्ध आक्रामक देखिएका छन् । निर्वाचित भएलगत्तै महाधिवेशन समापन समारोहमा उनी सरकार र जाँचबुझ आयोगविरुद्ध आक्रोसित देखिए । उनले सरकार गठन र संसद् विघटन असंवैधानिक रहेको पनि दोहोर्‍याए । उनले आफूहरूले शान्ति चाहँदा खलबल्याउने प्रयास भए एमालेले शान्ति स्थापना गर्नैपर्ने बताए । निर्वाचिन भएपछि पार्टीलाई सम्बोधन गर्दै ओलीले सरकार–जेनजी सम्झौतामाथि आपत्ति जनाउँदै सम्झौता कलाविहीन भद्दा नाटक भएको बताए । ‘यो सरकारसँग संविधानलाई चलाउने कुनै अधिकार छैन । सरकार र जेनजीबीचको सम्झौता लागू हुन सक्दैन । एमालेले लागू हुन दिँदैन । कि चुनावको तयारी गर, नत्र बाटो लाग्दा हुन्छ,’ उनले भने । सरकारले चुनावको नभइ जालझेल र षड्यन्त्रको तयारी गरिररहेको उनको आरोप थियो ।

उनले राज्यसंयन्त्रमाथि मात्रै भर पर्दा धोका पाउन सक्ने भन्दै टोलटोलमा सुरक्षा समिति बनाउन पनि कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । भदौ २४ गते धोका भएको उनको भनाइ छ । त्यस्तै, उनले एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्ने खतरा रहेको भन्दै त्यसका लागि पनि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । एमाले नेतृत्वमाथि भौतिक हमला भएको दिन देश ठप्प हुनुपर्ने र वर्तमान सरकार ढल्नुपर्ने बताए । ‘एमाले नेतृत्वमाथि मिडिया ट्रायल भइरहेको छ । अहिलेसम्म मिडिया प्रचार भयो, अब भौतिक हमला हुनसक्छ । पञ्चायतकालमा जस्तै जालसाजीका मुद्दामामिला चलाइन सक्छ,’ ओलीले भने, ‘एमाले नेतृत्वमाथि भौतिक हमला हुने सम्भावना पनि छ । भौतिक हमला भएको दिन यो देश ठप्प हुनुपर्छ । यो सरकार पनि ढल्नुपर्छ । त्यसका निम्ति तयार रहन निर्देशन दिन्छु।’

जेनजी आन्दोलनपछि बनेको जाँचबुझ आयोगले बयानका लागि आफूलाई बोलाउने थाहा पाएपछि ओलीको यस्तो अभिव्यक्ति आएको हो । उनले यसअघि नै आयोगमा बयान दिन नजाने बताउँदै आएका छन् । जेनजी आन्दोलनमा संलग्न केही समूहले ओलीलाई पक्राउ गर्नुपर्ने र मुद्दा चलाउनुपर्ने माग गरिररहेका छन् । त्यसतर्फ संकेत गर्दै ओलीले एमाले नेतृत्वमाथि छोए देश ठप्प पार्ने र सरकार ढाल्ने चेतावनी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्