नेभिगेशन
मनोरञ्जन

तालिबानले भत्कायो, सबैभन्दा पुरानो सिनेमा हल

अफगानिस्तानको तालिबान सरकारले राजधानी काबुलमा रहेको सबैभन्दा पुरानो सिनेमा हलमध्ये एक एरियाना सिनेमालाई भत्काइदिएको छ । काबुलमा तालिबानद्वारा सञ्चालित नगरपालिकाले ऐतिहासिक सिनेमा भवन भत्काउने काम सुरु गरेको छ र सो स्थानमा व्यावसायिक बजार निर्माण गर्ने योजना बनाएको छ । सामाजिक सञ्जालमा फैलिएका भिडियोहरूमा भारी मेसिनरी प्रयोग गरी संरचना भत्काइँदै गरेको देखिन्छ । पछिल्ला दुई दिनदेखि त्यहाँका भग्नावशेष हटाउने काम जारी रहेको छ । दशकौँ पुरानो इतिहास बोकेको एरियाना सिनेमा काबुलको दोस्रो पुरानो सिनेमा हल मानिन्थ्यो । अफगानिस्तानमा लामो समयसम्म चलेको द्वन्द्वका क्रममा यो सिनेमा हलले पटक–पटक क्षति बेहोरेको थियो । सन् १९९० को दशकको अन्त्यतिर भने तालिबानको पहिलो शासनकालमा यसलाई बन्द गरिएको थियो । अगस्ट २०२१ मा पुनः सत्तामा फर्किएपछि तालिबानले शुरुमा एरियाना सिनेमा हलमा एउटा फिल्म महोत्सव आयोजना गरेको थियो । महोत्सव सकिएपछि हल पूर्ण रूपमा बन्द थियो । त्यसयता बन्द रहेको सो भवन भत्काउने यो निर्णयलाई आलोचकहरूले अफगानिस्तानको सांस्कृतिक सम्पदामाथिको योजनाबद्ध आक्रमण भनी वर्णन गरेका छन् । यसअघि पनि तालिबानले काबुलको अर्को ऐतिहासिक सिनेमा खैर खाना सिनेमा हललाई भत्काइदिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन