फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीमाथि कानूनी जटिलता बढ्दै गएको बताइए पनि गत साता उनी सबैभन्दा बढी बिक्री हुने लेखकका रूपमा स्थापित भएका छन्।
हालैको जेल अनुभवको बारेमा हतारमा लेखिएको सार्कोजीको ‘डायरी अफ अ प्रिजनर’ (एक कैदीको डायरी) पुस्तकले एक हप्ताभन्दा कम समयमा एक लाखभन्दा बढी प्रति बिक्री भएको यस पुस्तकको प्रकाशकले बताएको छ ।
पूर्वराष्ट्रपति सार्कोजी उमेरका हिसाबले ७० वर्ष पुगेका छन् । उनले अक्टोबर– नोभेम्बरमा आफ्नो तीन हप्ताको जेल जीवनको अनुभवलाई उक्त पुस्तकमा उतारेका थिए ।
उनी अहिले उत्साही प्रशंसकहरूलाई स्वागत गर्न राष्ट्रव्यापी भ्रमणमा छन् ।
बजार अनुसन्धान समूह निल्सन आईक्यू जीएफकेको बिक्री तथ्याङ्कलाई उद्धृत गर्दै प्रकाशन गृह फयार्डले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको छ, ‘डायरी अफ अ प्रिजनर पुस्तक पसलहरूमा बिक्रीका लागि खुला गरिएको केही दिनमै अभूतपूर्व संख्यामा अर्थात् ९८ हजार ६१० प्रति बिक्री भएको छ !’
कुल २१६ पृष्ठको पुस्तकमा जेलको कोलाहलमा सार्कोजीको बसाई र जेलमा दिइने कम गुणस्तरको खानाका साथ सांसारिक संघर्षको वर्णन गरिएको छ । यसको उद्देश्य फ्रान्सेली जेलको यथार्थ चित्रणका साथै समसामयिक राजनीतिक सङ्घर्षका बारेमा पनि सन्देश दिनु रहेको विश्लेषकहरूले बताएका छन् ।
दक्षिणपन्थी रिपब्लिकन पार्टीका पूर्वप्रमुख सार्कोजीले पुस्तकमा उग्र दक्षिणपन्थी नेता मरिन ले पेनसँगको कुराकानीको खुलासा गर्दै परम्परागत दक्षिणपन्थी पार्टी र ले पेनको आप्रवासन विरोधी पार्टीबीच सम्भावित गठबन्धनको सङ्केत पनि गरेका छन् ।
उनले गठबन्धनको सङ्केत गर्दै पुस्तकमा लेखेका छन्, ‘अधिकारको पुनर्निर्माणको बाटो एकताको व्यापक सम्भावित भावनाको साथ बहिष्करण बिना र अभिशाप बिनामात्र सम्भव छ ।’
सार्कोजीलाई सन् २००७ मा लिबियाली तानाशाह मोहमर गद्दाफीसँग सन् २००७ मा राष्ट्रपति निर्वाचित भएको अभियानका लागि अवैध आर्थिक सहयोग मागेको आरोपमा सेप्टेम्बरमा दोषी ठहर गरिएको थियो।
उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो तर एक न्यायाधीशले उनलाई सर्तसहित रिहा गर्न आदेश दिएपछि २० दिन मात्र जेल जीवन बिताएका थिए । उनलाई पेरिसको ‘ला सान्टे’ जेलबाट रिहा गरिएको थियो ।
अवैध आर्थिक सहयोग मागेको आरोपबाहेक अन्य दुई मुद्दाहरूमा पनि उनलाई दोषी ठहराइएको छ ।
लिबियाको चुनावी अभियानको आर्थिक सहयोग मुद्दामा एक प्रमुख अभियोजन साक्षीलाई घुस दिन खोजेको अभियोगमा अर्को सम्भावित मुद्दा उनी र उनकी पत्नी कार्ला ब्रुनीमाथि लगाइएको छ ।
यद्यपि, पूर्वराष्ट्रपति र पत्नी ब्रुनीले सबै मुद्दाको खण्डन गर्दै आएकी छन् । सार्कोजी सत्तामा रहँदा सफल कार्यकाल पूरा गरेका थिए । पछि उनी प्रभावशाली दक्षिणपन्थी राजनीतिक खेलाडीका रूपमा उदाए । यतिबेला भने उनको संस्मरणात्मक पुस्तकका कारण लेखनमा सम्भावना भएका राजनीतिज्ञका रूपमा समेत उदाएका छन् ।
फ्रान्सेलीहरू त्यसै पनि रोमान्टिक हुन्छन् । उनको छवि सबैभन्दा रोमान्टिक राष्ट्रपतिका रूपमा बन्न पुगेको थियो ।