गत असोज र कात्तिकमा उत्साहजनक देखिएको नेपाली चलचित्रको व्यापार मंसिरमा भने कमजोर देखिएको छ ।
चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ मा पुस ५ गतेसम्म रहेको तथ्याङ्कअनुसार मंसिरमा प्रदर्शन भएका चलचित्रको व्यापार सुखद छैन । मंसिर १२ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘हर्ष’ ले गत पुस ५ गतेसम्म रु २८ लाख ७८ हजार ५३६ मात्र कमाइ गरेको छ ।
एकता पौडेलले निर्देशन गरेको चलचित्र ‘हर्ष’का लागि जम्मा आठ हजार ८६६ वटा टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा खगेन्द्र लामिछाने, सन्तोष पन्त, नीर शाह, वर्षा राउतलगायत कलाकारले अभिनय गरेका छन् ।
मंसिर १८ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘अभिमन्यू’ ले सोही अवधिसम्म रु २१ लाख ४८ हजार ७०२ कमाइ गरेको छ । सुशान्त गौतमले निर्देशन गर्नुभएको उक्त चलचित्रको छ हजार ८५० वटा टिकट बिक्री भएका छन् ।
चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरी लगायतका कलाकारले अभिनय गरेका छन् । ‘पूर्णबहादुरको सारङ्गी’ जस्तो ऐतिहासिक सफल चलचित्र निर्माण गर्नुभएका निर्माता विनोद पौडेलले निर्माण गरेको दोस्रो चलचित्र व्यावसायिक रूपमा असफल देखिएको छ ।
मंसिर २६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘पीआर’ ले सोही अवधिमा रु छ लाख ६८ हजार ६३३ कमाइ गरेको छ । उक्त चलचित्रको कूल दुई हजार १०९ वटा टिकट बिक्री भएका छन् । शोभित बस्नेतले निर्देशन गरेको उक्त चलचित्रमा सुरज पौडेल, विनिता कार्की, नीर शाह, गौरी मल्ललगायत कलाकारले अभिनय गरेका छन् ।
मंसिर २६ मा प्रदर्शन भएको चलचित्र ‘लोकन्ती’ ले रु चार लाख एक हजार ३४० र ‘चिराग’ ले रु ६८ हजार ४५० कमाइ गरेको तथ्याङ्क ‘सिनेपा २ बक्सअफिस’ मा उल्लेख छ । उल्लेखित कमाइ गएको पुस ५ गते बेलुकी ११ः५९ मिनेटसम्म नेपालभर भएको हो ।
‘विगतलाई हेर्दा पनि मंसिर र पुसमा प्रदर्शन भएका चलचित्रले व्यावसायिक रूपमा नयाँ रेकर्ड बनाउने गरेका छैनन्,’ नेपाली फिल्मका वितरक करण श्रेष्ठ भन्छन्, ‘यद्यपि माघदेखिको समय भने राम्रो मानिन्छ । किनकि चिसो कम हुने भएकाले नेपाली चलचित्रका निर्माताले उक्त समयलाई चलचित्र प्रदर्शन गर्न उपयुक्त मान्ने गरेका छन् । कथावस्तुले आकर्षित गरे चलचित्रको व्यापार आफैँ बढ्छ ।
तर यसै अवधिमा रिलिज भएको भारतीय फिल्म ‘धुरन्धर’ र हलिउडको ‘अवतार’ ले भने यतिबेला राम्रो व्यापार गरिरहेको प्रदर्शकहरूको भनाइ छ ।
‘हर्ष’का कलाकार खगेन्द्र लामिछाने भने दर्शकहरूलाई के मन पर्छ यसै भन्न नसकिने बताउँछन् । ‘अवतार’को सिक्वेल ‘फायर एन्ड एश’ हेरेर निस्कदै गर्दा उनले भने, ‘नेपाली फिल्मको मार्केटिङ चाहिँ उपयुक्त भएन कि भन्ने लागिरहेको छ ।’
‘अवतार’ले राम्रो दर्शक पाएको देख्दा उनले भने, ‘यसका अघिल्ला सिक्वेलहरूको प्रभावका कारणले पनि दर्शक राम्रो पाएको हुनसक्छ ।’
उनले ‘धुरन्धर’ले पहिला नेपालमा उति राम्रो व्यापार गर्न नसकेको भए पनि भारतमा चर्चा चल्न थालेपछि यहाँ पनि राम्रो चलेको बताए ।

यसबीच मंसिरभरि नै नेपाली फिल्मले राम्रो शो पाए पनि दर्शक नपाउनुमा ‘एकै किसिमको पारिवारिक कथा’ले दर्शकलाई उच्चाट लागेको हुनसक्ने कलाकार लामिछाने बताउँछन् । उनले भने, ‘यतिबेला नेपाली फिल्मको ट्रेन्ड हेर्दा सोसल ड्रामा नै बढी आइरहेको छ, कतै दर्शकलाई मोनोटोनस पो भएको हो कि ?’
त्यसो त फरक कथा र प्रस्तुति रहेको ‘अभिमन्यू’ पनि अपेक्षाअनुसार व्यापार गर्न असफल रहयो । उनकै फिल्म ‘हर्ष’ले पनि शुरुमा राम्रो शोहरू पाए पनि दर्शक घट्दै गएको पाए । ‘मलाई दर्शकहरूले मन बाँध्ने कथा रहेछ भनेर प्रतिक्रिया दिनु भएको थियो,’ उनले भने, ‘हेर्नेहरूलाई मन परेको छ तर ठूलो संख्यामा दर्शकलाई हलसम्म आकर्षित गर्न नसक्नु चाहिँ मार्केटिङमा चुकियो कि भन्ने मेरो बुझाइ छ । हामीले प्रायः बिरालो बाँधेर श्राद्ध गर्ने किसिमका मार्केटिङ गरिरहेका छौं । नयाँ आइडिया ल्याउन सकेका छैनौं । त्यसैले दर्शक हलसम्म पुग्न इच्छुक देखिएनन् ।’
उनले सानो गल्तीले फिल्मको व्यापार चौपट हुने भएकाले राम्रो फिल्मले राम्रो दर्शक कमाउन धेरै कुरा मिल्नुपर्ने बताए ।
फिल्म निर्माता तथा वितरक कम्पनी एफडीका अध्यक्ष छवि ओझाको भनाइ भने फरक छ । उनको बुझाइमा, नेपाली फिल्मका लागि सबैभन्दा खराब समय मंसीर र पुस महिना हो । राम्रो समय भने फागुनबाट शुरु हुन्छ ।
उनी भन्छन्, ‘फिल्म राम्रो छ भने नेपाली फिल्मको व्यापार फागुनबाट शुरु हुन्छ । यस पटक त शृंखलाबद्ध रुपमा नेपाली फिल्मले निकै राम्रो व्यापार गरे । खासमा भन्ने हो भने २०८२ मा रिलिज भएका फिल्मले जति व्यापार गरे, त्यति त यसअघि भएको पनि थिएन ।’
‘दशैं, तिहार र त्यसपछि पनि नेपाली फिल्मले निकै राम्रो व्यापार गरेको देखेँ । ‘मन बिनाको धन’ जस्तो फिल्मले पनि व्यापार गर्नु भनेको दर्शकले निकै रुचाएर नै हो,’ ओझाले भने ।
यस वर्षको आश्चर्य चाहिँ ‘परान’ फिल्मको व्यापार रहेको उनको बुझाइ छ । रिलिज भएको तीन दिनसम्म व्यापार सुस्त रहेको सो फिल्मको ‘माउथ पब्लिसिटी’का कारण आश्चर्यजनक व्यापार गरेको थियो ।
उनी भन्छन्, ‘यतिबेला फिल्म नचल्नु चाहिँ हाम्रो परिवेश नै मुख्य कारण हो । मंसीर र पुसमा नेपाली फिल्म तुलनात्मक रुपमा कमै चल्छन् । मैले पनि आफूले फिल्म निर्माण गरुञ्जेल कहिले पनि मंसीर र पुसमा फिल्म रिलिज गरिनँ ।’
यो समय भनेको दशैं र तिहारको उल्लास हराइसकेको हुन्छ । त्यसमाथि चिसो बढ्छ । खेती– किसानीका काममा सर्वसाधारण व्यस्त हुन्छन् । त्यसबाहेक नेपाली फिल्मको मुख्य दर्शक युवापुस्ता हुन् । तिनलाई हलसम्म पहिलो साताभरि आकर्षित गर्न सकेको खण्डमा दोस्रो सातादेखि मात्र अन्य दर्शक तानिने बुझाइ उनको छ ।
यतिबेला ‘अवतार’ र ‘धुरन्धर’ चलेको सन्दर्भमा भने उनको फरक मत छ । उनी भन्छन्, ‘नेपाली फिल्मका दर्शक र अन्य फिल्मका दर्शक फरक छन् । अंग्रेजी र हिन्दी फिल्मका दर्शक सुटेडबुटेड हुन्छन् । नेपालमा पनि पहिलो साता ‘धुरन्धर’ चलेको थिएन । भारतमा चर्चा शुरु भएपछि नेपालमा पनि चल्न थालेको हो ।’
नेपाली फिल्मको वास्तविक समय कहिलेकाहीँ फागुनबाट शुरु हुने र वैशाखमा उच्च हुने ट्रेन्ड निर्माता ओझाले देखेका छन् । यस पटक बरु फागुनबाट तिहारसम्मै नेपाली फिल्महरूले राम्रो व्यापार गरेकामा उनी सन्तोष प्रकट गर्छन् ।