नेभिगेशन
मनोरञ्जन

पर्दामा फेरि ‘सन्देशे आते हैं’

नयाँ पुस्ताकी निधि दत्ता निर्मित ‘बोर्डर २’ ले युद्धकथालाई सत्यताको नजिक पुर्‍याएको छ, जहाँ स्पेसल इफेक्टको भरपुर प्रयोग गरिएको छ । फिल्ममा पड्काइएको कतिपय बम सक्कली नै थिए, जसले कलाकालहरू साँच्चै त्रसित बनेका थिए ।

सिनेमाघरको पर्दामा जब ‘सन्देशे आते है’ गीत गुञ्जियो र सनी देओलले मेजर कुलदीप सिंहका रूपमा गर्जन गरे, त्यसले भारतीय सिनेमाको इतिहासमै राष्ट्रभक्तिको एउटा नयाँ मानक स्थापित गर्‍यो । ठ्याक्कै २८ वर्षपछि निर्देशक जेपी दत्ताको उक्त कालजयी सिर्जना अब ‘बोर्डर २’ का रूपमा पुनः पर्दामा आउँदैछ ।

देशभक्ति र भारतका युद्धमोर्चाका कथा भारतीय सिनेका धेरै बिक्री हुनेमा पर्छन् । तिनै धेरै मन पराइएका मध्येको ‘बोर्डर’लाई नयाँ पुस्ताले पुनः प्रस्तुत गर्न लागेको हो । जेपी दत्ताले सन् १९९७ मा ’बोर्डर’ बनाउँदा त्यो केवल एउटा फिल्म मात्र थिएन, त्यो १९७१ को ‘लौंगेवाला युद्ध’ को ऐना थियो । राजस्थानको थार मरुभूमिमा वास्तविक ट् यांक र बारुदको प्रयोग गरेर खिचिएको उक्त फिल्मका किस्सा अझै पनि रोमाञ्चक छन् । उक्त फिल्ममा सुनिल शेट्टी, अक्षय खन्ना, ज्याकी श्राफ जस्ता दिग्गज कलाकारहरूको जीवन्त अभिनय थियो । करिब १० करोड भारुको सानो बजेटमा बनेको उक्त फिल्मले त्यसबेला ६५ करोडभन्दा बढीको व्यापार गरेर अल टाइम ब्लकबस्टरको सूचीमा नाम लेखायो । ‘बोर्डर’ को सफलताको मुख्य कडी यसको संगीत र वास्तविक लोकेसनमा गरिएको छायांकन थियो ।

‘बोर्डर २’ निर्माणको श्रेय जेपी दत्ताकी छोरी निधिलाई छ । उनको यो प्रोजेक्टमा भूषण कुमार, कृष्ण कुमारको पनि लगानी छ । निर्देशन ‘केसरी’ फेम निर्देशक अनुराग सिंहले सम्हालेका हुन् । यसपटकको कथावस्तु १९७१ कै युद्धको अर्को पाटोमा आधारित हुने बताइएको छ, जसमा समुद्र, जमिन र आकाश तिनै क्षेत्रको युद्धलाई देखाइनेछ ।

नयाँ फिल्ममा पुराना मुख्य पात्र सनी देओल त छन् नै, तर यसपटक उनीसँग युवा कलाकारको ठूलो टोली पर्दामा देखिनेछ । वरुण धवन, दिलजित दोसान्झ र अहान शेट्टी (सुनिल शेट्टीका छोरा) मुख्य भूमिकामा देखिने छन् । ‘बोर्डर २’ को अनुमानित बजेट २५० देखि ३०० करोड भारु बीच रहने बताइएको छ । फिल्ममा उच्च स्तरको भीएफएक्स (भिजुअल इफेक्ट्स) प्रयोग गरेको दर्शकले पाउने जनाइएको छ, जसले सन् १९७१ को युद्धलाई आधुनिक सिनेमाको पर्दामा जीवन्त अनुभव दिनेछ ।

निर्माताहरूका अनुसार ‘बोर्डर २’ पुरानो फिल्मको रिमेक होइन, बरु एउटा नयाँ अध्याय हो । पहिलो भागमा पैदल सेना (इन्फेन्ट्री) को संघर्ष देखाइएको थियो भने दोस्रो भागमा वायुसेना र नौसेनाको वीरतालाई पनि समेटिनेछ । यसले गर्दा फिल्मको क्यानभास पहिलेको तुलनामा निकै ठूलो हुनेछ ।

फिल्म आगामी जनवरी २३ (भारतीय गणतन्त्र दिवसको अवसर)मा रिलिज हुने तय भएको छ । टिजरमा सनी देओलको आवाजले फ्यानहरूमा उत्साहित बढाउँछ । यो सिक्वेलले बक्स अफिसमा कारोबार कस्तो गर्दा भन्ने अडकल भइरहेका छन् । ‘बोर्डर २’ को छायांकनताकाका रमाइला किस्सा सुनाउने बेला भइसकेको छैन । किनभने पोस्ट प्रोडक्सनमा रहेको फिल्मले प्रदर्शनको मिति पर्खिरहेको छ ।

‘बोर्डर’ निर्माणताकाका भने थुप्रै किस्सा छन्, जसलाई सिनेकर्मीहरूले बेला बेला अन्तर्वार्ताका क्रममा बताएका छन् । निर्देशक जेपी दत्ता फिल्ममा ‘रियालिज्म’ चाहन्थे । त्यसैले उनले धेरैजसो दृश्यमा नक्कली बमको सट्टा वास्तविक विस्फोटक पदार्थ र बारुद प्रयोग गरेका थिए । जब बम विस्फोट हुन्थ्यो, कलाकारहरू साँच्चै डराउँथे । सुनिल शेट्टीले एक अन्तर्वार्तामा भनेका छन् कि कतिपय दृश्यमा उनीहरू अभिनय गरिरहेका हुँदैनथे, बरु वास्तविक डरका कारण भागिरहेका हुन्थे ।

फिल्मका लागि भारतीय सेनाले आफ् ना असली ‘हन्टर’ लडाकु विमान र ‘टी–५९’ ट्यांकहरू उपलब्ध गराएको थियो । छायांकनका बेला ती ट्यांक र विमानहरूले गर्दा सीमा क्षेत्रमा धेरै हलचल हुन्थ्यो, पाकिस्तान तर्फको सीमामा सुरक्षा सतर्कता बढाइएको थियो । पाकिस्तानी सेनालाई ती ट्यांकहरू फिल्म सुटिङका लागि हुन् कि साँच्चैको युद्धका लागि भनेर सुरुमा भ्रम भएको थियो ।

भैरो सिंह राठोर भन्ने पात्रका लागि सुनिल शेट्टीलाई जेपी दत्ताले छायांकन अवधिभर कहिल्यै सफा देखिन दिएका थिएनन् । सुटिङ सुरु हुनुअघि दत्तले सुनिललाई बालुवामा लडिबुडी गर्न लगाउँथे र अनुहारमा साँच्चैको धुलो दल्न लगाउँथे । उनले छायांकन अवधिभर सुनिललाई वास्तविक सिपाही जस्तै देखिनका लागि कठिन परिस्थितिमा राखेका थिए ।

मरुभूमिको कडा गर्मीमा सुटिङ गर्दा कलाकारहरू निकै थाक्थे । एकपटक एउटा ठूलो दृश्यको तयारी भइरहँदा अक्षय खन्ना एउटा खाडलमा सुतेका थिए र उनी त्यहीँ निदाएछन् । जब दत्ताले ‘एक्सन’ भने, अक्षय कतै देखिएनन् । पछि खोज्दै जाँदा उनी खाडलमा मस्त निदाइरहेको अवस्थामा भेटिएका थिए ।

सुरुमा दत्ताले मेजर कुलदीपको भूमिकाका लागि सन्नी देओललाई सोचेका थिएनन् । तर जब सन्नीले फिल्मको कथा सुने, उनले यसमा काम गर्न निकै इच्छा देखाए । पछि उनको व्यक्तित्व र भ्वाइस कमाण्डका कारण उनलाई उक्त भूमिका दिइयो । जुन पछि उनको करिअरकै सबैभन्दा यादगार भूमिका बन्यो । जब गीतकार जावेद अख्तर र संगीतकार अनु मलिकले ‘सन्देशे आते है’ गीतको धुन र शब्द सुनाए, निर्माता– निर्देशक दत्ता निकै भावुक भएका थिए । यो गीत खिच्नका लागि मात्र मरुभूमिमा १५ दिन समय लागेको थियो । कलाकारहरूले साँच्चैका सिपाहीहरूका चिठ्ठी पढेर त्यो गीतको भाव महसुस गरेका थिए । ज्याकी श्राफले वायुसेनाको अफिसरको भूमिका निभाएका थिए । उनले छायांकनका क्रममा वास्तविक वायुसेनाका पाइलटहरूसँग धेरै समय बिताएका थिए । ज्याकीले उनीहरूको हिँडडुल र बोल्ने शैली यति राम्ररी सिकेका थिए कि एयरफोर्सका कतिपय जवानहरूले उनलाई साँच्चैको अफिसर ठानेर ‘सैल्युट’ समेत गरेका थिए ।

सिक्वलमा प्रविधिमाथि जोड

अघिल्लो कथा मुख्यतया जमिनको लडाइमा केन्द्रित थियो । तर ‘बोर्डर २’ मा भारतीय जलसेना (नेवी) र वायुसेना (एयर फोर्स) को भूमिकालाई निकै विस्तार गरिएको छ । यसका लागि निर्माण पक्षले भारतीय रक्षा मन्त्रालयबाट विशेष अनुमति लिएर वास्तविक युद्धपोत र लडाकु विमानहरू प्रयोग गर्ने तयारी गरेको छ ।वरुण धवन र दिलजित दोसान्झ लगायतका नयाँ कलाकारहरूले आफ्नो भूमिकाका लागि विशेष सैन्य तालिम लिएका छन् । उनीहरूलाई वास्तविक सिपाहीको बडी ल्यांग्वेज र हतियार चलाउने तरिका सिकाउन पूर्व सैन्य अधिकारीहरू परिचालन गरिएको थियो ।

यसपटक फिल्ममा मोसन क्याप्चर र उच्च स्तरको भीएफएक्स प्रयोग गरिएको छ । निर्माता निधि दत्ताका अनुसार युद्धका दृश्यहरूलाई यति वास्तविक बनाउने प्रयास गरिएको छ कि दर्शकले हलिउडको ‘डनकिर्क’ वा ‘१९१७’ जस्तो अनुभव पाउने दाबी गरिएको छ । युद्धका दृश्यहरू डिजाइन गर्नका लागि हलिउडका चर्चित एक्सन डाइरेक्टरहरूलाई अनुबन्ध गरिएको थियो, जसले ट्यांक ब्याटल र एरियल कम्ब्याट (हवाई युद्ध) लाई नयाँ स्वरूप दिएका छन् । अघिल्लो भाग जस्तै यसपटक पनि फिल्मको ठूलो हिस्सा राजस्थानको थार मरुभूमि र भारत– पाकिस्तान सीमा नजिकका वास्तविक लोकेसनहरूमा खिचिएको छ ।

‘बोर्डर २’ को निर्माणको जिम्मेवारी लिएकी निधि फिल्मको लेखक र निर्माता दुवै हुन् । उनले बाबुको विरासतलाई अगाडि बढाउने उद्देश्यले यो सिक्वेलको अवधारणा ल्याएकी हुन् । उनले यसपटक १९७१ को युद्धका अन्य नसुनिएका वीरगाथाहरू र विभिन्न युद्ध मोर्चालाई समेटेर कथा तयार पारेको बताएकी छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन