नेपालको प्रथम महिला प्रधानमन्त्री सुशीला कार्की र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानकी प्रथम महिला कुलपति निशा शर्माले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरे । यो भेटको रोचक पक्ष चाहिँ, प्रधानमन्त्री कार्की विराटनगरकी छोरी थिइन् भने कुलपति शर्मा विराटनगरकी बुहारी थिइन् । दुईबीच बालुवाटारमा भेट हुँदा यही कुरा स्मरण गरियो ।
यत्ति स्मरणका लागि यो भेटको आयोजन भने भएको थिएन । गीत, संगीत र नाट्य विधाको समग्र उन्नयनको जिम्मेवारी बोकेको प्रतिष्ठानको बेहाल सुनाउने अवसरका रुपमा यो भेट जुर्यो ।
प्रतिष्ठानका पदाधिकारीहरूले देशभरिका गीत, संगीत तथा नाट्य विधामा अध्ययन– अनुसन्धान गरी संरक्षणका काम गर्नुपर्ने भए पनि राज्यको प्राथमिकतामा नपरेको गुनासो सुनाएका थिए ।
प्रतिष्ठान अहिले ‘प्रिफ्याब’को अस्थायी टहरामा छ । मुसाले प्रिफ्याब काटेर वर्षायाममा दुःख दिएको स्मरण त्यो बेला गरियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानलाई अझै विशिष्टीकृत गरी २०६४ सालमा तीनवटा प्रतिष्ठान गठन गरिएको थियो । त्यसैमध्येको एउटा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान हो । अन्य प्रतिष्ठान भन्दा यो सबैभन्दा गरीव छ ।
यसअघि प्रतिष्ठानले आयोजना गरेको नाट्य महोत्सवमा पनि सांस्कृतिक संस्थानले हल नदिएर दिनुसम्म दुःख दिएको थियो । त्यो दुःख सम्झेर नै कार्यालय र सानो हल बनाउन पाए हुन्थ्यो भन्ने जानकारी दिन आफूहरू भेट गर्न पुगेको शर्माले बताइन् ।
त्यसका लागि हाललाई ५/६ करोड खर्च लाग्ने र यसलाई तुरुन्तै बनाउन प्रधानमन्त्रीले आश्वासन दिएकामा शर्माले खुशी व्यक्त गरिन् । उनले भनिन्, ‘प्रधानमन्त्रीबाट हामीले राम्रो रेस्पोन्स पायौं । महानगरपालिकाले हाम्रो हल बनाउन सहयोग गर्न सक्ने सम्भावनामा कुरा भएको छ ।’
अन्य सबै प्रतिष्ठानसँग आफ्नो हल भए पनि संगीत तथा नाट्य प्रतिष्ठानको कुनै हल नभएकाले कुनै उम्दा काम गररे देखाउन नसकेकामा शर्माले गुनासो गरिन् । ‘कम्तीमा हाम्रो हलहरू भइदिएको भए, हलमा संगीत तथा नाट्य तालिम दिन सकिन्थ्यो,’ उनले भनिन्, ‘अरुको हल खोज्दै जानु पर्दैनथ्यो ।’

सरकारले वार्षिक दिने रकम कर्मचारीको तलबभत्तामै सकिने भएकाले नाट्य र संगीत महोत्सव नै गर्न नसकिएको उनले बताइन् । ‘अहिलेलाई हाम्रो सबैभन्दा ठूलो आवश्यकता नै प्रेक्षालय भयो,’ उनले भनिन्, ‘त्यो बनाउन नै बजेट खोज्दै हिँडनु परेको छ ।’
त्यसो त, संग्रहालयसहितका तीन वटा विभिन्न क्षमताका प्रेक्षालयहरू र दुई तल्लाको पार्किङसहितको एउटा वृहत् प्रदर्शनीस्थल बनाउने एउटा डिजाइन भने तयार भइसकेको छ । सो भवनको कूल बजेट साढे तीन अर्ब रुपैयाँ रहेको छ । समय घर्किंदै जाँदा यो बजेट पनि बढ्दै जाने चिन्ता शर्मालाई छ ।
त्यो सबै काम यसपाला गर्न नसकिए पनि सानो प्रेक्षालय बनाउन सके सामान्य कामका लागि अरुको हल खोज्दै हिँड्नु पर्दैनथ्यो कि भन्ने गुनासोलाई प्रधानमन्त्री कार्कीले सकारात्मक रुपमा लिएको शर्माले बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूले ज्यादै सकारात्मक रुपमा लिनु भएको छ । आइतबारपछि केही खबर आउन सक्छ ।’
प्रतिष्ठानको वार्षिक बजेट ६ करोड २० लाख छ । सरकारले अनुदान दिइरहेको यो रकमको अधिकांश प्रशासनिक खर्च हुने भएकाले आफैंले केही निर्माण गर्न नसकिएको शर्माको भनाइ छ ।
प्रधानमन्त्री कार्कीले सम्बन्धित मन्त्रालय तथा अन्य निकायहरूसँग परामर्श गरी भवन निर्माणमा सघाउन आवश्यक पहल गर्ने बताएकी छन् ।