नेभिगेशन
साहित्य

अस्तायो शुक्ल–किरण

ज्ञानपीठ पुरस्कार प्राप्त प्रख्यात हिन्दी साहित्यकार विनोद कुमार शुक्लको बुधबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । हिन्दी साहित्य जगत् विनोद कुमार शुक्लको अपूरणीय क्षतिमा भारत अहिले शोकाकुल छ । उनको मंगलबार रायपुरस्थित एक अस्पतालमा ८९ वर्षको उमेरमा निधन भएको थियो । उनको देहवशानसँगै समकालीन हिन्दी साहित्यको एक महत्वपूर्ण अध्यायको अन्त्य भएको मानिएको छ ।

छत्तीसगढको राजनाँदगाउँमा सन् १९३७ जनवरी १ मा जन्मिएका शुक्लले आफ्नो जीवन शिक्षणमा बिताए । यद्यपि उनले आफूभित्रको सर्जकलाई मर्न दिएनन् । आफ्ना कार्यव्यस्ताका बाबजुत पनि उनले जीवनभर एक पछि अर्को मार्मिक साहित्यिक कृतिहरू सिर्जना गरिरहे । उनको साहित्यिक यात्रा सन् १९७१ मा प्रकाशित पहिलो कविता ‘लगभग जय हिन्द’ बाट श्रीगणेश भएको थियो । साहित्यको गहिराइमा दशकौं डुबेका शुक्लले गहिरो प्रयोगात्मक शील्पको विकास गर्दै लेखनलाई सरलताउन्मुख गराएका थिए । उनको लेखनले दैनिक जीवनका साधारण अनुभवलाई सशक्त साहित्यिक अभिव्यक्तिमा रूपान्तरण गरेर सिर्जनाको नयाँ क्षितिज खोलिदिएको थियो । शुक्लका प्रमुख कृतिहरूमा ‘नोकर की कमीज’ एक हो, जसलाई प्रसिद्ध फिल्म निर्देशक मणि कौलले चलचित्र बनाएका थिए । त्यस्तै उनको अर्को प्रभावशाली कृति ‘दीवार में एक खिड़की रहती थी’ हो । यसको लागि उनले प्रसिद्ध साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै उनको ‘खिलेगा तो देखेंगे’ उपन्यास पनि धेरै रुचाइएको आख्यानमा पर्दछ ।

भारतमा उनको लेखनलाई धेरै कलाकारहरूले पच्छ्याउने गरेका छन् । त्यसै मध्येका एक हुन, पंकज त्रिपाठी । त्रिपाठीले सार्वजनिक मञ्चहरूमा पुस्तकबारे बोल्दा विनोद कुमार शुक्लको जिकिर गरिरहेका मात्र हुँदैनन, दर्शक श्रोताहरूलाई पनि शुक्नको किताब पढ्न सिफरिस गरिरहेका हुन्छन् । अर्का भारतीय प्रसिद्ध कवि कुमार विश्वासले आफू सत्तरीको दशमा शुक्लका रचना पढेर हुर्किकको जनाउँदै शुक्लका रचना पढ्नु आफैंमा एउटा अद्भुत अनुभव भएको बताउँदै ‘हिन्दी साहित्यको महान् प्रतीकको अस्त भएको’ टिप्पणी दिएका छन् ।

सन् २०२४ मा शुक्ल छत्तीसगढका पहिलो लेखक तथा हिन्दीका १२ औं लेखकका रूपमा भारतको सर्वोच्च साहित्यिक सम्मान ५९ औं ज्ञानपीठ पुरस्कार प्राप्त गर्न सफल भएका थिए । सो सम्मान उनको असाधारण सिर्जनशीलता र विशिष्ट साहित्यिक शैलीका लागि प्रदान गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्