नेभिगेशन
राजनीति

‘म उम्मेदवार बन्दिनँ’

‘मेरो आग्रह छ चुनावमा अनुहार बदलेर जानुपर्छ, बढीभन्दा बढी युवा र नयाँ साथीहरूलाई अवसर दिनुपर्छ,’

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले फागुन २१ गतेको निर्वाचनमा आफू उम्मेदवार नबन्ने बताएका छन् । बिहीबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा उनले यस्तो जानकारी गराएका हुन् । बाँचुन्जेल क्षेत्र कब्जाको सोच राख्ने, सासले भ्याएसम्म मन्त्री बन्नुपर्ने राजनीतिको प्रवृत्ति भत्काउन जरुरी रहेको उनले बताए ।

‘आफ्नो पावरले भ्याएसम्म उम्मेदवार बन्ने । जित्दा त कुरै भएन, हार्दा पनि क्षेत्र नछाड्ने । एक क्षेत्रमा हारे अर्को क्षेत्रमा वा एउटा तहमा हारे अर्कोमा भएपनि उम्मेदवार बन्नैपर्ने । बाँचुन्जेल– क्षेत्र कब्जाको सोच राख्ने । सासले भ्याएसम्म मन्त्री रहिरहनु पर्ने । हाम्रो राजनीतिको यो प्रवृत्ति भत्काउन जरुरी छ,’ उनले भने, ‘अतः लगातार तीन पटक उम्मेदवार बनिसकेकाले यो पटक आफू उम्मेदवार नबनेर अरु साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको छु।’ शर्मा अघिल्लो निर्वाचनमा झापा–१ बाट निर्वाचित भएका थिए । त्यसअघिका दुई संसदीय निर्वाचनमा पराजित भएका थिए ।

शर्माले गत निर्वाचनमा आफ्नो क्षेत्रमा सीमित रहेको भन्दै फागुन २१ मा देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरूको साथमा पुग्ने पनि बताए । ‘मेरो आग्रह छ चुनावमा अनुहार बदलेर जानुपर्छ, बढीभन्दा बढी युवा र नयाँ साथीहरूलाई अवसर दिनुपर्छ,’ उनले भने । पार्टीले शर्माको नाम झापा–१ बाट सर्वसम्मत रुपमा सिफारिस गरेको थियो । तर, उनले आफूलाई सिफारिस गरेकोमा धन्यवाद दिँदै आफू निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । बुधबारमात्रै झापामा आयोजित क्षेत्रीय भेलामा नै आफूले उम्मेदवार बन्न चाहनेलाई दाबी गर्नका लागि भनेको पनि उनले बैठकमा जानकारी गराएका छन् ।

शर्माभन्दा अघि यसअघिको निर्वाचन जितेका सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय सदस्य राजन केसी र धादिङ कांग्रेस सभापति रामनाथ अधिकारीले चुनाव नलड्ने घोषणा गरिसकेका छन् ।

चुनाव नलड्ने घोषणा गरेका महामन्त्री शर्माले फागुन २१ मा निर्वाचन गर्न उपयुक्त वातावरण बन्न नसकेको बताए । ‘चुनाव हुन कि त सरकारले वातावरण बनाउन सक्नैपर्छ कि त सर्वपक्षीय संवाद र छलफल गरेर वैशाखमा चुनाव गर्न सरकारलाई सुझाव र साथ दिनुपर्छ,’ बैठकमा उनले भने ।

त्यस्तै, महामन्त्री शर्माले पार्टीको १५औं महाधिवेशनमा कार्यतालिका परिमार्जन गर्न पनि प्रस्ताव गरेका छन् । वडा र क्षेत्रको अधिवेशन गरेर पुस २६ मै महाधिवेशन गर्न उनको प्रस्ताव छ ।

प्रदीप पौडेल महामन्त्रीमा उठ्ने

कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । १४औं महाधिवेशनमा उम्मेदवारी दिएर पराजित भएका उनले बिहीबार सञ्चारकर्मीसँग यसपटक १५ औं महाधिवेशनमा पनि प्रतिस्पर्धा गर्ने बताएका हुन् ।

कुन गुटबाट उठ्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले त्यो भने प्रष्ट हुन बाँकी रहेको बताए । ‘महामन्त्रीको उम्मेदवार सभापतिसहितको समूहबाट हुने पार्टीमा अभ्यास छ,’ उनले भने, ‘अहिले यही समूह भन्ने निश्चित त भइसकेको छैन, सक्षम नेतृत्वसहितको समूह हुन्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्