रौतहट । रौतहटमा जाडो मौसम तीव्र बन्दै गएसँगै चिसोको मारमा परेका मानिसहरूलाई राहत पुर्याउने उद्देश्यले डिभिजन वन कार्यालय रौतहटले जिल्लाका विभिन्न सार्वजनिक स्थानहरूमा दाउरा वितरण गरेको छ । तापक्रम उल्लेख्य रूपमा घटेपछि बिहान र साँझको समयमा अत्यधिक चिसो महसुस हुन थालेको भन्दै कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत दाउरा बाँडेको कार्यालयले जनाएको छ ।
रौतहटका डिभिजनल वन अधिकृत हेमन्त साहको नेतृत्वमा सार्वजनिक स्थलहरूमा दाउरा उपलब्ध गराइएको हो । विशेषगरी बिहानैदेखि कामका सिलसिलामा घरबाहिर निस्कने मजदुर, गरिब तथा विपन्न वर्ग, यात्रु, वृद्धवृद्धा र असहाय व्यक्तिहरूलाई लक्षित गरी दाउरा वितरण गरिएको साहले जानकारी दिए । चिसोका कारण जनस्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै वन कार्यालयले यस्ता राहतका कामलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । उनले भने, ‘चिसोले प्रभावित नागरिकहरूलाई थोरै भए पनि राहत होस् भनेर सार्वजनिक स्थानहरूमा दाउरा वितरण गरेर आगो बाल्ने व्यवस्था मिलाएका छौं । यो अभियानलाई निरन्तरता दिइरहन्छौं ।’
यसरी सार्वजनिक स्थानहरूमा दाउरा वितरण गरेर आगो बाल्दा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूलाई विशेष राहत हुने विश्वास कार्यालयले लिइएको छ । चिसोका कारण स्वास्थ्य समस्या बढ्ने भएकाले सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था हुनु उचित रहेको पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष सञ्जयकुमार कार्कीको प्रतिक्रिया छ ।
वनले स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला संस्थासँग समन्वय गरी चिसोबाट बच्ने अन्य उपायहरूबारे समेत सचेतना फैलाउने योजना बनाइएको जनाएको छ । बिहीबार दाउरा वितरणमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी रुपा लाबुङ, जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगर, चन्द्रपुर–६ का वडाध्यक्ष सहदेव केसी, सर्वसाधारण लगायतको उपस्थिति थियो । डिभिजन वन कार्यालय रौतहटले प्राकृतिक विपद्, वन डढेलो नियन्त्रण, वृक्षारोपण तथा वातावरण संरक्षणका विविध कार्यक्रम सञ्चालन गर्दै आएको कार्यालयले जनाएको छ ।