बलिउडसँग साइन्स फिक्सन देखाउनलाई ‘कोई मिल गया’ र ‘क्रिस’ अनि ‘रोबोट’ फिल्महरू छन् । हलिउडले त साइन्स फिक्सनको एउटा समृद्ध फिल्म लाइब्रेरी नै बनाइसकेको छ र पछिल्लो उदाहरण ‘अवतारः फायर एण्ड एस’ बनेको छ ।
नेपालीले देखाउने गरी कुनै साइन्स फिक्सन फिल्म नभएको महसुस गर्दै एउटा उत्साही समूहले ‘एक्लो–१’ बनाइरहेको छ । यतिबेला यही फिल्मका बारेमा फिल्म निर्देशक र कलाकारको टोली विभिन्न कलेजहरू जाँदै पहिलो नेपाली साइन्स फिक्शन फिल्मका बारेमा जानकारी दिँदैछन् । यसको एक मात्र उद्देश्य साइन्स फिक्शन रुचाउने जेनजी पुस्तालाई हलसम्म आकर्षित गर्न सकियोस् ।
साइन्स फिक्सनजस्तो विधामा जोखिमपूर्ण लगानी भए पनि निर्देशक प्रदीप शाहीले विषयमाथि आफूलाई ज्यादै विश्वास भएकाले साथीभाइसँग मिलेर फिल्मलाई बजारमा ल्याउँदैछन् । निर्देशक शाहीले लण्डनमा फिल्ममेकिङ अध्ययन गरेका हुन् ।
यसअघि नै उनले ‘गोर्खा विनिद द ब्रेभरी’ र ‘अन्तिम संस्कार’जस्ता फिल्म निर्देशन गरिसकेका छन् । उनका यी दुई फिल्म अमेजन प्राइममा उपलब्ध छन् ।

न्यूज२४ सँग कुरा गर्दै नायक प्रदीप खड्काले भने, ‘फिल्ममेकिङ आफैंमा जोखिमको व्यापार भएकाले सधैं नाफाका लागि फिल्ममेकिङ गरिँदैन । कहिलेकाहीँ पैसाभन्दा विषयवस्तुले जोखिम उठाउन प्रेरित गर्ने रहेछ ।’ उनले एउटा राम्रो कलाकारलाई सधैं राम्रो विषयवस्तुले आकर्षित गर्ने भएकाले पनि जोखिम लिनुपर्ने बताए ।
निर्देशक शाहीका दुई फिल्मलाई अमेजन प्राइमले खरिद गरेका कारण यो फिल्मलाई पनि ओटिटीबाट नै घाटापूर्ति गर्ने हिसाबबाट काम गरिएको पनि निर्माण समूहले जनाएको छ ।
अहिले ‘एक्लो–१’को प्राविधिक काम काठमाडौं, टर्की र इजिप्टमा समेत भइरहेको छ । निर्माण समूहका एक सन्तोष भन्छन्, ‘फिल्मको अन्तर्राष्ट्रिय स्तरको प्राविधिक कार्यहरू (ब्याकग्राउण्ड म्युजिक, एनिमेशनलगायत) सबै बाहिर गरेका छौं ताकि गुणस्तरमा कुनै सम्झौता गर्नु नपरोस् ।’ ‘एक्लो–१’लाई ‘स्पीनअफ’ र ‘एक्लो युनिभर्स’ बनाउने तयारीका साथ काम गरिएकाले नेपालमा यो पहिलो प्रयोग हुने निर्माण समूहको दाबी छ । यसका लागि सीमित बजेटमा कसरी उम्दा काम गर्न सकिन्छ, त्यसका लागि लामो समयदेखि प्रयास भइरहेको सन्तोष बताउँछन् । उनी भन्छन्, ‘राम्रो कथानकमा हामीले सघाउनुपर्छ भनेर काम गरेका छौं ।’

नायक प्रदीप खड्का भने नयाँ मेकरलाई उद्योगमा टिकाउन र बचाउन साथै ‘आइडिया’माथि काम गर्ने मेकर र निर्देशकहरूलाई आफूले हृदयबाट सहयोग गर्न चाहेकाले यो फिल्ममा काम गरेको बताएका छन् ।
फिल्मका निर्देशक शाही केही दिनमा नै फिल्मको प्रथम प्रदर्शनका लागि नायक खड्कासहित न्यूयोर्क पुग्दैछन् ।
नेपालमा मंसिर/पुस महिना सामान्यतया व्यापारका लागि उति राम्रो समय मानिँदैन । मंसिरयता रिलिज भएका नेपाली फिल्मको व्यापारले पनि सोही कुरा पुष्टि गरिरहेको छ ।
यस सन्दर्भमा भने निर्माण समूहका सन्तोषको फरक मत छ । उनी भन्छन्, ‘नेपाली फिल्मका दर्शकहरू यो बेला हलसम्म जाँदैनन् भन्ने विभिन्न तथ्यांकहरूले देखाइरहेको छ । तर हाम्रा मूल दर्शक जेनजी हुन् । यही जेनजीले नेपालमा ‘धुरन्धर’ र ‘अवतार’जस्ता फिल्मलाई हिट बनाइरहेका पनि छन् । त्यसैले हामीले त्यही पुस्तालाई टार्गेट गरिरहेका छौं ।’
उनले विदेशी फिल्म हेरेर यस्तै फिल्म नेपालमा किन बन्दैन भन्ने नेपाली युवालाई मूलरूपमा लक्षित गरिएको सन्तोषको भनाइ छ । त्यसैले पनि पछिल्लो समय निर्माण समूह र कलाकारहरूले कलेजहरू भ्रमण गरेका हुन् । दुई साताअघि मात्र सार्वजनिक भएको ट्रेलरमा वैज्ञानिक आविष्कार, अन्तरिक्ष यात्रा र भविष्यका सम्भावनाजस्ता विषयहरू समावेश गरिएको छ । यस्ता विषय रुचाउने भनेको युवापुस्ता हुन् । त्यसैले निर्माण समूहले पनि सोही अनुसार प्रचार अभियान सञ्चालन गरेको अभिनेता प्रदीप बताउँछन् ।
यो फिल्मले न्यूनतम व्यापार गरे पनि दोस्रो भाग बनाउने पहिल्यैदेखि तयारी गरिएको निर्माण समूहका सन्तोषले बताए । फिल्मको डिजाइन नै दुई भागमा बनाउने गरी निर्माण गरिएकाले फिल्मले न्यूनतम व्यापार गरे पनि दोस्रो भाग बनाइनेमा उनले जोड दिए । फिल्मको व्यापार कस्तो हुन्छ भन्ने थाहा नभई ‘एक्लो’को दोस्रो भाग बनाउनु दुस्साहस होइन भन्ने प्रश्नमा सन्तोष भन्छन्, ‘एक हिसाबले यो दुस्साहस नै हो । नेपालको बक्स अफिससँगै हामी विश्वभरबाट जुन दर्शक बटुल्दै छौं, त्यसले नै हामीलाई हिम्मत दिएको हो ।’
पुस १७ बाट विश्वभर प्रदर्शन गरिने यो फिल्ममा प्रदीप र कवितासहित विजय लामा, सुनील थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डिसी, सुरजसिंह ठकुरी, बेलायती अभिनेता जेमी बेकन लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । गैरआवासीय नेपालीहरूको समूहले फिल्ममा लगानी गरेका छन् ।