नेभिगेशन
मनोरञ्जन

‘अवतार’ चार करोड, ‘धुरन्धर’ साढे ८

दुई विदेशी फिल्मले यतिबेला नेपालमा धुरन्धर व्यापार गरिरहेका छन् । ती फिल्म हुन्, ‘धुरन्धर’ र ‘अवतारः फायर एन्ड एश’ । यी दुई फिल्मले नेपाली फिल्म निर्माताहरूले सपनामा सोच्ने रकममा कमाई गरिरहेको छ । दुवै फिल्मको कमाई १२ करोडभन्दा बढी देखिएको छ ।

चलचित्र विकास बोर्डको सिनेपाः बक्स अफिसको रकेर्डअनुसार मंसिर १९ गतेदेखि प्रदर्शनमा आएको बलिउड एक्सन–स्पाई फिल्म ‘धुरन्धर’ले बिहीबार दिउँसोसम्म ८ करोड ५० लाख रुपैयाँ ग्रस व्यापार गरेको छ । यो फिल्मको व्यापारिक रफ्तार हेर्दा यसले सजिलै ११ करोडभन्दा बढी व्यापार गर्ने देखिएको छ । भारतमा पनि यो फिल्मले ६०८ करोड कमाई गरिसकेको छ । त्यस्तै यसले विश्वभरिबाट ८०० करोड बढी जम्मा गरिसकेको छ ।

यसैगरी गत शुक्रबारबाट प्रदर्शनमा आएको हलिउडको साइन्स फिक्सन फिल्म ‘अवतारः फायर एन्ड एश’ले पनि नेपालमा उत्साहजनक व्यापार गरिरहेको छ । बिहीबार दिउँसोसम्म फिल्मले ३ करोड ८४ लाख रुपैयाँ ग्रस कमाएको छ । धेरैपछि हलिउड फिल्मले नेपालमा यो अंक जोडेको हो । यस फिल्मले नेपालमा ५ करोडसम्म कमाउन सक्ने आँकलन गरिएको छ । भारतमा अवतारले रिलिज भएको एक हप्ता पनि नबित्दै ९५.७५ करोड भारु कमाई गरेको छ । सय करोड सजिलै पार गर्ने सो फिल्मले छैटौं दिन मात्र १०.२५ करोड भारु कमाएको छ ।

उता संसारभर भने ‘अवतार’ फिल्मले ३४७ मिलियन डलरभन्दा बढी कमाएको छ । उत्तर अमेरिकाको व्यापार ८९ मिलियन डलर पुगेको छ । यस हिसाबले यो फिल्मले सजिलै १०० मिलियन डलर कटाउने देखिएको छ । त्यसो त, अवतारका अघिल्ला मानकहरूको तुलनामा यो कमजोर देखिए पनि समग्र फिल्मको व्यापारका हिसाबले त्यति कमजोर कमाई भने होइन ।

यस वर्ष नेपालमा सर्वाधिक कमाई गर्ने विदेशी फिल्मको सूचीमा ‘सैयारा’ अग्रस्थानमा छ । यसले ११ करोड रुपैयाँभन्दा बढी ग्रस व्यापार गरेको थियो । दोस्रो स्थानमा रहेको ‘कान्तारा : च्याप्टर १’को व्यापार साढे १० करोडभन्दा बढी छ । अब तेस्रो स्थानमा आइपुगेको ‘धुरन्धर’ले नेपालमा ‘सैयारा’ र ‘कान्तारा १’ दुवैको कमाइलाई उछिन्ने प्रक्षेपण गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन