नेभिगेशन
मनोरञ्जन

कलाकारको नाममा बढ्यो ठगी

काठमाडौं । चलचित्र विकास बोर्डले कलाकारहरूको नामबाट पछिल्लो समय सामाजिक सञ्जालमा ठगीका घटना बढेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

शुक्रबार अभिनेता अनमोल केसीले आफ्नो नाम र तस्बिर प्रयोग गरेर नक्कली नम्बरबाट आफन्त र साथीहरूसँग पैसा मागिएको स्क्रिनसट सार्वजनिक गरेका थिए । अनमोलले यो घटना आफैँ जानकारी दिँदै कसैलाई पैसा नदिन र नम्बर ब्लक गर्न आग्रह गरेका थिए । त्यस्तै केकी अधिकारी, स्वस्तिमा खड्का, रिमा विश्वकर्मा, धिरज मगरसहितका कलाकारले आफ्नो नाम र फोटो दुरुपयोग गरेर रकम मागिएको गुनासो गरेका थिए । उनीहरूले सामाजिक सञ्जालमा प्रशंसक र आफन्तजनलाई सचेत रहन आग्रह गरेका थिए।

यी घटनापछि बोर्डले सबै चलचित्रकर्मीलाई आफ्नो सामाजिक सञ्जालको पासवर्ड बलियो बनाउन र दुई चरणको प्रमाणीकरण अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ । बोर्डले विज्ञप्ति जारी गर्दै भनेको छ– चलचित्र विकास बोर्डको जानकारीमा आए अनुसार पछिल्लो समय फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप लगायत सामाजिक सञ्जालमा कलाकार तथा चलचित्रकर्मीको तस्बिर प्रयोग गरी नक्कली आईडी बनाउने, वास्तविक आईडी ह्याक गर्ने र साथीभाई एवं शुभचिन्तकहरूसंग पैसा माग्ने ठगीका घटनाहरू बढिरहेका छन् ।

चलचित्रकर्मीहरूले आफ्ना सबै सामाजिक सञ्जाल खातामा बलियो पासवर्ड र टू फ्याक्टर अथेन्टिकेसन अनिवार्य रूपमा प्रयोग गर्न अनुरोध गरिन्छ । कसैले कलाकार वा चलचित्रकर्मीको नाममा पैसा मागेमा, वास्तविक व्यक्ति हो भनी पुष्टि नगरी कुनै पनि रकम नपठाउनुहोस् । सचेत रहौँ, ठगीबाट जोगिऔँ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन