नेभिगेशन
राजनीति

अन्ततः घिसिङ पनि रास्वपामै

उपसभापतिसहित दोस्रो वरीयता, उज्यालोको स्वामित्व रास्वपाले लिने

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित हुने भएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र रास्वपाबीच आइतबार सहमति हुँदा नै घिसिङ पनि रास्वपामा मिसिने तयारी थियो । तर, उनले आफ्नो अस्तित्व सकिनेगरि एकता नगर्ने भन्दै प्रक्रियामा सहभागी हुन असहज मानेका थिए ।

रास्वपा नेता असिम साहको कमलपोखरीस्थित कार्यालयमा सोमबार भएको वार्तापछि घिसिङ रास्वपामा मिसिएका हुन् । उनलाई रास्वापाले उपसभापतिसहित दोस्रो वरीयताको नेता बनाउने सहमति भएको छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने,’ सहमतिको बुँदा नम्बर ४ मा उल्लेख छ । योसँगै अब रवि, बालेन र कुलमान रास्वपामै अटाएका छन् । घिसिङकै संरक्षकत्वमा उनका मित्र अनुप उपाध्यायको अध्यक्षतामा खुलेको उज्यालो नेपाल पार्टी पनि रास्वपामा विलय हु्ने छ ।

यसअघि काठमाडौंका मेयर बालेन्द्र शाहसँग ७ बुँदे सहमति गर्दै लामिछानेले रास्वपाको भावी संसदीय दलको नेता बनाउने घोषणा गरिसकेका छन् । घिसिङलाई रास्वपाको उपसभापति बनाउने सहमतिले राजनीतिक दलहरूमध्ये रास्वपा नयाँ शक्ति बनेको छ । पद बाँडफाँटसँगै एउटै पार्टीमा एकत्रित हुने सहमति अनुसार अन्ततः रवि लामिछाने, बालेन र कुलमान आगामी निर्वाचनका लागि एक ठाउँमा उभिने भएका छन् ।

रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाइदिने सहमतिमा बालेन रास्वपामा मिसिएका हुन् । बालेन र रास्वपा सभापति रविबीच आइतबार उक्त सहमति हुँदा कुलमान त्यसमा सहभागी थिएनन् । कुलमान घिसिङलाई पनि त्यसमा सहभागी जेनजी अभियानीहरूले सहजीकरण गरिरहेका थिए ।

जेनजी अगुवा सुदन गुरुङले बौद्धस्थित एक होटलमा बैठकमा रहेका कुलमानलाई रविसँग वार्ता गराउनका लागि लिएर गएका थिए । त्यसपछि बसेको बैठकमा सहमति जुटेको हो ।

सोमबार कुलमान र रवि दुवै एउटै दलबाट समानुपातिक तर्फको बन्द सूची बुझाएर अघि बढ्न सहमत भएका छन् । रास्वपाकातर्फबाट सभापति लामिछाने र उज्यालो नेपाल पार्टीकातर्फबाट अध्यक्ष उपाध्यायले ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । बालेन शाह साक्षी बसेका छन् । १६ प्रतिशत भन्दा बढी समानुपातिकको हिस्सा लिने गरी रास्वपा र कुलमानबीच सहमति भएको सचिवालय स्रोतले जानकारी दिएको छ ।

घिसिङसहित उज्यालो नेपाल पार्टी रास्वपामा मिलेपछि प्रगतिशील लोकतान्त्रिक पार्टीसँगको एकता र चुनावी सहकार्यको छलफल पनि टुटेको छ । रास्वपा र बालेन मिल्दा छुटेका कुलमानले प्रलोपासँग सहकार्य गर्नेगरि छलफल अन्तिम चरणमा थियो । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका लुम्बिनी प्रदेशका ३ सांसद पनि उज्यालो पार्टी प्रवेशको अन्तिम तयारीमा थिए । ‘कुलमानजीले हामीसँग छलफल गरेर अन्तिममा धोका दिनुभयो । उहाँ रास्वपमै जाने तयारीमा हुनुहँदोरहेछ त छलफल नगरेकै भए राम्रो हुन्थ्यो हामीसँग,’ प्रदेश सांसद छाडेर उज्यालो पार्टी जान तयार नाउपाका एक सांसदले भने । प्रलोपाका बाबुराम भट्टराई र जनार्दन शर्मासँग निरन्तर संवादमा रहेका घिसिङले अन्तिममा धोका दिएको भन्दै प्रलोपा पनि असन्तुष्ट देखिएको छ ।

सरकारमा रहेर सरकारी काममा हिँडेर देशभर आफ्नो पार्टीको कार्यक्रममा उपस्थिति जनाइरहेका घिसिङले रास्वपामा मिसिने सहमतिसँगै आफ्नो सक्रिय राजनीतिमा आउने मनोकांक्षामा एउटा इँटा थपेका छन् । त्यसो त उनले उज्यालो नेपाल पार्टीलाई आफ्नो भनेर कार्यसमितिमा बसेका थिएनन् । उनले एक्लै जाँदा सजिलो नहुने देखेरै कुनै दलमा प्रभावशाली पदका लागि ‘बार्गेनिङ’ गर्न उज्यालो नेपाल पार्टी बनाएको पुष्टि भएको प्रलोपाका एक नेताले आरोप लगाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्