नेभिगेशन
राजनीति
पूर्वगृहमन्त्री लेखकको बयान

‘गोली चलाउने आदेश मैले दिएको होइन’

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले संसद् भवनअगाडि जेनजी प्रदर्शनकारीमाथि गोली चलाउन सुरक्षा निकायलाई आफूले आदेश नदिएको बताएका छन् । जेनजी प्रदर्शनमा भएको गोलीकाण्ड र त्यसपछि उत्पन्न राज्यविहीन अवस्थाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगलाई सोमबार बयान दिँदै उनी भदौ २३ को घटनाको जिम्मेवारी लिनबाट पन्छिएका हुन् । घटनालाई अत्यन्त दुःखद, अस्वीकार्य र राष्ट्रकै लागि गहिरो घाउको संज्ञा दिँदै उनले घातक बल प्रयोगको आदेश नदिएको दाबी गरेका छन् ।

उक्त दिन संसद् भवनअगाडि प्रहरीले गोली चलाउँदा १९ जनाको ज्यान गएको थियो भने करिब चार दर्जन घाइते भएका थिए । त्यसको भोलिपल्ट प्रदर्शन उग्र बन्दै सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायत सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । एमाले–कांग्रेसका नेता र व्यवसायीका घर लक्षित आक्रमण पनि भएका थिए । बयानमा लेखकले आन्दोलनको अघिल्लो दिन नै प्रदर्शन हुने सूचना आफूले गृह प्रशासन र सुरक्षा निकायबाट पाएको बताएका छन् । त्यसअनुसार आफूले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाई शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको उल्लेख गरेका छन् । ‘कुनै पनि हालतमा मानवीय क्षति नहोस्, समन्वयका साथ सुरक्षा व्यवस्था मिलाइयोस् र आवश्यकता भन्दा बढी बल प्रयोग नगरियोस् भन्ने स्पष्ट निर्देशन दिएको थिएँ,’ बयानमा लेखकले भनेका छन् ।

उनका अनुसार उक्त बैठकमा गृह, रक्षा, सुरक्षा निकायका उच्च अधिकारी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहभागी थिए । बैठकपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा छलफल भएको र प्रधानमन्त्रीले पनि सुरक्षा निकायलाई समन्वयमा काम गर्न निर्देशन दिएको उनले बताएका छन् । तर भोलिपल्टको प्रदर्शनमा व्यापक घुसपैठ भएको लेखकको दाबी छ ।

‘जेनजीको शान्तिपूर्ण मागलाई हाइज्याक गर्दै लोकतन्त्रविरोधी तत्त्वले आन्दोलनलाई हिंसात्मक बनाएका हुन्,’ उनले भनेका छन् । संसद् भवन र संवैधानिक अंगहरूमाथि भएको आक्रमणलाई उनले नियोजित र योजनाबद्ध षड्यन्त्रको संज्ञा दिएका छन् ।

आफूले कुनै पनि सुरक्षा निकायलाई गोली चलाउन, बल प्रयोग गर्न वा कसरी प्रदर्शन नियन्त्रण गर्न भन्ने आदेश नदिएको दाबी उनको छ । ‘गृहमन्त्रीलाई त्यस्तो आदेश दिने कानूनी अधिकार नै हुँदैन,’ उनले भनेका छन्, ‘घटनास्थलको अवस्था हेरेर सुरक्षा निकायले कानूनअनुसार निर्णय गर्ने व्यवस्था छ ।’

घटनामा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै लेखकले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । ‘म यो घटनाबाट गहिरो रूपमा मर्माहत छु,’ उनले भनेका छन्, ‘यही नैतिक पीडाका कारण मैले भोलिपल्टै गृहमन्त्री पदबाट राजीनामा दिएको हुँ ।’ राजीनामालाई नैतिक जिम्मेवारीको अभ्यास भन्दै लेखकले राजनीतिमा नैतिकता सर्वोपरि हुनुपर्ने धारणा राखेका छन् । ‘म गृहमन्त्री हुँदा यस्तो दुःखद घटना भयो, त्यसको नैतिक जिम्मेवारी लिनु मेरो कर्तव्य थियो,’ बयानमा उल्लेख छ । गोलीकाण्डपछि राजधानीमा फैलिएको अराजकताबारे लेखकले राज्य संयन्त्र पूर्णरूपमा निष्क्रिय बनेको स्वीकार गरेका छन् । सुरक्षाकर्मीहरू भीडका अगाडि कमजोर देखिएपछि तत्कालीन प्रधानमन्त्री ओलीले सेनाको हेलिकप्टरमार्फत बालुवाटार छाड्नुपरेको घटनालाई उनले राज्य असफलताको चरम उदाहरण भनेका छन् । बयानमा लेखकले आफ्नो निजी पीडासमेत आयोगसमक्ष राखेका छन् । उनका काठमाडौं र महेन्द्रनगरका घरहरू आगजनीमा नष्ट भएको, ऐतिहासिक दस्तावेज र पुस्तकहरू जलेको र प्रदर्शनकै क्रममा अक्सिजनमा रहेकी आमाको मृत्यु भएको उल्लेख गरेका छन् । ‘तर व्यक्तिगत क्षतिभन्दा ठूलो पीडा देश र लोकतन्त्रलाई लागेको चोट हो,’ उनले भनेका छन् ।

जेनजी विद्रोहपछि उत्पन्न राजनीतिक संकटको अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलले सेनाको रोहबरमा जेनजीको मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको सन्दर्भ पनि आयोगमा उठेको छ । ६ महिनाभित्र निर्वाचन गराउने म्यान्डेटसहित बनेको अन्तरिम सरकारले नै जेनजी आन्दोलनबारे सत्यतत्थ छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको हो । आयोगले सेना, प्रहरीसहित विभिन्न निकायसँग सोधपुछपछि बयानका लागि लेखकलाई बोलाएको थियो ।

लेखकले आयोगलाई निष्पक्ष र गहिरो अनुसन्धान गर्न आग्रह गरेका छन् । ‘यो घटनालाई युवाको भावनाको नाममा ढाकछोप गर्नु अन्याय हुनेछ,’ उनले भनेका छन्, ‘सत्य, तथ्य र जिम्मेवार पात्र पहिचान गरेर भविष्यमा यस्तो त्रासदी नदोहोरिने बाटो देखाउनु आयोगको दायित्व हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्