काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीलाई विगतमा राजनीतिक दलहरूले विकृत बनाएको आरोप लागिरहँदा यसपटक पुनः विकृति बढेको छ । दलहरूले धनाढ्य र सेलिब्रिटीहरूलाई राजनीतिक पहुँच दिलाउन समानुपातिक प्रणाली दुरुपयोग गरेको देखिएको छ । निर्वाचन आयोगमा आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६४ दलले समानुपातिक प्रणालीतर्फको बन्द सूची पेस गरेका छन् । त्यस्तो सूचीमा समानुपातिक निर्वाचन प्रणालीको भावनाभन्दा विपरीतका दाता र नाताका व्यक्तिहरूले प्रश्रय पाएका छन् ।
विभिन्न राजनीतिक दलले उद्योगी, व्यवसायी, कलाकार, पत्रकार, खेलाडी पनि यसपटक समानुपातिक सूचीमा अटाएका छन् । यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका बन्दसूची धेरै चर्चामा छ । ‘नेपोबेबी’ ट्रेन्ड चलाएर भएको जेनजी आन्दोलनको स्वामित्व लिएको रास्वपामा नातावाद र केही व्यापारिक व्यक्तिहरूको नाम परेपछि आलोचनाको विषय बनेको छ । त्यस्तै, समानुपातिक उम्मेदवार छनोटका क्रममा धेरै मत प्राप्त गर्नेलाई पछि पारिएको विषयले पनि पार्टीभित्र विवाद देखिएको छ ।
कांग्रेसले अधिकांश नयाँ र ३५ वर्ष मुनिका १५ युवा समावेश गरेर सूची बुझाएको छ । तर, केही प्रभावशाली नेताहरू र पूर्वमन्त्रीहरू समेत सूचीमा अटाएको विषय चर्चामा छ ।
नेपालको संविधानले समानुपातिक निर्वाचन प्रणालीमार्फत उपेक्षित, उत्पीडित वर्ग, समुदाय, महिला तथा सीमान्तकृत समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य राखेको छ । तर, दलहरूले बनाएको सूची हेर्दा प्रभावशाालीहरू नै समानुपातिकको बाटोबाट संसद् पुग्ने निश्चित देखिएको छ ।
यसअघि अवसर पाएकालाई नसमेट्ने नीति लिए पनि कांग्रेसले प्रभावशालीहरूका नातेदार र आफन्तलाई सूचीमा समेटेको छ ।

सूचीमा पूर्वराष्ट्रपतिका छोरा, वर्तमान राष्ट्रपतिकी छोरीदेखि पूर्वमहामन्त्री विमलेन्द्र निधिकी भाञ्जी निनु कर्णदेखि बलबहादुर केसीकी श्रीमती रीना उप्रेतीसम्म अटाएका छन् ।
कांग्रेसले पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन र राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेललाई समानुपातिकतर्फको उम्मेदवार बनाएको छ । चन्द्रमोहन यसअघि नै सांसद भइसकेका हुन् । २०७० को संविधानसभा निर्वाचनमा धनुषा–५ बाट उनी निर्वाचित भएका थिए । बाबु रामवरणको शक्तिकै बलमा उनले पटक– पटक अवसर पाएको आरोप पार्टीमा लाग्ने गरेको छ ।
कांग्रेसले केन्द्रीय सदस्य बलबहादुर केसीकी श्रीमती रीना उप्रेतीलाई पनि समानुपातिकतर्फको उम्मेदवार बनाएको छ । सहमहामन्त्री भीष्मराज आङ्देम्बे, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र पूर्व रक्षामन्त्री र पूर्व सांसदसमेत रहेका भीमसेनदास प्रधानको नाम यसपटक पुनः सांसद बनाउन समानुपातिक सूचीमा प्राथमिकतामा पारिएको छ ।
कांग्रेसका पुराना नेता केसी नाताले महामन्त्री गगन थापाका ससुरा हुन् । थापाको पहलमा केसी समानुपातिकमा परेको भन्दै केही आलोचना भएपछि उनले प्रष्टीकरण नै दिएका छन् । ‘नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ । म स्पष्ट पार्न चाहन्छु; यो मेरो चाहनाविपरीत हो । मेरो अनुरोध र हर सम्भव प्रयास विपरीतको निर्णय हो,’ थापाले भनेका छन् ।
रास्वपामा धनाढ्य र पपुलर फेसको बाहुल्यता
राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूची अहिले सबैभन्दा बढी चर्चामा छ । रास्वपाको बन्दसूचीमा गायकगायिका, कार्यक्रम प्रस्तोतादेखि खेलाडी र व्यवसायी अटाएका छन् । गोल्डस्टार ब्रान्डका जुत्ता–चप्पल उत्पादन गर्ने किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक विदुषी राणा खस–आर्य महिला क्लस्टरबाट बन्दसूचीमा परेकी छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई समूहका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाल पनि सूचीमा छन् ।
त्यस्तै, रास्वपामा कार्यक्रम प्रस्तोता, मोडल रिमा विश्वकर्मा, गायक प्रकाश सपूत, गायिका त्रिशला गुरुङ, सत्यकला राई र क्रिकेटर ज्ञानेन्द्र मल्ल समेटिएका छन् । पूर्वराजदूत भीमकृष्ण उदासकी छोरी सुम्निमा उदास पनि समानुपातिक सूचीमा छन् । सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ पनि सूचीमा छन् । यस्तै, यसअघि रास्वपाबाट समानुपातिक सांसद भइसकेका असीम शाहका दाजु टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ शाह पनि समानुपातिक सूचीमा मुस्लिम कोटाको एक नम्बरमा समावेश छन् । रास्वपा सभापति रवि लामिछानेले ‘राजनीतिमा लागेकाहरूले गर्न नसकेपछि अहिले विभिन्न क्षेक्रका व्यत्तिहरू राजनीतिमा आउनुपरेको’ बताएका छन् ।
त्यस्तै, हालै रास्वपा प्रवेश गरेका कुलमान घिसिङका नातेदार समानुपातिक सूचीमा परेको विषयमा पनि रास्वपाभित्र असन्तुष्टि देखिएको छ । बन्दसूचीमा घिसिङका तर्फबाट समावेश १४ जनामध्ये दुईजना आआफ्नो क्लस्टरमा पहिलो नम्बरमा छन् । आदिवासी जनजाति पुरुषतर्फ पहिलो नम्बरमा डा. राम लामा र दलित महिलातर्फ रिमा विश्वकर्मा पहिलो नम्बरमा छन् । मुस्लिम महिला क्लस्टरमा मोहना अन्सारी रास्वपा सूचीमा परेकी छन् । उनी अवसर पाउने महिलाहरूमा पर्छिन् ।
आदिवासी जनजाति पुरुषतर्फ पहिलो नम्बरमा रहेका राम लामा घिसिङको भान्जा, धर्मलाल तामाङ उनको भाइको ससुरा भएको स्रोतको दाबी छ । आदिवासी जनजाति पुरुषतर्फ सिफारिसमा परेका डा. महेन्द्र लावतीले त समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै आफ्नो नाम नै हटाउन भनिसकेका छन् ।
त्यस्तै, रास्वपाले उम्मेदवार छान्न गराएको आन्तरिक प्रतिस्पर्धामा तल परेकाहरू नेताहरूसँगको सम्बन्धका आधारमा समानुपातिक सूचीको उच्च स्थानमा राखेको भन्दै पार्टीभित्र विवाद देखिएको छ । नेताका नजिक रहेकाहरूले शक्तिको दुरुपयोग गरेको असन्तुष्टहरूको आरोप छ ।
महिलातर्फ पहिलो भएकीे रञ्जु दर्शना सूचीमा निकै पछाडि धकेलिएकी छन् । जबकि, सभापति लामिछानेनिकट प्रतिभा रावल खस आर्यतर्फ महिलाको सूचीको पहिलो नम्बरमा अटाएकी छन् । खस आर्यतर्फ सभापति लामिछानेका विश्वासपात्र मानिने सहमहामन्त्री विपिनकुमार आचार्य १ नम्बरमा छन् । यो क्लस्टरमा सबैभन्दा बढी मत रमेश प्रसाईंले पाएका थिए । आचार्य सातौं स्थानमा थिए । यही क्लस्टरमा दोस्रो नम्बरमा भोट ल्याउने पत्रकार प्रमोद न्यौपानेलाई सूचीको चौथो नम्बरमा राखिएको छ । त्यस्तै, जनजातिको २ नम्बरमा रहेका खुश्वु सरकार श्रेष्ठ प्राइमरी इलेक्सनमा निकै पछाडि थिए ।
जनजातिको १७ नम्बरको सूचीमा छिन् सुम्निमा उदास । उनी भोटिङमा निकै पछाडि परेकी थिइन् । उपसभापति स्वर्णिम वाग्लेको जोडबलमा उनी सूचीमा अट्न सफल भएको असन्तुष्टहरू बताउँछन् ।
रास्वपाको प्राइमरी इलेक्सनमा धेरै भोट ल्याएका आदिवासी र दलित क्लस्टरका नेतालाई सूचीको पछाडि धकेलिएको छ । दलिततर्फ पहिलो नम्बरमा सूचीमा राखिएका डा रुपक विश्वकर्मा घिमिरे आन्तरि क भोटिङमा सातौं स्थानमा थिए ।
यस्तै विभिन्न क्लस्टरमा नेता नजिक रहेकाहरूले मतमा पछि परेपछि समानुपातिक सूचीमा आफ्नो नाम अगाडि ल्याएका छन् । दलिततर्फ पहिलो मत ल्याएका विजय जैरुले भने, ‘मेरो कामको मूल्यांकन हुन्छ होला भन्ने लागेको थियो । तर, केही छैन । पार्टी नेतृत्वले एकपटक नसोधेकोमा दुःख लागेको छ ।’ उनको नाम बन्दसूचीमै अटेन ।
एमाले र नेकपामा पार्टीकै प्रतिबद्धको बाहुल्यता
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले भने विगतदेखि पार्टीमा सक्रिय तर अवसर नपाएकालाई प्राथमिकतामा राखेका छन् । एमालेले समानुपातिक निर्वाचन क्षेत्रको बन्द सूचीमा पार्टी सचिव पद्मा अर्यालदेखि जेनजी पुस्ताकी निता घतानीसम्म अटाएको छ । पूर्वउपाध्यक्ष गुरु बराल, सचिव पद्मा अर्याल, अखिल युवा संघकी पूर्व अध्यक्ष निरु पाल, पूर्व प्रमुख सचेतक शान्ता चौधरी र पूर्वशहरी विकास मन्त्री मन्जु चौधरीको नाम पेस गरेको छ । त्यस्तै जेनजी पुस्ताबाट नवनिर्वाचित पार्टीमा हालै केन्द्रीय सदस्य बनेकी निता घतानीको पनि नाम पनि छ ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीले अधिकांश नयाँ अनुहारलाई अघि सारेको छ । अखिल क्रान्तिकारीकी पूर्वअध्यक्ष पञ्चा सिंहदेखि चेपाङ समुदायका मंगलसिं प्रजासम्म समानुपातिक सूचीमा छन् । त्यस्तै, सूचीमा रहेका प्रेम बयक माओवादीका घाइते हुन् । सूचीमा परेका प्रमेश हमाल एकीकृत समाजवादीबाट आएका नेता हुन् । उनी अहिलेसम्म सांसद नभएकामा पर्छन् । उनी समानुपातिक सूचीमा खस आर्यमा पहिलो नम्बरमा छन् । त्यसैगरी माओवादीको ‘जनयुद्ध’का बेला गोरखा जेलब्रेक गर्ने कमला नहर्की पनि समानुपातिकको सूचीमा परेकी छन् ।
२२ दलका ११० उमेदवार, ५८ दलले पाए चुनाव चिन्ह
६४ दलले सूची बुझाएकामा ५८ दलले चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन् ।
समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गर्ने ६४ राजनीतिक दलमध्ये २२ दलले मात्रै समानुपातिकको सबै स्थान अर्थात् १ सय १० उम्मेदवारी मनोनयन गरेका छन् । आयोगका अनुसार ६४ दलले सूची बुझाएकामा ५८ दलले निर्वाचन चिह्नमा उम्मेदवारी दिएको जनाएको छ ।
सबै स्थानमा उम्मेदवारी दिने राजनीतिक दलमा कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेशन, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), श्रम संस्कृति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सद्भावना पार्टी, जनमत पार्टी, मितेरी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) रहेको आयोगले जनाएको छ ।
सूची बुझाएकामध्ये १० दलले ४ वटा एकल चिह्नमा चुनाव लड्ने छन् । जसअनुसार बस चिह्न लिएर नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले चुनावमा जानेछन् ।
त्यस्तै जाँतो एकल चिह्नमा राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले चुनाव लड्ने छन् ।
मोबाइल एकल चिह्नमा आम जनता पार्टी र जनादेश पार्टीले चुनवामा भाग लिने आयोगले जनाएको छ । सिंह चुनाव चिह्नबाट सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले चुनाव लड्ने भएका छन् । आयोगले पुस १३ र १४ गतेका लागि बन्दसूची बुझाउने कार्यतालिका निर्धारण गरेको थियो । दर्ता भएका बन्दसूचीका सम्बन्धमा पुस १५ देखि २० गतेसम्म आयोगले छानबिन गर्ने कार्यतालिका छ । समानुपातिकतर्फ ११० जना र प्रयक्षतर्फबाट १ सय ६५ जना निर्वाचित हुनेछन् ।