काठमाडौं । संसद्को मध्यावधि निर्वाचनअघि नै पार्टीको नेतृत्वमा आउने गगन थापा र डा. शेखर कोइरालालाई कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर जाने वातावरण बनाइदिने भएका छन् । देउवाले दुवैलाई समर्थन नदिने भन्दै कित्ता प्रष्ट पारेर यस्तो बाटो खोलेका हुन् ।
देउवाले पार्टीको १५औं महाधिवेशनमा आफ्नो समर्थन कार्यवहाक सभापति पूर्णबहादुर खड् कालाई रहने बताएका छन् । आफ्नै निवास महाराजगञ्जमा मंगलबार सञ्चारकर्मीहरूसँग उनले खुलेरै खड् कालाई समर्थन गर्ने बताएका हुन् । सभापतिका विषयमा हालसम्म शेखर कोइरालासँग कुरा नभएको र महामन्त्री गगन थापालाई सहयोग गर्न नसक्ने बताइसकेको पनि उनले खुलाए ।
कांग्रेस सभापति देउवा कांग्रेसका कम बोल्ने नेतामा पर्छन् । कुरा एउटा र काम अर्को नगर्ने नेताका रुपमा अरु दलका शीर्ष नेताले समेत देउवालाई लिने गरेका छन् । उनले सञ्चारकर्मीहरूसँगको भेटमा पनि आफ्नो त्यही स्वभाव देखाए । ‘पार्टीको महाधिवेशनमा अब सभापतिमा तपाईको समर्थन कसलाई हुन्छ ?’ भन्ने प्रश्नमा देउवाले भने, ‘मैले पूर्णबहादुरलाई नै सहयोग गर्छु। अरूलाई पनि भन्ने गरेकै छु। उपसभापति हो । अहिले कार्यवाहक पनि उसैले चलाइरहेको छ ।’
त्यस्तै, सभापति देउवाले नियमित महाधिवेशनकै कार्यतालिका ल्याइसकेपछि विशेष महाधिवेशनको बहसको तर्क नभएको बताए । कार्यतालिका अनुसार पूर्वनिर्धारित मितिमा महाधिवेशन नहुने आशंका बढिरहँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समर्थक विशेष महाधिवेशनको यसअघि पेस भएको विशेष प्रस्ताव ब्यूँताउने दबाब दिने तयारीमा छन् । सभापति देउवाले फागुन २१ गते चुनाव हुने भइसकेपछि त्यसअघि पार्टी महाधिवेशन सम्भव नभएको बताए । उनले भने, ‘माघमा महाधिवेशन गरेर फागुनको चुनावमा जान सकिँदैन नि ! यताको रिसले उता चुनाव हराउन लागिपर्छन् नेताहरू ।’
आफूले नियमित महाधिवेशन चाहेको भन्दै गत असोज २८ बाटै कार्यवाहक दिइसकेकाले आफूले केही गर्न नसक्ने पनि देउवाले बताए ।
महामन्त्री थापा निर्वाचनअघि नेतृत्व परिवर्तन गरेर मात्रै चुनावमा जानुपर्ने र त्यसो नभए आफू निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । देउवाले भने फागुनमा चुनाव हुँदा विशेष महाधिवेशनमा जानै नसकिने बताए । कांग्रेसले पुस २६–२८ गते काठमाडौंमा १५औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । क्रियाशील सदस्यताकै टुंगो नलाग्दा पूर्व निर्धारित कार्यतालिका अनुसार तल्लो तहका अधिवेशन नहुने निश्चित भएसँगै तोकिएको मितिमा नियमित नहुने निश्चित भइसकेको छ ।
सभापति देउवाले सञ्चारकर्मीसँगको भेटमा जेनजी आन्दोलनका बेला आफूमाथिको आक्रमण नियोजित भएको पनि बताए ।
भदौ २४ गते बुढानिलकण्ठस्थित निवासमा आफूमाथि आक्रमण हुँदा जेनजीले नै बचाएको पनि उनले बताए । कांग्रेसको पार्टी र नेता तथा निजी सम्पत्तिमा सबैभन्दा धेरै आक्रमण हुनुलाई उनले नियोजित भएको बताए । ‘किसुनजीका आश्रममा आक्रमण भएको छ र सुराही पनि फुटाइएको छ, लोकतन्त्र–निष्ठावादी किसुनजीका आश्रम र सुराहीमाथि आक्रमण भएको छ,’ उनले भने,‘भ्रष्टाचारविरोधी सुशासन पक्षधर अभियन्ताले त्यसरी आक्रमण गर्न सक्छ र ?’