नेभिगेशन
मनोरञ्जन

वर्षान्तमा हलिउडको सहारा ‘अवतार’ र ‘मार्टी सुप्रिम’

कोभिड महामारीअघिको समययताकै उत्कृष्ट क्रिसमस बक्स अफिस नतिजा, दशकको विघ्नरहित पहिलो वर्ष भएकाले उच्च अपेक्षा

हलिउडको उतारचढावले भरिएको सन् २०२५ को अन्त्य धेरै टिकट बिक्रीसँगै गरेको छ । क्रिसमसको बिदाले भरिएका फिल्म हलहरूमा दर्शक ‘अवतारः फायर एन्ड एश’ र टिमोथी चालामेट अभिनीत ‘मार्टी सुप्रिम’ मा रमाएका छन् । यी दुई फिल्मले बक्सअफिसमा दिएको धक्काले हलिउडको वर्षान्त सुखद बनाएको छ ।

जेम्स क्यामरुनको पान्डोरामा फर्किएको पछिल्लो यात्राले अपेक्षाअनुसार टिकट बिक्रीमा दबदबा कायम गर्‍यो । स्टुडियोको आइतबार सार्वजनिक अनुमानअनुसार क्रिसमसदेखि आइतबारसम्मको चारदिने अवधिमा यो फिल्मले ८८ मिलियन डलर संकलन गर्‍यो भने सप्ताहान्तमा मात्र ६४ मिलियन डलर कमाएको छ । सन् २०२२ को ‘अवतारः द वे अफ वाटर’ भन्दा घरेलु बजारमा कमजोर सुरुआत भए पनि दोस्रो सप्ताहान्तमा यसको गिरावट केवल २८ प्रतिशत रह्यो, जबकि ‘वे अफ वाटर’ ५३ प्रतिशतले घटेको थियो ।

दुई सातामै ‘फायर एन्ड एश’ ले उत्तर अमेरिकामा २१७.७ मिलियन डलर कमाइसकेको छ । तर ४०० मिलियन डलर बजेटको यो फिल्मले अन्तर्राष्ट्रिय बजारमा झन् ठूलो दर्शक तानेको छ, जहाँ अहिलेसम्म ५४२.७ मिलियन डलर आम्दानी गरिसकेको छ । नयाँ वर्ष र जनवरीको सुरुआतसम्म पनि कारोबार टिकाइराख्न सके यसले अघिल्ला दुई अवतार फिल्मजस्तै ऐतिहासिक उचाइ भेट्ने सम्भावना छ । त्यसो भएमा ‘अवतार’ तीनवटै दुई अर्ब डलर कमाउने पहिलो फ्रेन्चाइज बन्न सक्छ ।

क्रिसमस र सप्ताहान्तको चहलपहलमा ‘मार्टी सुप्रिम’ पनि चर्चामा रह्यो । ए–ट्वेन्टीफोर स्टुडियोको सबैभन्दा ठूलो बजेटको यो फिल्म, जोश सफ्दी निर्देशित १९५० को दशक पृष्ठभूमिमा आधारित टेबल टेनिस ड्रामा हो । यसले चारदिने बिदामा २७.१ मिलियन डलर संकलन गर्दै ठूलो सफलता हासिल गरेको छ ।

लस भेगासको ‘स्फियर’ माथि देखा पर्नेसम्म चालामेटले यो फिल्मको प्रचारमा निकै मेहनत गरे । बलियो सुरुआतले ३० वर्षीय अभिनेताको स्टार पावर पुष्टि गर्‍यो र पूर्णतः मौलिक कथामा बनेको फिल्मका लागि दुर्लभ बक्स अफिस जितको रूपमा चिनियो । करिब ७० मिलियन डलर लागतको यो फिल्मले विश्लेषकहरूले दोस्रो स्थानमा रहने अनुमान गरेको सोनी पिक्चर्सको ‘एनाकोंडा’ लाई समेत पछि पारेको छ ।

ज्याक ब्ल्याक र पॉल रुड अभिनीत कमेडी ‘एनाकोंडा’ ले चारदिने बिदामा २३.७ मिलियन डलर कमाएको छ । कमेडी विधाका लागि यो राम्रो मानिए पनि कमजोर समीक्षाका कारण यसको प्रदर्शन प्रभावित भएको देखियो ।

यससँगै हलिउडले कोभिड–१९ महामारीअघिको समययताकै उत्कृष्ट क्रिसमस डे बक्स अफिस नतिजासहित वर्ष टुंग्याएको छ । महामारी वा हडतालले असर नगरेको दशकको पहिलो वर्ष भएकाले २०२५ प्रति उच्च अपेक्षा थियो । कमस्कोरका वरिष्ठ मिडिया विश्लेषक पल डेर्गाराबेडियनका अनुसार वर्षको अन्त्य बलियो रह्यो, यद्यपि समग्र यात्राले धेरै उतारचढाव देखायो ।

तर समग्र रूपमा घरेलु टिकट बिक्री सन् २०२४ को निराशाजनक ८.७५ अर्ब डलरकै हाराहारीमा सीमित रह्यो । २०२५ का तीन दिन बाँकी रहँदा कुल बक्स अफिस ८.७६ अर्ब डलर पुगेको छ, जबकि २०१९ मा यो ११.४ अर्ब डलर थियो ।

यसले हल व्यवसायीहरूलाई चिन्तित बनाएको छ, विशेषगरी नेटफ्लिक्सले वार्नर ब्रदर्स जस्तो ऐतिहासिक स्टुडियो किन्न खोजिरहेको सन्दर्भमा। २०२५ को सबैभन्दा धेरै कमाउने फिल्म चिनियाँ निर्माण ‘ने झा २’ रह्यो, जसले दुई अर्ब डलर कमायो । सबैभन्दा धेरै हेरिएको फिल्म ‘के–पप डिमन हन्टर्स’ थियो, जसलाई सोनी पिक्चर्सले नेटफ्लिक्सलाई बेचेको थियो । ओस्कारसमेत युट्युबतर्फ सर्दै छन् ।

यस वर्ष पीजी रेटिङका फिल्महरूले राम्रो प्रदर्शन गरे । लगातार दोस्रो वर्ष पीजी रेटिङले पीजी–१३ लाई उछिन्यो । घरेलु बजारमा पीजी फिल्मले २.८७ अर्ब डलर कमाए भने पीजी–१३ ले २.७८ अर्ब डलर । सबैभन्दा ठूला तीन हलिउड ब्लकबस्टर ‘जुटोपिया २’ (१.४२ अर्ब डलर), ‘लिलो एन्ड स्टिच’ (१.०४ अर्ब डलर) र ‘ए माइनक्राफ्ट मुभी’ (९५८.२ मिलियन डलर) सबै पीजी रेटिङका थिए ।

‘जुटोपिया २’ ले पाँचौं सातामा पनि २० मिलियन डलर कमाउँदै नयाँ रिलिजहरूलाई पछि पार्‍यो । यी सफलतासँगै डिज्नी २०१९ पछि एकै वर्षमा विश्वव्यापी रूपमा ६ अर्ब डलर पार गर्ने पहिलो स्टुडियो बन्यो ।

अब २०२६ का लागि अपेक्षा बढ्दै गएका छन् । ‘द सुपर मारियो ग्यालेक्सी मुभी’, ‘स्पाइडर–म्यानः ब्रान्ड न्यू डे’, लाइभ–एक्सन ‘मोआना’, ‘टोय स्टोरी ५’ र ‘द म्यान्डलोरियन एन्ड ग्रोगु’ जस्ता ठूला शीर्षकहरू प्रतीक्षारत छन् ।

आउँदो साता अमेरिकामा विद्यालय बिदा र कार्यालय बिदामा कारण हलहरू अझ व्यस्त हुने अपेक्षा छ । यस क्रममा लायन्सगेटको ‘द हाउस्मेड’, एन्जल स्टुडियोजको ‘डेभिड’, प्यारामाउन्टको ‘द स्पोन्जबब मुभीः सर्च फर स्क्वायरप्यान्ट्स’ र फोकस फिचर्सको ‘सङ सङ ब्लु’ ले पनि दर्शक तान्ने प्रयास गर्नेछन् । ‘सङ सङ ब्लु’ ले बिदाको सप्ताहान्तमा चार दिनमा १२ मिलियन डलर कमाउँदै बलियो सुरुआत गरेको छ र दर्शक प्रतिक्रियासमेत सकारात्मक देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन