नेभिगेशन
मनोरञ्जन

टिकटक सर्चमा नेपालीको बदलिँदो रुचि

सन् २०२५ भरि नेपालबाट सबैभन्दा धेरै केके खोजी भयो भन्ने सूची टिकटकले सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक सूचीले नेपाली प्रयोगकर्ताहरू वर्षभरि के–कस्ता विषयमा बढी जिज्ञासु रहे, उनीहरूको रुचि, चासो र दैनिक जीवनसँग जोडिएका खोज प्रवृत्तिहरू कस्ता रहे भन्ने स्पष्ट झलक देखाएको छ ।

सूचीअनुसार २०२५ मा टिकटक सर्च नेपाली प्रयोगकर्ताका लागि मनोरञ्जनमा मात्र सीमित नरही व्यवहारिक जानकारी खोज्ने महत्वपूर्ण माध्यमका रूपमा विकसित भएको देखिन्छ । दसैंतिहार र तीजजस्ता चाडपर्वका सामग्री, खाना पकाउने रेसिपी, घुमफिरका गन्तव्य, म्युजिक ट्रेन्ड, टेलिभिजन कार्यक्रमदेखि दैनिक निर्णयमा सहयोग पुर्‍याउने उपयोगी जानकारीसम्म टिकटकमा खोजिएको छ । छिटो जानकारी पाउन, समाचार अपडेट लिन, स्थानीय शैली र संस्कृतिबाट प्रेरणा लिन तथा नेपाली सन्दर्भ बुझ्ने क्रिएटरका सिफारिस प्राप्त गर्न प्रयोगकर्ताहरू टिकटक सर्चमा निर्भर देखिएका छन् ।

टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन्स लिड उमैस नवीदका अनुसार प्रयोगकर्ताहरूले भिडियो हेर्न मात्र नभई वास्तविक समयमा जानकारी, सिफारिस र सन्दर्भ खोजिरहेका छन् । खेलकुद गतिविधि पछ्याउन, सप्ताहान्तका घुमाघामको योजना बनाउन, नयाँ सीप सिक्न वा किनमेलअघि रिभ्यु हेर्न नेपालीले टिकटकलाई आधार बनाइरहेको देखिएको छ ।

यस वर्षका सर्च ट्रेन्डहरूले उद्देश्यपूर्ण खोजको प्रवृत्ति बढ्दै गएको संकेत गरेका छन् । मुस्ताङ, मनाङ, नर्थ अन्नपूर्ण बेस क्याम्प जस्ता गन्तव्यप्रति देखिएको चासोले टिकटकले यात्रा योजना र नयाँ अनुभव खोज्न महत्वपूर्ण भूमिका खेलिरहेको देखाउँछ । सेलिब्रिटी, चलचित्र, ड्रामा, गीत–संगीत र भाइरल क्षणहरूसँगै सार्वजनिक घटना, प्रविधि र समसामयिक समाचारमा अपडेट रहन पनि प्रयोगकर्ताहरू टिकटकमा सक्रिय देखिन्छन् । २०२५ मा सबैभन्दा धेरै खोजिएका शोबिज सेलिब्रिटीमा प्रियंका कार्की, राजेश हमाल र स्वस्तिमा खड्का छन् । टिकटक क्रिएटरतर्फ सिम्पल खरेल र आश्मा विश्वकर्मा चर्चित रहे भने खेलाडीमा साम्बा, विमल घर्ती मगर, लियोनल मेस्सी र किलियन एम्बाप्पे बढी खोजिएका छन् । गीत, खाना र ट्रेन्डिङ क्षणका खोजीमा पनि नेपाली सक्रिय देखिएका छन् । 

सबैभन्दा धेरै खोजिएका

सेलिब्रिटी

प्रियंका कार्की, राजेश हमाल, स्वस्तिमा खड्का, रेखा थापा, मदन कृष्ण श्रेष्ठ

टिकटक क्रिएटर

सिम्पल खरेल, आश्मा विश्वकर्मा, रचना रिमाल, अनमोल केसी, आना शर्मा

खेलाडी

साम्बा, विमल घर्ती मगर, दीपेन्द्र सिंह ऐरी, एम्बाप्पे, मेस्सी

ठाउँ

मुस्ताङ, मनाङ, नर्थ अन्नपूर्ण बेस क्याम्प, पशुपतिनाथ मन्दिर, भीमसेनस्थान मन्दिर

टीभी शो/ड्रामा

बिग बोस, फिल्महरू परान, जेरी अन टप, जारी २ र रोडिज सिजन ७

ट्रेन्डिङ क्षण

तीज, कुकुर तिहार, मिस ग्राण्ड नेपाल, रुटिन अफ नेपाल बन्द, एनपीएल–२

गीत/साउन्डट्रयाक

ठुमक ठुमक जानीए माहिए दे नाल, आइसक्रिम खाउंगी काश्मिर जाउंगी, माया गर्नु ल (जोन चाम्लिङ), वाक्क लाग्दो संसार, सारी लाएर आएँ भने

खाना/रेसिपी

हत्क्युला फ्रुट, स्टिम चिकेन रे सिपी, सेलरोटी रेसिपी, सिंगडा रेसिपी, पक्कु रेसिपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन