नेभिगेशन
राजनीति

पूर्वमन्त्री गुप्ता कारागार चलान

गत असारमा लिची बगैँचा जग्गा प्रकरणको अडियो सार्वजनिक हुँदा सामान्य प्रशासन मन्त्री गुप्ताले तत्कालीन प्रधानमन्त्री ओलीको दबाबपछि पदबाट राजीनामा दिएका थिए

काठमाडौं । पोखराको लिची बगैँचा जग्गा प्रकरणमा पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता कारागार चलान भएका छन् । विशेष अदालतले भ्रष्टाचार आरोपमा बुधबार गुप्तालाई थुनामा पठाउन आदेश दिएको हो । विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीराज श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएपछि गुप्तालाई प्रहरीले डिल्लीबजार कारागार चलान गरेको हो ।

बयानपछिको आदेशमा उनलाई थुनामै राखेर मुद्दा अगाडि बढाउन भनिएको छ । कास्कीको लिची बगैँचा जग्गा प्रकरणमा ७८ लाख डिल गरेको अडियो सार्वजनिक हुँदा गत असारमा गुप्ता एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री थिए । निकै आलोचना हुँदा पनि पद नछाडेपछि उनलाई ओलीले गत असार ३१ मा राजीनामा गर्न लगाएका थिए ।

पोखरा–१६ मा रहेको दीप विर्ता (लिची बगैचा) मा रहेको भनिएको नक्सा न २५, २६ र २८ को जग्गाको सम्बधमा भ्रष्टाचार प्रकरणमा जोडिएका पूर्वमन्त्री गुप्तासहित ७ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत असोज २२ मा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । यही मुद्दामा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्व मन्त्री रञ्जिता श्रेष्ठ समेत मुछिएकी थिइन् । दुई जनाबीचको अडिओ बाहिरिएपछि अख्तियारले अनुसन्धान थालेको थियो । मन्त्री गुप्तासँगको उक्त अडिओ संवादमा बिचौलियाले ‘पोखराको जग्गाले तपाईंलाई टुलुटुलु हेरेर बसेको छ, अहिले २५ (लाख) राख्नुस्, काम बनेपछि माझीकुनामा माछा खाऊँला,’ भनेको सुनिएको थियो । माझीकुनामा माछा घुस खानका लागि उनीहरूले प्रयोग गरेको कोड भाषा थियो ।

दुई पूवमन्त्रीसहित मालपोत कार्यालय कास्की, पोखराको तत्कालीन प्रमुख रामचन्द्र अधिकारी, घर जग्गा व्यवसायी/विचौलिया प्रतिवादी सुजन लामा वा सुजनकुमार लामा भन्ने सुजनकुमार तामाङ, खेम पुन भन्ने खमबहादुर पुन, यमकुमारी गुरूङ, तुल्सीराम बुढामगरविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा गरेको थियो । यस घटनामा अख्तियारले ७८ लाख रुपैयाँ बिगो कायम गरेको थियो ।

गुप्ता पक्राउ परेका थिएनन् । उनी आफूविरुद्धको मुद्दामा बचाउ गर्दै बुधबार अदालतमा उपस्थित भएका थिए । पक्राउ पुर्जी दिइ पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश गरेलगत्तै उनी पक्राउ परेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्