नेभिगेशन
राजनीति

समानुपातिक सूचीमा रास्वपा प्रतिरक्षात्मक

काठमाडौं । व्यापक आलोचना हुन थालेपछि समानुपातिकको बन्द सूचीका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिरक्षात्मक बनेको छ । वैकल्पिक राजनीतिमा आशा गरिएका अनुहार समेटेको भए पनि आर्थिक रुपले सम्पन्न, संभ्रान्त वर्ग र सेलिब्रिटीका ‘पपुलर फेस’लाई पार्टीले समानुपातिकमा रोखपछि आलोचनाको घेरामा परेको हो ।

चुनावी अभियानमा भावी प्रधानमन्त्री घोषणा गरेरै आक्रामक रुपमा अघि बढेको रास्वपा समानुपातिक सूचीका कारण प्रश्नको घेरामा पर्दा नेताहरू प्रतिरक्षात्मक बनेका छन् । रास्वपाले काठमाडौं महानगरका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई पार्टीमा प्रवेश गराएको मात्र छैन, बालेनलाई भावी प्रधानमन्त्रीकै उम्मेदवार बनाउने सहमति गरेको छ ।

भदौ २३ र २४ को जेनजी आन्दोलनको भावनाअनुसार वैकल्पिक शक्ति एकठाउँमा आएपछि धेरैले रास्वपा आक्रामक रुपमा अघि बढ्ने टिप्पणी गरेका थिए । तर, समानुपातिकको बन्दसूचीमा ‘नेपोट्रेन्ड’ चलाएका जेनजी अगुवाले नै समानुपातिक सूचीमा दाता र नाता हाबी भएको भन्दै आलोचना भएपछि रास्वपा गल्ती सच्याउँछौं भन्ने तहमा पुगेको छ । बुधबार पोखरा पुगेका पार्टी सभापति रवि लामिछानेले समानुपातिक सूचीमा कमजोर भएको अस्वीकार गरेनन् । उनले समानुपातिक सूचीलाई लिएर आएका गुनासो सम्बोधन गर्दै सच्याउने प्रतिबद्धता पनि जनाएका छन् । 

विगतमा अरु दलले प्रभावशालीलाई सांसद बनाएको भन्दै चर्को आलोचना गर्ने रास्वपाकै सूचीमा त्यस्ता नाम परेपछि आलोचना भएको छ ।

लामिछानेको जमानत बसिदिएका मनोहर प्रधानको नाम पार्टीको समानुपातिक सूचीमा परेको छ । बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन मुद्दामा प्रधानले लामिछानेलाई थुनामुक्त गर्न ३० लाख रूपैयाँ जमानत दिएका थिए । त्यस्तै, यसअघि रास्वपाबाट समानुपातिक सांसद बनेका असिम साहका दाई असिफ साह र उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालका छोरा समानुपातिक सूचीमा छन् । उनीहरूको नामलाई लिएर कतिपयले नातावाद र दातावाद हाबी भएको भन्दै आलोचना गरेका छन् । त्यस्तै, रास्वपामा उपसभापति कुलमान घिसिङका नातेदार पनि सूचीमा परेको विषयमा उनकै पूर्वपार्टी उज्यालो नेपाल भित्र चर्को आलोचना भएको थियो ।

चौतर्फी विरोध भएपछि रास्वपाका सभापति लामिछाने र ऊर्जामन्त्री घिसिङले गल्ती स्वीकार गर्दै सच्याउने बताएका छन् । रास्वपातर्फबाट पेस भएका नामहरूमा प्रारम्भिक मतदानबाट शीर्ष स्थानमा आएकालाई हटाएर सभापति लामिछानेले आफू निकटलाई स्थान दिएको आरोप पार्टीभित्रै लागिरहेको छ ।

घिसिङमाथि परिवारवाद चलाएको र बालेनले ‘पहुँचवाला’लाई स्थान दिएको आरोप छ । लामिछाने, घिसिङ र शाहका तर्फबाट संकलित नाम समेटेर रास्वपाले समानुपातिकको ११० जनाको बन्दसूचीमा आयोगमा बुझाएको थियो ।

राजनीतिक दलले पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म आयोगले छानबिन गर्नेछ । । आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि २१ देखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । पुस २८ देखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्द सूची प्रकाश गरिनेछ । माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने पनि प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

नाम थपघटन गर्न मिल्दैन: आयोग

लामिछानेले समानुपातिक सूचीमा गल्ती सच्याउने बताएको भए पनि अब सहज भने देखिँदैन । निर्वाचन कानुनअनुसार दलहरूले प्रारम्भिक सूचीमा नै सबै आवश्यक क्लस्टर र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ, पछि नाम थप्न वा हटाउन मिल्दैन ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समानुपातिकतर्फको सूची बुझाएपछि नाम परिवर्तन गर्न नमिल्ने बताए । उनका अनुसार दलहरूले बुझाएको बन्दसूचीमा क्लस्टरमा नमिले मिलाउन सकिन्छ तर व्यक्ति परिवर्तन गर्न भने पाउँदैनन् । हाल समावेश व्यक्तिको नाम हटाएर अर्को व्यक्तिको नाम अब थप गर्न नपाइने उनले बताए । संशोधन भनेको महिला, दलित, जनजाति, मधेशीलगायतका क्लस्टरमा नाम नमिले मिलाउने भएको उनले बताए । प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ अनुसार प्राप्त सूचीमा नाम छ/छैन, आयोगले अध्ययन गर्छ । छानबिन तथा परीक्षण पनि हुन्छ । कुन क्लस्टरमा नाम मिल्यो वा मिलेन भन्ने यकिन गरिन्छ । अन्तिम बन्दसूची स्वीकृत भएपछि मात्रै सबै स्पष्ट हुन्छ । ‘नाममा कुनै पनि परिवर्तन गर्न पाइँदैन । संशोधन भनेको र परिवर्तन भनेको फरक–फरक कुरा हो । संशोधन भनेको सामान्य त्रुटि सच्याउने हो । परिवर्तन भनेको पेस गरेको सूचीमै नाम फेरबदल गर्ने हो । परिवर्तन गर्न पाउने विषय निर्वाचन आयोगको कार्यतालिकामा उल्लेख छैन । यो कानुनले पनि दिँदैन ,’ उनले भने ।

रास्वपाको सूचीमा जेनजी असन्तुष्ट

जेनजी आन्दोलनको स्वामित्व लिएको रास्वपाको सूचीमा जेनजी अभियन्ताहरू नै असन्तुष्ट देखिएका छन् । उनीहरूले समानुपातिक सूचीमा अटाउका नामहरूमा प्रश्न उठाएका छन् भने केहीले समानुपातिक सूचीमा आफ्नो ठाउँको प्रतिनिधित्व नभएकोमा रोष व्यक्त गरेका छन् ।

जेनजी अभियन्ता भावना राउत भन्छिन्, ‘म चाहन्छु रास्वपा ठूलो पार्टी बनोस्, बालेन प्रधानमन्त्री बनून्, पार्टिले बहुमत पाओस् तर नैतिक मूल्य साटेर, गलतलाई सही ठानेर, जिउँदो लास जस्तै अन्धसमर्थक बन्न म सक्दिनँ । समर्थन गर्न म पहिलो पंक्तिमा उभिन्छु, तर प्रश्न गर्न, आलोचना गर्न र जवाफदेही बनाउन पनि म पहिलो पंक्तिमै उभिन्छु, यो मेरो प्रतिबद्धता हो। मैले बुझेको राजनीति हो ।’

अर्की जेनजी अभियन्ता रक्षा बम पनि असन्तुष्ट छिन् । समानुपातिक सूचीमा समावेशिताको धज्जी उडाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन् । ‘सदियौँदेखि पछि पारिएका समुदाय, पछाडि पारिएका ठाउँ र उनीहरूको आवाजलाई सदनमा प्रतिनिधित्व गराउने उद्देश्यले नेपालको संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको हो । निश्चित वर्गको हालीमुहाली तोड्न, सदियौँदेखिको असमान शक्ति वितरणका कारण पछाडि पारिएका समुदायहरूको उत्थान गर्न यो प्रणाली लागू गरिएको थियो,’ उनले लेखेकी छन्, ‘दुखद कुरा चै, हिजो हजारौँको बलिदानबाट प्राप्त भएको यही समानुपातिक प्रतिनिधित्व प्रणालीलाई आज दलहरूले सांसद पद बिक्री केन्द्र बनाएका छन् । आफ्ना नातेदार भर्ती गर्ने केन्द्र बनाएका छन् । र यतिखेर दलहरूको समानुपातिक सूची देखेर मन खिन्न भयो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्