नेभिगेशन
स्वास्थ्य

भेप सेवनले डिप्रेशन र आत्महत्याका घटनाहरू बढाएको निष्कर्ष

किशोर - किशोरीहरूमा विद्युतीय चुरोट (भेपिङ) को प्रयोगले भविष्यमा चुरोट सेवन गर्ने सम्भावना उल्लेख्य बढाउने एउटा अध्ययनले देखाएको छ । मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने प्रमाणहरू फेला परेको र यसले डिप्रेशन र आत्महत्याका घटनाहरू पनि बढाएको अध्ययनको निष्कर्ष छ ।

अनुसन्धानकर्ताहरूले ५६ वटा समीक्षात्मक अध्ययनहरूको विश्लेषण गरेपछि यो निष्कर्ष निकालेका हुन् । अध्ययनमा कुल तीन सय ८४ वटा अनुसन्धानहरू समेटिएका छन् । तीमध्ये किशोरहरूमा ई–सिगरेट प्रयोग र त्यसपछि चुरोट सेवनबीचको सम्बन्धबारे २३ वटा अध्ययनलाई विश्लेषण गरिएको थियो ।

यस विषयमा केन्द्रित यो अहिलेसम्मकै ठूलो अध्ययन हो । यसले भेपिङका कारण उत्पन्न हुने स्वास्थ्यका अन्य जोखिमहरू पनि देखाएको छ । तीमध्ये श्वासप्रश्वाससम्बन्धी रोगहरू (जस्तै दम र दमको समस्या झन् चर्किनु), लागूऔषध सेवन (जस्तै मदिरा र गाँजा प्रयोग) लगायत छन् ।

अध्ययन अनुसार भेपिङले न्यूमोनिया, ब्रोंकाइटिस, टाउको दुखाइ, माइग्रेन, चक्कर लाग्ने समस्या तथा पुरुषहरूको शुक्राणुको संख्यामा समेत कमी आउने सम्भावना अध्ययनले औंल्याएको छ । मानसिक स्वास्थ्यका दृष्टिले पनि भेप प्रयोगकर्ता किशोरकिशोरीमा डिप्रेशन र आत्महत्याका विचार देखिनु चिन्ताजनक रहेको अध्येताले बताएका छन् ।

यो अध्ययन ‘टोबाको कन्ट्रोल’ नामक वैज्ञानिक पत्रिकामा प्रकाशित छ । पत्रिकाका अनुसार किशोरावस्थामा ई–सिगरेट (भेप) प्रयोगले भविष्यमा उनीहरूलाई चुरोट सेवनतर्फ आकर्षित गर्ने धेरै अध्ययनहरूमा दोहोरिएको छ ।

अनुसन्धानमा संलग्न युनिभर्सिटी अफ योर्कका वैज्ञानिक डा. सु गोल्डर भन्छन्, ‘ई–सिगरेट प्रयोग गर्ने किशोरकिशोरीहरूले भविष्यमा चुरोट सेवन गर्ने सम्भावना धेरै देखिएको छ । त्यसले उनीहरूलाई भेपिङको जोखिमबाट जोगाउन सार्वजनिक स्वास्थ्य नीतिहरू कडा बनाउन आवश्यक छ ।’

लण्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका क्लिनिकल सह–प्राध्यापक डा. ग्रेग हार्टवेलले यस अध्ययनले ‘तम्बाकू उद्योगमा थप कडाइ किन जरुरी छ भन्ने स्पष्ट देखाएको’ बताएका छन् । यो अध्ययन बेलायतमा हालै एकपटक मात्र प्रयोग गर्न मिल्ने डिस्पोजेबल भेपलाई प्रतिबन्ध लगाइएपछि सार्वजनिक भएको हो । 

भेपमा निकोटिन होस् या नहोस् अब इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्थ आयरल्याण्डमा यस्ता भेप न पसलबाट न त अनलाइनमार्फत किनबेच गर्न पाइन्छ । यो निर्णयले बालबालिका र किशोरहरूमा भेपिङको बढ्दो प्रयोग रोक्ने अपेक्षा गरिएको छ । युकेको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले अघिल्लो वर्ष सार्वजनिक गरेको तथ्यांकअनुसार ११ देखि १५ वर्ष उमेर समूहका करिब एक चौथाइ बालबालिकाले भेप प्रयोग गरिसकेका थिए ।

झन्डै १० प्रतिशत नियमित प्रयोगकर्ता थिए । यद्यपि, पुनः प्रयोग गर्न मिल्ने भेपहरू भने अझै कानूनीरूपमा बिक्री गर्न पाइन्छ । उता भेप बिक्री गर्ने खुद्रा कम्पनी ‘भीपीजेड’ का कार्यकारी निर्देशक जेमी स्ट्राचान भन्छन्, ‘भेपिङ बालबालिकाको पहुँचभन्दा टाढै हुनुपर्छ । किशोरकिशोरीहरूलाई पनि यसप्रति उत्साहित गर्नु हुँदैन भन्ने कुरामा हामी जोडदार समर्थन गर्छौं । यो कडा नियमप्रति हामी समर्थन गर्छौं ।’

ब्रिटिश अमेरिकन टोबाको (बीएटी) का वैज्ञानिक तथा अनुसन्धान निर्देशक डा. जेम्स मर्फीले भने फरक मत राखेका छन् । उनी भन्छन्, ‘भेपिङले चुरोट सेवनतर्फ क्रमशः आकर्षित गर्छ भन्ने प्रमाण निकै कम छ । वयस्कहरूलाई सुरक्षित विकल्प उपलब्ध गराउने ‘स्मार्ट रेगुलेसन’को आवश्यकता छ । त्यसबाट कम उमेरमा प्रयोग रोक्ने र गुणस्तर सुनिश्चित गर्ने काममा सघाउ पुर्‍याउँछ ।’

- एजेन्सी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्