नेभिगेशन
मनोरञ्जन

हलिउडमा घटे महिला निर्देशक

गएको वर्ष शीर्ष २५० चलचित्रमा काम गर्ने निर्देशकहरूमध्ये महिलाको हिस्सा केवल १३ प्रतिशत मात्र थियो। यो स्तर सन् २०२४ को तुलनामा ३ प्रतिशत बिन्दुले घटेको हो । उता सन् २०२४ मा शीर्ष कमाइ गर्ने चलचित्रमध्ये १६ प्रतिशतको नेतृत्व महिलाले गरेका थिए। बिहीबार सार्वजनिक गरिएको सान डिएगो स्टेट विश्वविद्यालयको एक अध्ययनले यो तथ्य देखाएको हो।

यो चिन्ताजनक तथ्याङ्क हलिउडले एक कठिन वर्षबाट अगाडि बढ्ने प्रयास गरिरहेका बेला आएको हो । अघिल्लो वर्ष लस एन्जलस राज्य डढेलोबाट पीडित थियो । त्यस्तै स्थानीय चलचित्र तथा टेलिभिजन उत्पादनमा निरन्तर गिरावट आइरहेको थियो भने प्रिय चलचित्रकर्मीहरूको निधनजस्ता घटनाले हलिउडलाई गहिरो धक्का दिएका थिए ।

क्लोई झाओद्वारा निर्देशित ‘ह्यामनेट’, निशा गणात्राद्वारा निर्देशन गरिएको ‘फ्रिकियर फ्राइडे’ र जेनिफर केटिन रोबिन्सनको निर्देशनमा बनेको ‘आई नो ह्वाट यू डिड लास्ट समर’ जस्ता फिल्महरू भने केही उल्लेखनीय अपवादका रूपमा रहे ।

विश्वविद्यालय अन्तर्गतको टेलिभिजन र चलचित्रमा महिलाको अध्ययन केन्द्र तथा त्यसकी संस्थापक मार्था एम. लाउजेनले झण्डै तीन दशकदेखि पर्दा पछाडिका निर्णयात्मक भूमिकामा महिलाको रोजगारीको अवस्था ट्रयाक गर्दै आएकी छन् । अध्ययनमा निर्देशक, लेखक, कार्यकारी निर्माता, निर्माता, सम्पादक तथा सिनेमाटोग्राफर (छायाकार) जस्ता भूमिकाहरू समेटिएका छन् । शीर्ष कमाइ गर्ने चलचित्रका ३५ सयभन्दा बढी क्रेडिटको तथ्याङ्क प्रयोग गरेर प्रतिवेदन तयार पारिएको हो ।

लाउजेनले सन् १९९८ मा यो प्रयास सुरु गर्दा असन्तुलन देखाइएपछि हलिउडमा महिलाका लागि अवसरका ढोका खुल्ने विश्वास गरेकी थिइन् तर कारवाहीका असंख्य अनुरोध र छोटो समय चलेको उच्चस्तरीय संघीय अनुसन्धान हुँदाहुँदै पनि समग्र तस्वीर लगभग उस्तै रह्यो ।

‘यी तथ्याङ्क आश्चर्यजनक रूपमा हिजोका जस्तै छन्,’ लाउजेन भन्छिन्, ‘पछिल्ला करिब पच्चीस वर्षभन्दा बढी समयदेखि यिनमा खासै परिवर्तन आएको छैन ।’

लाउजेनको प्रतिवेदन ‘द सेलुलोइड सिलिङः शीर्ष कमाइ गर्ने अमेरिकी चलचित्रमा पर्दापछाडिका महिलाको रोजगारी’ अनुसार, सन् २०२५ मा शीर्ष २५० चलचित्रमा निर्देशक, लेखक, निर्माता, कार्यकारी निर्माता, सम्पादक र सिनेम्याटोग्राफी गरी सबै भूमिकामा महिलाको कुल हिस्सा २३ प्रतिशत थियो । सन् २०२४ र २०२० मा पनि यही प्रतिशत थियो ।

उनको अध्ययनले देखाएअनुसार सन् २०२५ मा महिलाले चलचित्र निर्मातामध्ये २८ प्रतिशत र कार्यकारी निर्मातामध्ये २३ प्रतिशत हिस्सा ओगटेका थिए तर पटकथा लेखकहरूमध्ये महिलाको संख्या २० प्रतिशत मात्र थियो । सम्पादकहरूमा पनि महिलाको हिस्सा २० प्रतिशतमै सीमित रह्यो । यो स्तर सन् १९९८ कै स्तर हो । ‘त्यो बेलादेखि अहिलेसम्म कुनै परिवर्तन भएको छैन,’ उनले भनिन् ।

छायाकारहरूको हकमा त अवस्था झनै कमजोर देखियो । शीर्ष २५० चलचित्रमा यी प्रभावशाली भूमिकामध्ये महिलाको हिस्सा मात्र ७ प्रतिशत थियो । छायाकारले चलचित्रको दृश्यात्मक स्वरूप र अनुभूति निर्माणमा महŒवपूर्ण भूमिका खेल्छन् । यो स्तर २०२४ को तुलनामा अझ झरेको छ ।

सन् १९९८ देखि महिला निर्देशकको संख्यामा भने केही वृद्धि देखिएको छ । त्यस वर्ष शीर्ष कमाइ गर्ने चलचित्रमध्ये केवल ७ प्रतिशत महिला निर्देशकद्वारा निर्देशित थिए । गत वर्षको तथ्याङ्कले भने ६ प्रतिशत बिन्दुमा सुधार देखाएको छ ।

लाउजेनको पछिल्लो प्रतिवेदन अमेरिकी समान रोजगारी अवसर आयोग (इइओसी) ले हलिउडमा लैंगिक भेदभावको आरोपबारे अध्ययन सुरु गरेको एक दशकपछि आएको हो । अमेरिकन सिभिल लिबर्टिज युनियनको अनुरोधपछि सन् २०१५ मा शुरु भएको उक्त समीक्षा प्रभावकारी बन्न सकेन । करिब एक वर्षपछि राष्ट्रपति ओबामाले पद छोडे र राष्ट्रपति ट्रम्प आएपछि दृष्टिकोणमा ठूलो परिवर्तन आयो ।

कोभिड–१९ महामारीका बेला ठूला स्टुडियोहरूले उत्पादन घटाएपछि र त्यसपछि सन् २०२३ मा लेखक तथा कलाकारहरूको हड्ताल भएपछि, हालका वर्षहरूमा हलिउडको रोजगारी अझ अस्थिर बन्न पुगेको छ ।

उद्योगका अगुवाहरूले वर्षौंदेखि कार्यकारी तह र निर्णयात्मक भूमिकामा विविधता आवश्यक भएको कुरा दोहोर्‍याइरहे पनि दीर्घकालीन असमानता अवार्ड कार्यक्रमका ठट्टाको विषय बने पनि, अहिलेको वातावरण भने केही परिवर्तन भएको छ ।

ट्रम्प एक वर्षभन्दा कम समयअघि पुनः सत्तामा फर्किएपछि उनले तुरुन्तै विविधता र समावेशीकरण कार्यक्रम अन्त्य गर्न आह्वान गरे । ट्रम्पका संघीय सञ्चार आयोग (एफसीसी) अध्यक्ष ब्रेन्डन कारले आफ्नो निकायभित्रका विविधता कार्यक्रम खारेज गरे र वाल्ट डिज्नी कम्पनी तथा कमकास्टका आन्तरिक भर्ती कार्यक्रममाथि अनुसन्धान सुरु गरे । कारका अनुसार यस्ता कार्यक्रमले श्वेत समुदायलाई नोक्सान पुर्‍याउँछन् ।

ठूला निर्माताका रुपमा चिनिएका डेभिड एलिसनले नेतृत्व गरेको प्यारामाउन्ट स्टुडियोले यतिबेला सीबीएस र कमेडी सेन्ट्रलजस्ता विविधता तथा समावेशीकरण कार्यक्रम समेट्ने च्यानलहरू बन्द गर्न सहमत भएको छ । यो गएको अगस्तमा सम्पन्न भएको थियो ।

यस्तो अवस्थामा भविष्यमा चलचित्र क्षेत्रमा महिलाहरूको उपस्थितिहरूको अवस्था के होला भन्नेमा आफू दुविधामा रहेको बताइन् । ठूला कर्पोरेट कम्पनीहरूको एकीकरणले उद्योगमा अनिश्चितता थपेको छ । एक शताब्दीभन्दा बढी समयदेखि हलिउडको प्रतीक मानिएको वार्नर ब्रदर्स अहिले बिक्री प्रक्रियामा छ ।

गत महिना वार्नर ब्रदर्स डिस्कभरीको बोर्डले चलचित्र तथा टेलिभिजन स्टुडियो, एचबीओ र एचबीओ म्याक्सलाई ८२.७ अर्ब डलरको सम्झौतामा नेटफ्लिक्सलाई बेच्न सहमति जनाएको थियो तर एलिसन परिवारको प्यारामाउन्टले उक्त निर्णयको विरोध गर्दै शत्रुतापूर्ण अधिग्रहण प्रस्ताव अघि सारेको छ र लगानीकर्तालाई वार्नरका सेयर प्यारामाउन्टलाई सुम्पिन आग्रह गरेको छ ।

‘एकीकरण अहिले चलचित्र उद्योगमाथि गिलोटिनझैँ झुण्डिएको छ । यसबाट रोजगारी गुम्ने सम्भावना उच्च छ र हलमा गएर चलचित्र हेर्ने अनुभवको भविष्य नै प्रश्नचिह्नमा परेको छ,’ लाउजेनले आफ्नो प्रतिवेदनमा लेखेकी छन् ।

‘यसमा विविधताविरुद्धको वर्तमान राजनीतिक युद्ध थपिँदा, चलचित्र उद्योगमा काम गर्ने महिलाहरू अहिले अपरिचित र अनिश्चित अवस्थामा पुगेका छन्,’ उनले लेखेकी छन्, ‘हलिउडलाई महिलालाई बहिष्कार गर्न वा कमजोर पार्न कहिल्यै अनुमति चाहिएको थिएन, तर अब मर्जरको निहुँमा त्यो अनुमति छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन