नेभिगेशन
मनोरञ्जन
२०२५ मा बलिउड

थोरै सुपरहिट, धेरै असफल

मुम्बई । सन् २०२५ बलिउडका लागि संख्यात्मक रूपमा धेरै फिल्म रिलिज भए पनि व्यावसायिक दृष्टिले असन्तुलित वर्षका रूपमा देखिएको छ । वर्षभरि तीन सयभन्दा बढी फिल्महरू भारतभरि हलमा रिलिज भए पनि बक्सअफिसको वास्तविक कमाइ केही सीमित ठूला फिल्ममै केन्द्रित रह्यो । उद्योगले धेरै उत्पादन गरे पनि दर्शकको ध्यान तान्न सफल फिल्मको संख्या भने निकै कम देखियो ।

सन् २०२५ को बक्सअफिसमा सबैभन्दा ठूलो सफलता ‘धुरन्धर’ले हासिल गर्‍यो । करिब ७६६ करोड रुपैयाँभन्दा बढी भारतमै कमाइ गरेको यो फिल्म वर्षकै सर्वाधिक कमाउने हिन्दी चलचित्र बन्यो । त्यसपछि ‘छावा’ले करिब ६०० करोड रुपैयाँ नजिकको व्यापार गर्दै दोस्रो स्थान ओगट्यो । यी दुई फिल्मले मात्र वर्षको कुल बक्सअफिसको ठूलो हिस्सा ओगटेका छन् ।

यसैगरी कमाउने फिल्महरूमा ‘सैयाँरा’, ‘कान्ताराः अ लेजेन्ड–च्याप्टर १’, ‘वार २’, ‘रेड २’, ‘सितारे जमीन पर’, ‘हाउसफुल ५’, ‘थम्मा’ र ‘सिकन्दर’ परे । विश्लेषण गर्दा के देखिन्छ भने यी सबै फिल्महरू कि त ठूलो बजेट, फ्रेन्चाइज, ऐतिहासिक–पौराणिक कथा वा ठूला स्टार भएका फिल्महरू थिए । यसले दर्शक अझै पनि सुरक्षित र पहिलेदेखि परिचित ब्रान्डतर्फ आकर्षित भइरहेको पुष्टि गरेको छ ।

तर वर्षभरि रिलिज भएका फिल्ममध्ये ६० देखि ७० प्रतिशतसम्म फिल्म फ्लप वा डिजास्टर भएका छन् । साना र मध्यम बजेटका धेरै फिल्महरू पहिलो हप्तामै हलबाट हराए । प्रचार– प्रसार कमजोर हुनु, स्पष्ट दर्शक लक्षित रणनीति नहुनु र ओटीटी प्लेटफर्मको बढ्दो प्रभावले पनि ती फिल्महरूलाई हलको व्यापारमा थप कमजोर बनायो ।

सन् २०२५ ले दर्शकको व्यवहारमा आएको परिवर्तनलाई पनि स्पष्ट देखाएको छ । अब दर्शक सामान्य कथावस्तुका फिल्म हेर्न हल पुग्नुभन्दा ओटीटीमा कुर्न रुचाउन थालेका छन् । थिएटरमा उनीहरू ‘इभेन्ट फिल्म’, भव्य प्रस्तुति र ठूलो अनुभव खोजिरहेका छन् । यही कारण, साधारण ड्रामा वा सामाजिक कथाका फिल्महरू सिनेमा हलमा व्यापार गर्न संघर्षरत देखिएका छन् ।

उद्योग विश्लेषकहरूका अनुसार २०२५ ले बलिउडलाई फिल्मको संख्या होइन, प्रभाव पनि उत्तिकै महत्वपूर्ण छ भन्ने सन्देश दिएको छ । स्टार मात्रै भएर फिल्म चल्ने समय सकिँदै गएको र सामग्री, प्रस्तुति तथा मार्केटिङको संयोजन अनिवार्य बन्दै गएको उनीहरूको निष्कर्ष छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन