नेभिगेशन
राजनीति

महाधिवेशन मिति तोकियो, गगनको माग सुनिएन

जगनाथ दुलाल 
काठमाडौं, पुस १८
नेपाली कांग्रेसले १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेसँगै पार्टीभित्र आन्तरिक तनाव चर्किएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित पाँच जना केन्द्रीय नेताले फरक मत राखेपछि कांग्रेसभित्र देखिएको मतभेद अब कार्यतालिकाको विवादमा सीमित नरही नेतृत्व, विधान र राजनीतिक दिशाबारेको गहिरो टकरावतर्फ उन्मुख देखिएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बहुमतका आधारमा नियमित महाधिवेशनको मिति तय गरे पनि महामन्त्री थापाले भने पार्टी विधानअनुसार पुस २८ भित्र विशेष महाधिवेशन अनिवार्य रहेको दाबी गर्दै त्यसमा अडान कायम राखेका छन् । उनका अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरिसकेको विशेष महाधिवेशनलाई बेवास्ता गर्नु विधान उल्लङ्घन हुनेछ । अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तत्काल विशेष महाधिवेशनबारे निर्णय गर्नुपर्ने बताएका छन् ।

विधान कि बहुमत ?

कांग्रेसभित्र अहिले देखिएको विवादको मूल केन्द्र पार्टी विधानको व्याख्या र बहुमतको निर्णय अधिकार हो । संस्थापन पक्ष केन्द्रीय कार्यसम्पादन समितिको बहुमतलाई वैधानिक आधार मान्दै नियमित महाधिवेशनतर्फ अघि बढेको छ । तर महामन्त्री थापा–शर्मा समूहले भने विधानको दफा १७(२) अनुसार माग भइसकेपछि विशेष महाधिवेशन रोक्न नपाइने तर्क अघि सारेको छ ।

यसले पार्टीभित्र दुई फरक राजनीतिक धार प्रस्ट पारेको छ । एकातिर विधान र आन्तरिक लोकतन्त्रलाई केन्द्रमा राख्दै तत्काल नेतृत्व र कार्यदिशाबारे पुनः समीक्षा चाहने समूह छ भने अर्कोतिर, स्थायित्व र नियमित प्रक्रियालाई प्राथमिकता दिँदै बहुमतका आधारमा अघि बढ्नुपर्ने पक्ष छ ।

फुटको जोखिम कति ?

राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेस अहिले तत्काल फुटको अवस्थामा पुगेको भने होइन, तर यदि विवादलाई संवादमार्फत समाधान गरिएन भने दीर्घकालीन विभाजनको आधार तयार हुन सक्छ । कारण, यो विवाद व्यक्तिगत अहंकार वा केवल मितिको विषय नभई पार्टीको नेतृत्व संरचना, निर्णय प्रक्रिया र भविष्यको राजनीतिक मार्गचित्रसँग जोडिएको छ ।

महामन्त्रीहरूले विशेष महाधिवेशनका लागि स्वतन्त्र रूपमा प्रतिनिधिहरूलाई आह्वान गर्न थालेको सन्देशले पार्टीभित्र समानान्तर शक्ति अभ्यासको संकेत दिएको छ । यदि केन्द्रीय नेतृत्व र महामन्त्री पक्षबीच सहमति नबनेको खण्डमा एउटै पार्टीभित्र दुई फरक वैधानिक दाबी उभिन सक्ने जोखिम देखिन्छ ।

नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५ जनाको फरक मतका बीच पार्टीको १५औं महाधिवेशनको मिति तोकिएको छ । आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय भएको हो । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले १५औँ महाधिवेशनसम्बन्धी उक्त प्रस्ताव पारित गरेको हो ।

‘पुसमा प्रस्तावित महाधिवेशन त्यही मितिमा गर्न सम्भव नभएपछि संशोधित कार्यतालिका पास गरेको छ, जसअनुसार वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन हुनेछ,’ प्रवक्ता प्रकाशशरण महतले भने । बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्नेगरी राखेको कार्यतालिका पारित हुँदा आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताले फरक मत राखेको महामन्त्री थापाले बैठकपछि जानकारी दिए । उक्त प्रस्तावमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुरले फरक मत राखे । त्यस्तै कार्यसम्पादन समिति सदस्य अर्जुननरसिंह केसी र उमा रेग्मीले पनि फरक मत राखेका छन् । 

पुसमा प्रस्तावित महाधिवेशन त्यही मितिमा गर्न सम्भव नभएकाले हाल संशोधित कार्यतालिका केन्द्रीय सम्पादन समितिले पारित गरेको प्रवक्ता प्रकाशशरण महतले बताए । कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचन कार्यसमितिको कार्यकाल यही मंसिरमा सकिनुअघि माघसम्म म्याद थप भएको थियो । महामन्त्री थापा र शर्माले बिहिबार नियमित महाधिवेशन स्थगन गरेका थिए । 

गगन विशेषमै अडिग 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भने पुस अन्तिममा काठमाडौं आउने महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन् । पार्टीको विधानमा गरिएको व्यवस्थाअनुसार पुस २८ भित्र विशेष महाधिवेशन आह्वान हुने उनको भनाइ छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले बहुमतका आधारमा नियमित महाधिवेशनको नयाँ कार्यतालिका पारित गरे पनि महामन्त्री थापाले विधानमा गरिएको व्यवस्थाअनुसार विशेष महाधिवेशन नरोकिने प्रतिक्रिया दिए । 

उनले भने, ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग्नु भएको विशेष महाधिवेशन पुसको २८ भित्र गरिसक्नु पर्ने विधानको अनिवार्य व्यवस्था छ । एक दुई दिनभित्र पार्टी सभापति, कार्यबाहक सभापतिले विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन बनाउनुहुन्छ भन्ने अपेक्षा गर्छौं ।’

विधान पालना गर्नु पर्ने जिम्मेवार नेताहरूले पालना गर्दिनँ भन्न पाउनुहुन्न भन्दै गगनले केन्द्रीय कार्यसमितिको बैठक बोलाएर उहाँहरूले विशेष महाधिवेशन बोलाउनुभएन भने केन्द्रीय कार्यालयले बोलाउनेछ भनी आफ्ना कुरा प्रष्ट पारे ।

अर्का महामन्त्री शर्माले पार्टी सभापतिसँग सल्लाह गरेर शनिबारसम्म विशेष महाधिवेशनबारे टुंगोमा पुग्नुपर्ने बताएका छन् । उनले भने, ‘सभापति (शेरबहादुर देउवा) सँग सल्लाह गरेर कार्यवाहक सभापति (पूर्णबहादुर खड्का) ले आज र भोलिभित्र विशेष महाधिवेशनबारे टुंगोमा पुग्नुपर्छ ।’ उनले कांग्रेस विधानको दफा १७ (२) बमोजिम माग गरिएको विशेष महाधिवेशनलाई कसरी सम्बोधन गर्ने भन्ने अहिलेको मुख्य प्रश्न भएको उल्लेख गरे ।

‘नियमित महाधिवेशन भएको भए त्यसले विशेषको माग सम्बोधन गर्न सक्थ्यो । नियमित महाधिवेशन तत्काल नहुनुको अर्थ विशेष महाधिवेशनको ढोका खुल्नु हो, जुन अब खुल्यो,’ उनले भने, ‘त्यसमा हामी एक भएर प्रवेश गरौं ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
१९ पदका लागि ४४ उम्मेदवार

१९ पदका लागि ४४ उम्मेदवार

अमेरिकाले लगायो भिसामा धरौटी

अमेरिकाले लगायो भिसामा धरौटी

कुलमानले छाडे सरकार

कुलमानले छाडे सरकार