नेभिगेशन
मनोरञ्जन

कलाकार : कोही समानुपातिकमा रमाउँदै, कोही त्याग्दै

डा त्रिशला गुरुङले डाक्टरीभन्दा बढी उनको गायनले चर्चित भइन् । उनको त्यही चर्चालाई राजनीतिमा क्याश गर्न खोजिरहेको उज्यालो नेपाल पार्टीको नामांकनलाई विनम्रतापूर्वक अस्वीकार गरेकी छन् । उनले फेसबुकमा एउटा ध्यानाकर्षण लेख्दै आफू राजनीतिभन्दा चिकित्सकीय समाजसेवाबाट नै देशसेवा गर्न खोजेको बताएकी छन् ।

त्यसो त यसअघिका निर्वाचनमा राजनीतिक दलहरूले कलाकारलाई उपयोग मात्र गर्ने गरेका थिए । त्यसभन्दा अगाडि बढेर यसपटक भने सामाजिक सञ्जालमा निकै लोकप्रिय रहेका पात्रहरूलाई पनि ठाउँ दिएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मात्र ६ जना कलाकारलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा राखेको छ । निर्वाचन आयोगमा बुझाइएको रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा गायक, अभिनेता तथा निर्देशक प्रकाश सपूतलाई ७४औं नम्बरमा राखिएको छ । दलित क्लस्टरतर्फ उनी दोस्रो नम्बरमा छन् । क्लस्टरको पहिलो नम्बरमा रहेका डा रूपक विश्वकर्मा घिमिरे (आयुष्मान) पनि कलाकार हुन् । पेसाले चिकित्सक भए पनि उनले ‘चकलेट’ नामक फिल्ममा अभिनय गरेका थिए ।
 
त्यस्तै, अभिनेत्री तथा उद्घोषक रीमा विश्वकर्मा पनि रास्वपाको समानुपातिक सूचीमा छिन् । उनी दलित महिला क्लस्टरतर्फ पहिलो नम्बरमा छिन् भने नागरिकताको हिज्जेअनुसार ८०औं स्थानमा छिन् । उनी कुलमान घिसिङ समूहबाट सूचीमा परेकी हुन् । घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपामा समाहित हुनुअघि नै उनी उक्त पार्टीको केन्द्रीय सदस्य थिइन् ।

यसैगरी अभिनेता तथा निर्माता आसिफ शाहलाई पनि रास्वपाले समानुपातिक उम्मेदवार बनाएको छ । उनी मुस्लिम क्लस्टरतर्फ पहिलो नम्बरमा छन् । यसअघि उनका दाइ तथा फिल्म निर्देशक असिम शाह पनि रास्वपाबाट समानुपातिक सांसद बनेका थिए । अबको निर्वाचनमा भने उनी प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा छन् । 

यसैगरी रास्वपाबाट गायिका तथा ‘काँडेतार’ फिल्मकी निर्मात्री सत्यकला राई पनि समानुपातिक उम्मेदवारको सूचीमा परेकी छन् । उनी आदिवासी जनजाति क्लस्टरबाट उम्मेदवार बनेकी हुन् । सोही क्लस्टरमा गायिका डा त्रिशाला गुरूङको पनि नाम समावेश गरिएको थियो । 

त्रिशाला घिसिङ समूहबाट समानुपातिक सूचीमा परेकी थिइन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरिनु सम्मान र जिम्मेवारीको विषय भएको उल्लेख गरेकी छन् । तर, गहन आत्म–मूल्यांकनपछि राजनीतिक उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेको उनको भनाइ छ ।

गुरुङका अनुसार यो निर्णय कुनै असन्तुष्टि वा अस्वीकार होइन, बरु आफ्नो पेसागत जिम्मेवारीप्रतिको प्रतिबद्धता र दीर्घकालीन सामाजिक योगदानको मार्ग रोजाइ हो । ‘कला र स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पु¥याउने मेरो दृढ संकल्प नै यस निर्णयको मूल कारण हो,’ उनले लेखेकी छन् । 

डा गुरुङले पार्टी नेतृत्वले देखाएको विश्वास, सम्मान र समर्थनप्रति आभार व्यक्त गर्दै त्यो भरोसालाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धता पनि जनाएकी छन् । राजनीतिक पदमा नरहे पनि समाज, स्वास्थ्य क्षेत्र र समुदायको आवाजका रूपमा सक्रिय रहने उनको भनाइ छ । डा गुरुङले अन्त्यमा पार्टीको भावी यात्राका लागि शुभकामना दिँदै लोकतान्त्रिक अभ्यास र समावेशी प्रतिनिधित्वको प्रयास सफल होस् भन्ने कामना गरेकी छन् । 

यसैगरी एमालेले पनि गायिका कोमल वलीलाई समानुपातिक उम्मेदवार बनाएको छ । सोमबार राति एमालेले निर्वाचन आयोगमा बुझाएको सूचीमा महिला क्लस्टरतर्फ गायिका तथा अभिनेत्री कोमल वलीको नाम समेटिएको छ । समानुपातिक उम्मेदवारका लागि दाङबाट सिफारिस भएकी उनी यसअघि एमालेबाटै ४ वर्ष राष्ट्रिय सभा सदस्य बनेकी थिइन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन