नेभिगेशन
मनोरञ्जन

पुरस्कृत फिल्म ‘सुपरमंक’ युट्युबमा

१० वर्षसम्म चलेको माओवादी द्वन्द्वका विषयमा नेपालमा धेरै फिल्म बनेका छन् । अझै पनि यो क्रम जारी छ । पछिल्लो समय बनेको ‘सुपरमंक’ले भने दर्शकसँगै निर्णायकहरूको मन पनि उत्तिकै जित्न सफल भएको छ । 

संसारका विभिन्न फिल्म उत्सवहरूमा सफल प्रदर्शन तथा पुरस्कृत भएपछि यतिबेला छोटो फिल्म ‘सुपरमंक’लाई युट्युबमा रिलिज गरिएको छ । षट्कोण फिल्म्सको च्यानलमार्फत सो फिल्म रिलिज गरिएको हो ।

सेनाङ ग्याम्जो तामाङद्वारा निर्देशित १५ मिनेटको यो छोटो फिल्मले नेपालको पहाडी भेगमा द्वन्द्वका बेला गुम्बामा शरण लिएको एउटा विद्रोही पक्षको बालक र भिक्षु बालकबीचको मित्रताबारे देखाइएको छ । 

फिल्मले एउटा भिक्षु बालकको सिनेमाबाट सिकेको नायकत्व कसरी एउटा बालकको ज्यान जोगाएर देखाउँछ भन्ने सन्देश पनि फिल्मले देखाएको छ । फिल्ममा नोर्देन लामा, किरण गौतम, आकाश, स्ये नाम्खा दोर्जे, शारदा अधिकारी, असीम खनाल, विनेश युगराज श्रेष्ठ, केदार श्रेष्ठलगायतको अभिनय रहेको छ ।

फिल्मका निर्देशक सेनाङकै कथालाई प्रचण्डमान श्रेष्ठ र अभिनाश विक्रम शाहले पटकथा–संवाद लेखेका छन् । यसको सशक्त पक्ष नै दुई बालकलाकारहरूको अभिनय हो । फिल्म अभिनय, लोकेशन तथा कथानकका हिसाबले निकै सुन्दर बने पनि पहिलो दिन धेरै दर्शकको साथ पाएको छैन । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन