नेभिगेशन
राजनीति

कांग्रेस संस्थापन पक्ष भन्छ – ‘विशेष महाधिवेशनको औचित्य छैन, काठमाडौं आउनुपर्दैन’

काठमाडौं । पार्टीले आगामी निर्वाचनमा जनतामाझ जाँदा नयाँ नेतृत्व र एजेन्डा लिएर जानुपर्ने सुधारवादी आवाज दबाउन कांग्रेसको संस्थापन समूह सफल भएको छ । नेताहरूले नियमित महाधिवेशनको सुरसारै नगरेपछि महामन्त्रीद्वयले गरेको विशेष महाधिवेशनको मागलाई पनि संस्थापनले नकारेको हो ।

उक्त समूहले विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआउन अपिल गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बसेको संस्थापन पक्षका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै यस्तो आग्रह गरेको हो ।

बैठकबाट बाहिरिने क्रममा पूर्वउपसभापति विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको बैठकको निष्कर्ष सुनाए । ‘विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको छ । देशभरिबाट सबै महाधिवेशन प्रतिनिधि र साथीहरू काठमाडौं आउनुपर्ने जरुरी छैन । निर्वाचनमा होमिनका लागि आह्वान गर्ने निर्णय भएको छ,’ उनले भने ।

कांग्रेस कार्यसम्पादन समितिको बहुमतले वैशाख २८– ३१ गते नियमित महाधिवेशनको कार्यतालिका ल्याएपछि महामन्त्री गगन थापाले पुस २७ र २८ मै विशेष महाधिवेशन हुने भन्दै महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं आउन भनेका थिए । महामन्त्री थापा र विश्वप्रकाश शर्मा पक्षधरले विशेष महाधिवेशनका लागि भन्दै काठमाडौंको भृकुटीमण्डपमा हलसमेत बुकिङ गरिसकेका छन् । विशेष महाधिवेशनको कानूनी वैधताबारे उनीहरूले शनिबार कानूनविद्हरूसँग परामर्श गरेका थिए ।

महामन्त्री थापा र शर्मा विशेष महाधिवेशनका लागि लाग्दा संस्थापन पक्षले त्यसको औचित्य सकिएको घोषणा गरेको छ । पार्टीले नियमित महाधिवेशनको मिति तय गरिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य समाप्त भएको संस्थापन पक्ष दाबी गर्छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेकाले पुसभित्र विशेष महाधिवेशन गर्नुको अर्को विकल्प नभएको अडान महामन्त्रीहरूले राखिरहेका छन् । कांग्रेसको डा.शेखर कोइराला नेतृत्वको समूह पनि अहिले विशेष महाधिवेशनको विपक्षमा देखिएको छ ।

देउवा निवासमा बसेको बैठकले देशभरका नेता तथा कार्यकर्तालाई प्रतिनिधिसभाको फागुन २१ गतेको निर्वाचनको तयारीमा होमिनका लागि अपिल पनि गरेको छ । आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचन र १५ औं महाधिवेशनको तयारीबारे छलफल गरेको केन्द्रीय सदस्य बालकृष्ण खाणले बताए । बैठकमा नियमित महाधिवेशनको कार्यतालिका वैशाख २८–३१ मा गर्ने गरी कार्यसम्पादन समितिबाट भएको निर्णयबारे पनि सभापति देउवालाई जानकारी गराइएको उनले बताए ।

कांग्रेसले पुनः कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै सोमबार दिउसो १ बजे कार्यसम्पादन समितको बैठक बोलाइएको जानकारी गराएका छन् । शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले नियमित महाधिवेशनको नयाँ कार्यतालिका बहुमतबाट पारित गरेको थियो ।

महामन्त्री थापा र शर्मासहित ५ नेताले त्यसमा फरक मत राखेका थिए । त्यसको भोलिपल्ट कानूनविद् हरूसँगको छलफलमा महामन्त्री थापाले विशेष महाधिवेशनको प्रस्तावलाई बेवारिसे हुन नदिने बताएका थिए ।

महाधिवेशनको विषयलाई लिएर विवाद चर्किरहेका बेला सोमबारका लागि पुनः कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । कांग्रेस कार्यसम्पादन समितिको सोमबार बस्ने बैठकमा विशेष महाधिवेशनको विषयलाई लिएर जारी विवादमा समाधान खोज्नेबारे छलफल हुने संस्थापन पक्षले बताएको छ ।

विशेषमा खुल्ने प्रदेशका मन्त्री हटाउने तयारी

नेपाली कांग्रेसभित्र महाधिवेशनको वियाले गुटहरूबीच टकराव बढेको छ । विशेष महाधिवेशनको माग रोक्न कांग्रेसले पार्टीका तर्फबाट प्रदेश सरकारमा रहेका र विशेष महाधिवेशनको पक्षमा खुलेका मन्त्रीहरूलाई हटाउने तयारी थालेको छ । यस विषयमा सोमबार बसेको संस्थापन पक्षको बैठकमा कुरा उठेको एक नेताले बताए ।

प्रदेश सरकारमा मन्त्री भएर पार्टी संस्थापनभन्दा फरक लाइनमा लागेको भन्दै संस्थापन पक्ष असन्तुष्ट बनेको छ । ‘पार्टीको आधिकारिक प्रतिनिधिका रुपमा प्रदेश सरकारमा सहभागी हुने तर पार्टीभित्र संस्थापनतर लाइनमा लाग्दै विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने मन्त्रीहरूलाई मन्त्रिपरिषद् पुनर्गठन गरेर हटाउने विषयमा पनि कुरा उठेको छ,’ ती नेताले भने, ‘त्यस्ता मन्त्रीका बारेमा के गर्ने ? छलफल भइरहेको छ । हटाउनुपर्छ भन्ने मत धेरैको छ । केही दिनमै निर्णय हुन्छ ।’ अहिले कांग्रेस नेतृत्वमा मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकार छ । मधेसमा कृष्णप्रसाद यादव, वाग्मतीमा इन्द्रबहादुर बानियाँ, गण्डकीमा सुरेन्द्रराज पाण्डे र सुदूरपश्चिममा कमल शाह मुख्यमन्त्री छन् । मुख्यमन्त्रीहरू संस्थापनकै कित्तामा रहेपनि केही प्रदेश मन्त्रीहरूको गतिविधि संस्थापनको लाइन विपरीत रहेको यो समूहको बुझाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्