काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको वरिष्ठ नेतामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई नियुक्त गरेको छ । नवनियुक्त केन्द्रीय सदस्यहरूलाई सभापति रवि लामिछानेले पार्टीको बैठकपछि आइतबार केन्द्रीय कार्यालय घण्टीघरमा सपथ गराएका छन् ।
शाहलाई केन्द्रीय सदस्य मनोनीत गर्दै वरिष्ठ नेता बनाइएको लामिछानेले जानकारी दिए । स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौं महानगरपालिकाको मेयर बनेका उनी अब दलीय राजनीतिमा सहभागी भएका छन् । बैठकपछि सभापति लामिछानेले रास्वपा अब थप विस्तारित भएको बताए । ‘पार्टीका रुपमा रास्वपा फैलिँदो क्रममा गएको छ । मुलुकको आवश्यकता अनुसार नयाँ शक्तिहरू एक ठाउँमा आउनुपर्नेमा हामी लामो समयदेखि लागिरहेका थियौं । त्यसैअन्तर्गत निरन्तरता दिने क्रममा यसलाई अघि बढाएका छौं,’ उनले भने ।
मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल, विवेकशील साझा पार्टीसहितको एकतापछि रास्वपाले आइतबार सबै पक्षलाई समेटेर केन्द्रीय समिति विस्तार गरेको हो । यसरी मनोनीत हुनेमा विवेकशील साझा पार्टी छाडेर रास्वपासँगको एकता गरेका ७ जना छन् । बेलुकी बसेको केन्द्रीय समिति बैठकले थप २६ केन्द्रीय सदस्य मनोनीत गरेको प्रवक्ता मनिष झाले बताए ।
हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनारपनि रास्वपा केन्द्रीय सदस्य बनेका छन् । मनोनीत हुने अधिकांश बालेन निकट छन् । रास्वपाले कुलमान घिसिङको दल उज्यालो नेपालका पदाधिकारीलाई सम्मानित स्थान दिने सहमति गरेको छ । एकता सहमति गरे पनि समानुपातिकको बन्दसूची, संघीयतामा धारणासहित रास्वपाको सैद्धान्तिक तथा वैचारिक दृष्टिकोणमाथि केही नेताले प्रश्न उठाएपछि त्यसको समाधानका लागि पार्टी आन्तरिक छलफलमान रहेको नेताहरूले बताएका छन् ।
बालेन टिमबाट केन्द्रीय सदस्य
बालेन शाह, सुनिल लम्साल, भूपदेव शाह, सस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारु, रमेश पौडेल, गणेश पौडेल, सन्तोष गिरी, डा. नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैदिक, लक्ष्मी बर्देवा, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे, खेमराज साउद, खगेन्द्र सुनार
विवेकशील साझाबाट
समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना