अभिनेता सलमान खानको नयाँ चलचित्र ‘ब्याटल अफ गलवान’लाई चीनको सरकारी मिडियाले निन्दा गरेको छ । चीनको चर्चित सरकारी दैनिक पत्रिका ‘ग्लोबल टाइम्स’ले एउटा लेख लेख्दै चलचित्रमाथि ‘तथ्यहरूलाई तोडमोड गरेर’ प्रस्तुत गरेको आरोप लगाइएको छ ।
आउँदो १७ अप्रिलमा रिलिज हुन गइरहेको ‘ब्याटल अफ गलवान’ चलचित्र सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा भारत र चीनका सैनिकहरूबीच भएको झडपमा केन्द्रित छ । यसमा नेपालका एक कलाकार अनूप विक्रम शाहीले पनि अभिनय गरेका छन् । त्यसैले यो फिल्मको चर्चा नेपालमा पनि छ ।
यो फिल्ममा सलमान खान र चित्रांगदा सिंह मुख्य भूमिकामा छन् भने यसको निर्देशन अपूर्व लाखियाले गरेका हुन् । गएको २७ डिसेम्बरमा सलमान खानको जन्मदिनको अवसरमा यो फिल्मको टिजर रिलिज गरिएको थियो । टिजरमा सलमान खान र उनका साथीहरू चिनियाँ सेनासँग भिड्न तयार भएको दृश्य देखिन्छ ।
मे २०२० मा दुवै देशका सैनिकहरूबीच पूर्वी लद्दाखको प्यांगोङ सो तालको उत्तरी किनारमा झडप भएको थियो । यसमा दुवैतर्फका दर्जनौं सैनिक घाइते भएका थिए । त्यसपछि १५ जुनमा गलवान उपत्यकामा फेरि एकपटक दुवै देशका सैनिकहरूबीच झडप भयो । झडपको भोलिपल्ट भारतीय सेनाले विज्ञप्ति जारी गर्दै आफ्ना २० जना जवानको मृत्यु भएको बताएको थियो । उता चीनले भने यसबारे केही प्रतिक्रिया जनाएको थिएन । यसअघि सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ चीनमा रिलिज हुँदा निकै मन पराइएको थियो । त्यसैले यो फिल्मलाई चीनले पनि चासोपूर्वक हेरेको छ ।
.jpg)
ग्लोबल टाइम्सले लेखेको छ, ‘यस चलचित्रमा सलमान खानले कर्णेल बिकुमाला सन्तोष बाबुको भूमिका निर्वाह गरेका छन् । भारतीय मिडियाले गलवान उपत्यकामा भएको संघर्षमा उनले महत्वपूर्ण भूमिका निभाएका थिए भनेर प्रचार गरेका कारण बलिउडको ध्यान सन्तोष बाबुतर्फ आकर्षित भयो ।’
लेखमा चिनियाँ विशेषज्ञ भन्छन्, ‘बलिउड चलचित्रहरू धेरैजसो मनोरञ्जनमा आधारित, भावनाले भरिएको कथा देखाउँछन्, तर कुनै पनि बढाइचढाइ पेस गरिएको फिल्मी कथाले इतिहासलाई पुनः लेख्न सक्दैन वा चीनको सार्वभौम क्षेत्रको रक्षा गर्ने पीएलएको संकल्पलाई हल्लाउन सक्दैन ।’
गलवान उपत्यकामा भएको झडपमा मृत्युको आँकडा चीनले कहिल्यै स्पष्ट गरेन तर धेरै महिनापछि फेब्रुअरी २०२१ मा चीनले गलवान उपत्यका झडपमा मर्ने आफ्ना चार सैनिकलाई मरणोप्रान्त पदक दिने घोषणा गरेको थियो ।
बलिउडले राष्ट्रवादी भावना जगाउन फिल्मको उपयोग गर्ने गरेको कुनै नयाँ कुरा होइन भन्दै पत्रिकाले भनेको छ, ‘घटनाहरूलाई जतिसुकै नाटकीय वा बढाइचढाइ देखाए पनि, तिनले गलवान उपत्यका घटनाको मूल तथ्यलाई बदल्न सक्दैनन् ।’