काठमाडौं । स्वतन्त्रको सरकार । निर्वाचनको म्यान्डेटमा निष्पक्ष हुने दाबीका बीच दलीय हालीमुहाली बढ् दा प्रधानमन्त्री सुशीला कार्कीलाई बचाउ गर्दै हत्ते भएको छ । उज्यालो नेपाल पार्टी रास्वापामा विलय भयो । पार्टी ऊर्जामन्त्री कुलमान घिसिङको हो भन्ने जगजाहेर छ र उनी पार्टी एकतामा उपसभापतिको ‘बार्गेनिङ’मा सफल भएको समाचार आएको धेरै दिन भएकै छैन । सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ताको राजनीतिक आद्धता र चुनावी तयारी प्रष्ट नै छन् ।
आजित भएकी प्रधानमन्त्री कार्कीले दलीय गतिविधिमा संलग्न मन्त्रीहरूलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा उनले तीन मन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार ऊर्जा, शहरी विकास एवम् भौतिक मन्त्री मन्त्रीहरू कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई प्रधानमन्त्रीले राजीनामा दिन भनेकी हुन् ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश कार्की नेतृत्वमा चुनाव गराउनका लागि भन्दै प्रत्यक्ष दलसँग नजोडिएको ‘नागरिक सरकार’ गठन गरिएको थियो । प्रधानमन्त्री कार्कीले सरकारमा रहेका मन्त्रीहरूले फागुन २१ को चुनाव नलड्ने भन्दै दलहरूसँगको बैठकमा उनीहरूलाई सरकारको निष्पक्षतामा शंका नगर्न आग्रह गर्दै आएकी छन् । पछिल्लो समय सरकारका केही मन्त्री राजनीतिक दलमा आबद्ध भएको र गतिविधिमा संलग्न भएपछि प्रधानमन्त्री उनीहरूसँग रुष्ट बनेकी छन् । सरकारलाई केहीले रवि लामिछाने र बालेनको दल राष्ट्रिय स्वतन्त्र पार्टीको भन्न थालेको र चुनावको निष्पक्षतामा समेत प्रश्न उठेको भन्दै प्रधानमन्त्री कार्कीले राजनीतिक आकांक्षा भएकाहरूलाई सरकार छाडेर सहयोग गर्न भन्दै घुमाउरो शैलीमा राजीनामा मागेकी हुन् ।
ऊर्जा, जलस्रोत, शहरी विकास एवम् भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीमा उपसभापति बनेका छन् भने मन्त्री गुप्ता पनि रास्वपाको गतिविधिमा संलग्न देखिएका छन् । त्यस्तै, मन्त्री खरेलले पनि रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बीचको एकतापछि लेखेको स्टाटसका कारण विवादमा तानिएका छन् ।


स्रोतका अनुसार खरेल रास्वपाबाट ललितपुरमा चुनाव लड्ने गरि भित्री तयारीमा समेत छन् । गुप्ता पनि सिरहाबाट फागुन २१ को चुनावमा उम्मेदवार बन्ने तयारीमा छन् । मन्त्री घिसिङले त काठमाडौं ३ मा चुनावका लागि अभियान नै शुरु गरिसकेका छन् । उज्यालो नेपाल पार्टी प्रवेश कार्यक्रममा काठमाडौं–३ मा घिसिङले पार्टी प्रवेश गराइरहेका छन् । खेलकुद मन्त्री बब्लु गुप्ता भने रास्वपा र उज्यालो नेपालबीच एकताका लागि भएको वार्तामा सहभागी थिए । सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री जगदीश खरेलले रास्वपा र बालेन्द्र शाहबीचको एकतापछि त्यसको स्वागतमा सामाजिक सञ्जालमा अभिव्यक्ति दिएपछि उनलाई पनि रास्वपा समर्थकका रूपमा हेरिएको छ ।
मन्त्रीहरूको दलीय सहभागितालाई लिएर जेनजी अगुवाहरूले पनि प्रधानमन्त्री कार्की माथि दबाब बढाएका छन् । जेनजी अगुवा माजिद आलमले भनेका छन्, ‘रास्वपा र उज्यालो नेपालबीचको सम्झौताको बुँदा नं ४ अनुसार कुलमान घिसिङज्यू अब राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति रहने भन्ने स्पष्ट किटानी राजनीतिक सम्झौता भइसकेपछि गैरदलीय अन्तरिम नागरिक सरकारको माननीय मन्त्रीज्यूको नैतिकताको आधारमा राजीनामा कहिले आउँछ वा वहाँलाई स–सम्मान चुनावको लागि तयारी गर्न भनी सम्मानीय प्रधानमन्त्रीज्यूले कहिले पदमुक्त गर्नु हुनेछ ?’
त्यसो त तीनैजना सरकार छाडेर चुनावी दौडाहामा निस्कन उपयुक्त समयको प्रतीक्षामा देखिएका छन् । सरकारमा छँदा सुविधा उपयोग गर्न पाइने भएकाले सरकारी स्रोतको भरपुर उपयोग गरेर तीनै जनाले आफ्नो चुनावी सहभागिताको बाटो फराकिलो बनाइरहेका छन् । वैकल्पिक शक्ति भनिएको दल रास्वपाको साथ रहेकाले कतैबाट विरोध नहुनेमा ढुक्क भएका उनीहरू सरकारी स्रोतको अधिकतम उपयोग गरिरहेका छन् । प्रधानमन्त्री कार्कीको आग्रहले भने उनीहरूलाई अप्ठ्यारोमा पारेको छ ।
घिसिङको स्पष्टीकरण : म पार्टी सदस्य छैन
प्रधानमन्त्रीले दलसँगको आबद्धताको विषयलाई लिएर राजीनामा दिन भनेको भोलिपल्ट ऊर्जामन्त्री घिसिङले आफू कुनै दलको सदस्य नरहेको दाबी गरे । नेपाल इञ्जिनियर्स एसोसियसनले मंगलबार आयोजना गरेको कार्यक्रममा मन्त्री घिसिङले भने,‘म कुनै दलसँग आबद्ध छैन ।’
तर, यथार्थ भने फरक देखिएको छ । घिसिङले यस्तो दाबी गरेपनि अध्यक्ष अनुपकुमार उपाध्याय रहेको उज्यालो नेपाल पार्टीमा उनको सक्रियता कसैबाट लुकेको थिएन । उनले सरकारी काम लिएर विभिन्न जिल्लामा जाँदा पनि आफ्नो दलका भेला, बैठकमा सहभागितामा नियमित सक्रियता देखाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता हुँदा पनि घिसिङ प्रत्यक्ष सहभागी थिए । पुस १४ गते रास्वपा र उज्यालो नेपालबीच भएको ७ बुँदे सहमतिको चौथो बुँदामा घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति हुने उल्लेख छ । जुन सहमति हुँदा घिसिङ पनि त्यहीँ थिए ।