नेभिगेशन
राजनीति

अघि बढे कांग्रेसका विशेष पक्षधर

काठमाडौं  कांग्रेसका विशेष महाधिवेशन पक्षधरले महाधिवेशनको तयारी अघि बढाएको छ । काठमाडौंको भृकुटीमण्डपमा पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका उनीहरूले मंगलबार विभिन्न समिति गठन गरेका छन् ।

दोस्रो विशेष महाधिवेशन सचिवालयका तर्फबाट भन्दै मनोजमणी आचार्यले शान्ति सुरक्षाको व्यवस्थापनका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई पत्र बुझाएका छन् । यसअघि नै उनीहरूले महाधिवेशनका लागि भृकुटीमण्डपमा हल बुक गरिसकेका छन् ।

त्यस्तै, महाधिवेशनका लागि उपसमितिहरू गठन भएको छ । दोस्रो विशेष महाधिवेशन बृहत् जनपरिचालन समिति संयोजकको जिम्मेवारी जगदीशनरसिंह केसीले पाएका छन् भने आवास तथा भोजन समिति संयोजकको जिम्मेवारी रमेश धमलालाई दिइएको छ । केसी नुवाकोट र धमला धादिङ जिल्लाका पूर्वसभापति हुन् ।

यसैगरी भ्रातृ संगठन, शुभेच्छुक, युवा परिचालन प्रतिमा गौतम, स्वयंसेवक परिचालन मनिष कोइराला र यातायात व्यवस्थापन समितिको जिम्मेवारी माधव ढकाललाई दिइएको छ । गौतम कांग्रेस केन्द्रीय सचिव हुन् भने ढकाल काभ्रे कांग्रेसका जिल्ला सचिव हुन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएकाले विशेष महाधिवेशनतर्फ अघि बढ्को संयुक्त वक्तव्य जारी गरेका थिए । महामन्त्री थापाले विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं आउन अपील नै गरेका छन् ।

कांग्रेस विधानको धारा १७(२) अनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । सो दिनदेखि ९० दिनको समयसीमा पुस २८–२९ मा सकिने भएपछि महामन्त्रीद्वय थापा र शर्मा समूहले पुस मसान्तभित्रै महाधिवेशन गर्नुपर्ने अडान राखिरहेका छन् ।

तर, संस्थापन पक्ष र शेखर कोइराला समूह विशेष महाधिवेशनका तयार देखिएको छैन । कार्यसम्पादन समितिको बहुमतले नियमित महाधिवेशन पारित गर्दै विशेष महाधिवेशन स्थगित भएको पत्र सोमबार तल्लो तहमा पठाएको छ ।

विशेष महाधिवेशन पक्षधर आफ्नो तयारीमा नरोकिएपछि पार्टीमा दुई धार प्रष्ट हुने देखिएको छ । सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनका लागि कुनै पनि सर्तमा तयार छैनन् । उनको मनसाय बुझेका उनी पक्षधरहरूले महामन्त्रीद्वयलाईै गल्ती देखाउन कुनै कसर बाँकी राखेका छैनन् । प्रतिनिधि सभाको घोषित निर्वाचनमा पार्टीले नयाँ नेतृत्व र एजेन्डा लिएर जानुपर्ने मत राखेका महामन्त्री गगन थापाले यथास्थितिवादी संस्थापनसँगको द्वन्द्वमा सुधारवादी धारको नेतृत्व गर्नुपर्ने देखिएको छ । 

‘विशेष पक्षधरको मागमै नियमित प्रक्रिया’

त्यस्तै, संस्थापन पक्षका नेता एनपी साउदले विशेष महाधिवेशन कसले बोलाएको हो भन्ने थाहा नभएको रुखो प्रतिक्रिया दिएका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकअघि सानेपामा सञ्चारकर्मीहरूसँगको प्रश्नमा उनले भने, ‘मैले केन्द्रीय समितिको, केन्द्रीय कार्यसम्पादन समितिको निर्णयको कुरा तपाईंहरूलाई भनिसकेँ । अब कसले बोलाएको हो, बोलाउने मान्छे को हो त्यो यकिन छैन । वक्तव्य देखेको छैन । परिपत्रहरू मैले चाहिँ त्यस्तो अफिसियल देखेको छैन ।’

महामन्त्रीहरू पनि जिम्मेवार रहेको भन्दै उनले आफ्नो जिम्मेवारी अनुकूल केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई कार्यान्वयन गर्ने कार्यभार पूरा गर्ने विश्वास व्यक्त गरे । कार्यसम्पादन समितिले वैशाख अन्तिम साता नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याएको छ । 

साउदले विशेष महाधिवेशन पक्षधरको मागअनुसार नै नियमित महाधिवेशनको प्रक्रिया अघि बढेको बताएका छन् । उनले विशेष महाधिवेशन या नियमित महाधिवेशन भनेर देशभरिका महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर तर्क गरे । उनले नियमित ‘या’ भनिसकेपछि अहिले नियमितको प्रक्रिया अघि बढेको भन्दै विशेष महाधिवेशन बाध्यात्मक नहुने तर्क गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
१९ पदका लागि ४४ उम्मेदवार

१९ पदका लागि ४४ उम्मेदवार

अमेरिकाले लगायो भिसामा धरौटी

अमेरिकाले लगायो भिसामा धरौटी

कुलमानले छाडे सरकार

कुलमानले छाडे सरकार