नेभिगेशन
मनोरञ्जन

कल्किनको ‘प्राविधिक अवकाश’

हलिउड अभिनेता म्याक्ली कल्किनले अभिनयबाट ‘प्राविधिकरूपमा अवकाश’ भएको घोषणा गरेका छन् । सिनेमा क्षेत्रमा बाल्यकालदेखि नै प्रसिद्धि कमाएका उनले परिवार र व्यक्तिगत रुचिका काममा समय दिनका लागि अभिनयबाट टाढिने संकेत गरेका हुन् ।

न्यूयोर्कमा जन्मेका उनले सानै उमेरबाट रंगमञ्च र टेलिभिजनमा काम गर्दै आए । उनी सन् १९९० को दशकमा ‘होम अलोन’ फिल्ममार्फत दर्शकको मन जित्न सफल अभिनेता हुन् । उनी अहिले ४५ वर्षका भए । ‘होम अलोन’ले उनलाई निकै चर्चित बनाएको थियो । उक्त फिल्ममा ८ वर्षीय केभिन म्याकलिस्टरको भूमिका निर्वाह गर्दा उनको वास्तविक उमेर १० वर्ष थियो ।

केभिनलाई उनको परिवारले क्रिसमसको बिदामा झुक्किएर घरमै एक्लै छाडेर गएका हुन्छन् । दुई जना चोर आउँछन्, जसबाट आफ्नो घर जोगाउन बालकले लगाएका जुक्ति र ठट्टाले फिल्मलाई कालजयी बनायो । ‘होम अलोन’ले त्यतिबेला बक्स अफिसमा झन्डै ४७ करोड डलरभन्दा बढीको कमाइ गरेको थियो, जुन त्यस समयमा कुनै पनि कमेडी फिल्मका लागि कीर्तिमानी थियो ।

उक्त फिल्मको सफलतापछि कल्किनले त्यसको सिक्वेल ‘होम अलोन २ः लस्ट इन न्यूयोर्क’ मा पनि काम गरे, जसलाई दर्शकले उत्तिकै रुचाए । उनले ‘माई गर्ल,’ ‘द गुड सन’ र ‘रिची रिच’ जस्ता फिल्महरूमा पनि मुख्य भूमिका निभाए ।

अत्यधिक चर्चा र सफलताका कारण कल्किनलाई हलिउड इतिहासकै सबैभन्दा सफल बाल कलाकारका रूपमा हेरिन्छ । यद्यपि, सानै उमेरमा प्राप्त भएको यो ठूलो सफलताले उनको व्यक्तिगत जीवनमा केही चुनौतीहरू पनि थप्यो । उनले किशोरावस्थामा पुग्दा अभिनयबाट केही समय विश्राम लिएका थिए ।

हालैका वर्षहरूमा कल्किन निकै कम फिल्म वा सिरिजहरूमा देखिएका छन् । उनले एक अन्तर्वार्ताका क्रममा आफू अहिले ३० वर्षको जस्तो नभई ४५ वर्षको भइसकेको र अब आफूलाई अभिनयको दौडमा सामेल हुने खासै इच्छा नभएको बताएका छन् । उनले भनेका छन्, ‘म अहिले प्राविधिकरूपमा अवकाशमा छु। म त्यही काम मात्र गर्छु जसमा मलाई साँच्चै रुचि लाग्छ ।’

उनले आफू अहिले आर्थिकरूपमा सम्पन्न रहेको र बाँकी जीवन शान्तसँग बिताउन चाहेको उल्लेख गरेका छन् । पछिल्लो समय उनले ‘बनी इयर्स’ नामक आफ्नो पडकाष्ट र वेबसाइटमा ध्यान केन्द्रित गर्दै आएका छन् ।

मैकाले कल्किनको जीवन उतारचढावले भरिएको छ । पारिवारिक कलह र कानूनी लडाइका कारण पनि उनी विगतमा चर्चामा रहे । तर, अहिले उनी आफ्नी साथी ब्रेन्डा र दुई छोराहरूसँग सुखी जीवन बिताइरहेका छन् । ४५ वर्षको उमेरमा अवकाशको घोषणा गरे पनि उनका फ् यानले पुनरागमनको बाटो खुलै रहेको प्रतिक्रिया दिइरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन